• २०८३ असोज १२
  • 2026 September 28, Monday

चार दिनको वर्षापछि आएको बाढीले कुन-कुन आयोजनामा कति क्षति ?

नेपाल विद्युत प्राधिकरणले बाढी पहिरोका कारण प्रभावित जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचना पुनःस्थापनाको काम तीव्र रूपमा अगाडि बढाउँदै विद्युत आपूर्तिलाई व्यवस्थित एवम् सन्तुलित बनाउने कार्यमा अगाडि बढेको जनाएको छ । प्राधिकरणका अनुसार बाढीका कारण केही आयोजना उत्पादन गर्न सक्ने अवस्थामा रहे पनि प्रसारण संरचनामा क्षति पुगेका कारण विद्युत् प्रणालीमा जोडिन सकेका छैनन् ।

चार दिनको वर्षापछि आएको बाढीले कुश्मा–दाना २२० केभी प्रसारण लाइनमा क्षति पुग्दा ७ वटा जलविद्युत् आयोजनाको कुल १९०.४ मेगावाट विद्युत् प्रसारण प्रभावित भएको छ । प्रभावित आयोजनामा निलगिरि–१ (३८ मेगावाट), निलगिरि–२ (२१ मेगावाट), मिस्त्री (४२ मेगावाट), थापाखोला (१३.६ मेगावाट), घारखोला (१४.८ मेगावाट), रेलेखोला (६ मेगावाट) र घलेम्दी (५ मेगावाट) रहेका छन् । प्रसारण संरचनाको क्षति मर्मत गरी यी आयोजनाको विद्युत् पुनःप्रवाह गर्न केही समय लाग्ने अनुमान गरिएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको दाना–कुश्मा २२० केभी प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध रहेकाले प्रभावित संरचनाको विस्तृत निरीक्षण गर्न कठिनाइ भएको र थप विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, राहुघाट जलविद्युत् केन्द्रबाहेक थप १२७.८ मेगावाट क्षमताका आयोजनामा प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ । आवश्यक मर्मत तथा वैकल्पिक व्यवस्थामार्फत ती आयोजनाको विद्युत् केही दिनभित्र सञ्चालनमा ल्याउन सकिने प्राधिकरणले जनाएको छ ।

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ भने टर्बाइन फ्लोरमा पानी पसेको छ । पानी सफा गरी आयोजना पुनः सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान छ । आयोजनाको स्वीचयार्ड भने सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको छ ।

प्राधिकरणका अनुसार बाढीका कारण अवरुद्ध सेती–मादी करिडोरका २६२ मेगावाट र मस्र्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएका छन् । त्यस्तै, बाढीका कारण बन्द रहेको १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् केन्द्र समेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

बाढी पहिरोका कारण म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन, मनाङ, मुस्ताङ, रुकुम पूर्व, प्युठान र रोल्पामा विद्युत् सेवा प्रभावित भएको थियो । म्याग्दी, बागलुङ, तनहुँको झापुटार र रुकुम पूर्वमा सेवा पुनः सञ्चालन भइसकेको छ। मुस्ताङ, प्युठान र रोल्पामा आज साँझसम्म तथा मनाङमा भोलिसम्म विद्युत् सेवा सुचारु गर्ने गरी प्राधिकरणले प्राविधिक टोली परिचालित गरिसकेको छ ।

यसअघि गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट माथिल्लो त्रिशूली–३बीको २२० केभी हबमा पुगेको क्षति तथा विभिन्न जलविद्युत् आयोजनामा भएको क्षतिका कारण करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिर रहेको छ । उक्त क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण र प्राधिकरणका सहायक कम्पनीतर्फ प्रारम्भिक रूपमा करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

प्राधिकरणले आगामी सुख्खायाममा विद्युत् माग र आपूर्ति सन्तुलनका लागि आन्तरिक उत्पादनसँगै भारतबाट विद्युत् आयात गर्ने योजना बनाएको छ । सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान छ ।

माग व्यवस्थापनका लागि ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसी माध्यमबाट १५० मेगावाट गरी कुल करिब १ हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना छ । यसअनुसार सुख्खायाममा कुल विद्युत् उपलब्धता करिब २ हजार ३७२ मेगावाट पुग्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षको सुख्खायाममा राष्ट्रिय विद्युत् मागको उच्चतम स्तर २ हजार २९२ मेगावाट रहेको थियो।