काठमाडौँ। विराटनगर म.न.पा. वडा नं. १२ बखरीमा अवस्थित निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) निष्काशन गर्ने भएको छ।
कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धी निर्देशिकाहरूमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरी आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ। सो सम्बन्धी सम्झौता पत्रमा निप्पोन फर्मास्युटिकलको तर्फबाट प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।
सन् २००६ मा विधिवत् दर्ता भई २०१७ मा उद्योग स्थापना भएको निप्पोन फर्मास्युटिकल WHO-GMP र अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुरूप औषधि उत्पादन गर्ने प्रमाणित फर्मास्युटिकल कम्पनी हो। कम्पनीले सन् २०२२ देखि व्यावसायिक उत्पादन तथा बजारीकरण सुरु गरेको हो।
स्थापनाको ४ वर्षभित्रै कम्पनीले विभिन्न थेराप्युटिक सेग्मेन्टका ६० भन्दा बढी उत्पादनहरू (ट्याब्लेट, क्याप्सुल, तरल औषधि, मलम, क्रिम, जेल, ORS, ड्राइ सिरप, पेनिसिलिन आदि) सफलतापूर्वक बजारमा ल्याइसकेको छ।
“Wellbeing for All” (सबैका लागि सु-स्वास्थ्य) भन्ने मूल नाराका साथ सञ्चालित यस कम्पनीले स्वदेशी औषधि उत्पादनमा आत्मनिर्भर बन्न र राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीमा योगदान पुर्याउन निरन्तर काम गरिरहेको जनाएको छ।