काठमाडौं । लिट्मस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउँदै काठमाडौंमा पहिलोपटक ‘लिट्मस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ । कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) र परामर्श क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
‘साथ, सम्बन्ध र विश्वास’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रका पछिल्ला विकासक्रम, चुनौती तथा उदीयमान अवसरबारे छलफल गरिएको थियो । कार्यक्रममा सहकार्य, प्रविधिको विकास, उत्पादनको गुणस्तर तथा भरपर्दो र दिगो ऊर्जा पूर्वाधार निर्माणका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो ।
कार्यक्रममा स्थापित तथा नयाँ जलविद्युत् कम्पनी, सौर्य ऊर्जा विकासकर्ता, ईपीसी कम्पनी, परामर्शदाता तथा उद्योगसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो साथै इप्पान लगायतका संस्थाका प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।
नेपालको नवीकरणीय ऊर्जा क्षेत्रका बदलिँदो आवश्यकता तथा प्रसारण र वितरण पूर्वाधारलाई थप सुदृढ बनाउन गुणस्तरीय उत्पादन र प्रविधिको भूमिकाबारे कार्यक्रममा छलफल गरिएको थियो । सहभागीहरूले आयोजना विकास, प्राविधिक कार्यान्वयन, नवीनता तथा ऊर्जा क्षेत्रको सम्पूर्ण मूल्य शृंखलामा अझ बलियो सहकार्यको आवश्यकताबारे आफ्ना धारणा आदानप्रदान गरेका थिए ।
उक्त कार्यक्रममा लिट्मस इन्डस्ट्रिजले आफ्ना विद्यमान उत्पादन तथा समाधानहरूको विस्तृत श्रृंखला प्रस्तुत गर्नुका साथै नेपाली बजारमा दुई नयाँ कन्डक्टर प्रविधि पनि सार्वजनिक गरेको छ । कम्पनीले एचटीएलएस, कन्डक्टर र एल-५९ कन्डक्टर नेपाली बजारमा प्रस्तुत गरेको हो । यी उत्कृष्ट कन्डक्टर प्रविधिको सुरुवातले लिट्मस इन्डस्ट्रिजको उत्पादन पोर्टफोलियोलाई थप विस्तार गर्नुका साथै नेपालको प्रसारण तथा वितरण क्षेत्रमा विकसित हुँदै गएका आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले नेपालको ऊर्जा क्षेत्रका विभिन्न पक्षबीच बलियो साझेदारी निर्माणको महत्वमा जोड दिएका थिए । नेपालको ऊर्जा क्षेत्र निरन्तर विकसित भइरहेका बेला भरपर्दो, प्रभावकारी र दिगो विद्युत् पूर्वाधार निर्माणका लागि उत्पादक, आयोजना विकासकर्ता, ईपीसी कम्पनी, परामर्शदाता तथा अन्य उद्योग सरोकारवालाबीचको सहकार्य आवश्यक रहेको उनले बताए ।
रमेश कर्प अन्तर्गत सन् १९७७ मा स्थापना भएको लिट्मस इन्डस्ट्रिज नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको छ । कम्पनीका उत्पादनहरू विद्युत् प्रसारण, वितरण तथा विभिन्न पूर्वाधारसम्बन्धी क्षेत्रमा प्रयोग हुँदै आएका छन् ।