काठमाडौँ। रसुवाको भोटेकोसीमा गएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका होटल तथा रेस्टुरेन्ट व्यवसाय ध्वस्त बनाएपछि व्यवसायीलाई पूर्ववत् अवस्थामा फर्काउन होटल व्यवसायी महासंघका अध्यक्ष टीआर भण्डारी ‘शंकर’ तातेका छन्। उद्धार र प्रारम्भिक राहतको काम सकिए पनि साना तथा मझौला पर्यटन व्यवसायीको दीर्घकालीन पुनःस्थापनाका लागि अध्यक्ष शंकरले सशक्त व्यावसायिक पहलकदमी लिएका हुन्।
भदौ १० को बाढीबाट प्रभावित क्षेत्रका होटल, साना रेस्टुरेन्ट तथा खाजाघरको क्षतिको विस्तृत विवरण र नामावली तयार पारी अध्यक्ष शंकरले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र पर्यटन समितिका पदाधिकारीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।
उद्योग वाणिज्य महासंघको पर्यटन समितिद्वारा आयोजित विशेष बैठकमा अध्यक्ष भण्डारीले बाढी प्रभावित क्षेत्रमा हाल उद्धारको कार्य सम्पन्न भई राज्यका तर्फबाट खाद्यान्न र तत्काल राहत पुगेको भए तापनि, क्षतविक्षत बनेका साना तथा मझौला पर्यटन व्यवसायीलाई पूर्ववत् अवस्थामा फर्काउन दीर्घकालीन पुनःस्थापनाको खाँचो रहेको औंल्याए।
उनले बैठकमा बाढीका कारण विस्थापित बनेका व्यवसायीलाई पुनः स्थापित गर्न विशेष आर्थिक पुनरुत्थान प्याकेज र अनुदानको व्यवस्था गरिनुपर्ने, प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनःसंरचना, ब्याज मिनाहा वा छुटका लागि सरकारसँग पहल गरिनुपर्ने, बिमा गराएका व्यवसायीको दाबी रकम तत्काल भुक्तानी दिलाइनुपर्ने र बिमाको पहुँचबाहिर रहेका ग्रामीण भेगका साना होटल तथा खाजाघर व्यवसायीलाई क्षति मूल्यांकनका आधारमा विशेष आर्थिक सहयोग प्रदान गरिनुपर्ने लगायतका मागहरु उठाएका थिए ।
अध्यक्ष शंकरले उठाएको यो विषय र प्रस्तुत गरेको क्षति प्रतिवेदनप्रति उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ तथा पर्यटन समितिले पूर्ण समर्थन जनाएका छन्। बाढी प्रभावित पर्यटन व्यवसायीको पुनःस्थापना, बिमा दाबी भुक्तानी र वित्तीय सहुलियतका लागि नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग महासंघका तर्फबाट संयुक्त रूपमा सशक्त पहल गर्ने प्रतिबद्धता अध्यक्ष श्रेष्ठले व्यक्त गरे।