• २०८३ असोज १३
  • 2026 September 29, Tuesday

अनुसन्धान क्षमता विकासमा दुई महत्त्वपूर्ण कार्यशाला एमआईटीमा सम्पन्न

काठमाडौं । अनुसन्धान संस्कृति र अनुसन्धानकर्ताको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) मा Causal Inference र Research in Capital Markets विषयमा दुईवटा महत्त्वपूर्ण पाँचदिने कार्यशाला सम्पन्न भएका छन्। दुवै कार्यशाला सक्ष्यम रिसर्च इन्स्टिच्युटसँगको सहकार्यमा आयोजनामा सम्पन्न भएको छ।

अमेरिकास्थित बोस्टन युनिभर्सिटीको मेट्रोपोलिटन कलेजका Finance Programs Director Prof. Dr. Irena Vodenska को नेतृत्वमा सञ्चालन भएको Causal Inference कार्यशाला १४ देखि १८ सेप्टेम्बर २०२६ बिहान ७:०० देखि ९:३० बजेसम्म MIT को कमलादी, काठमाडौंस्थित परिसरमा सम्पन्न भएको हो। गम्भीर अनुसन्धानमा संलग्न हुन चाहने तथा आधारभूत मात्रात्मक अनुसन्धानसम्बन्धी ज्ञान भएका अनुसन्धानकर्तालाई लक्षित गरिएको यस कार्यशालामा अनुसन्धानबाट कारण–परिणाम (causal Inference) सम्बन्धबारे विश्वसनीय निष्कर्ष निकाल्न आवश्यक विधिहरूमा व्यावहारिक प्रशिक्षण दिइएको थियो।

कार्यशालामा Bias, Matching, Difference-in-Differences, Instrumental Variables, Regression Discontinuity, Randomized Experiments तथा Natural Experiments लगायतका विषयमा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास गराइएको थियो। उक्त कार्यशाला Fulbright को सहयोग तथा साक्ष्यम रिसर्च इन्स्टिच्युट र मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीको सहकार्यमा आयोजनामा भएको हो।

त्यसैगरी, Research in Capital Markets शीर्षकको दोस्रो पाँचदिने कार्यशाला २१ देखि २५ सेप्टेम्बर २०२६ बिहान ७:०० देखि ९:३० बजेसम्म MIT को परिसरमा सञ्चालन भएको हो। सक्ष्यम रिसर्च इन्स्टिच्युटले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीसँगको सहकार्यमा तथा United States Education Foundation को सहयोगमा आयोजना गरेको यस कार्यशालाले पुँजी बजारसम्बन्धी अनुसन्धानका व्यावहारिक पक्षमा केन्द्रित रही सहभागीलाई आधुनिक अनुसन्धान उपकरण र विधिसँग परिचित गराएको थियो।

कार्यशालामा Modern Portfolio Theory, Value at Risk (VaR) and Stress Testing, Tail Risk, Financial Networks and Systemic Risk तथा News Analytics and Event-Driven Investing जस्ता समसामयिक विषयमा व्यावहारिक र अनुसन्धानमुखी छलफल तथा अभ्यास गरिएको थियो।
दुवै कार्यशालामा अनुसन्धानकर्ता, शिक्षकवर्ग, विद्यार्थी तथा प्राज्ञहरूका साथै बैंकिङ तथा वित्त क्षेत्रका अधिकारीहरूलाई लक्षित गरी सहभागीहरूको उल्लेखनीय उत्साह र सक्रिय सहभागिता देखिएको आयोजकले जनाएको छ।

करिब ८० जना सहभागीको सहभागिता रहेको दुवै कार्यक्रमले नेपालमा अनुसन्धानमा रुचि राख्ने विद्यार्थी, अनुसन्धानकर्ता तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूबीच ज्ञान, सीप र अनुसन्धान अभ्यास आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीका सहसंस्थापक आर. के. दाहालले नेपालमा अनुसन्धानमा आधारित शैक्षिक वातावरण र सुदृढ अनुसन्धान प्रणाली निर्माण गर्ने दिशामा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

साथै, उनले अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धान संस्था तथा शैक्षिक साझेदारहरूसँगको सहकार्यमार्फत नेपालमा उच्चस्तरीय अनुसन्धान क्षमता विकास गर्ने अवसर प्राप्त भएकोमा प्रशिक्षक Prof. Dr. Irena Vodenska, United States Education Foundation (USEF), Fulbright, सक्ष्यम रिसर्च इन्स्टिच्युट, तथा सहभागीहरूमा आभार व्यक्त गरे।

यस्ता अनुसन्धानमुखी कार्यक्रमले नेपालको उच्च शिक्षा क्षेत्रमा प्रमाणमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्नुका साथै विश्वस्तरीय अनुसन्धान विधि र अभ्यासलाई नेपाली अनुसन्धानकर्तामाझ पुर्‍याउन थप आधार तयार गर्ने संस्थाको विश्वास छ। दुई हप्तासम्म सञ्चालन भएको कार्यशाला शुक्रबार, २५ सेप्टेम्बर २०२६ मा ललितपुरको पुल्चोकस्थित द प्लाजामा सहभागीहरूका लागि प्यानल छलफल तथा प्रमाणपत्र वितरण कार्यक्रमसहित सम्पन्न भएको हो।