• २०८३ असोज १५
  • 2026 October 01, Thursday
नेपाली कांग्रेसको १५औँ महाधिवेशन

नुवाकोट २ बाट सीए दिवाकर पाण्डे महाधिवेशन प्रतिनिधिमा उम्मेदवार, पेसागत विज्ञतालाई नीति निर्माणमा जोड्ने प्रतिबद्धता

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढिरहेका बेला नुवाकोट क्षेत्र नं. २ बाट पेसागत/विषय विज्ञ क्लस्टरतर्फ सीए दिवाकर पाण्डेले केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका छन्।

प्र्याक्टिसिङ चार्टर्ड एकाउन्टेन्ट तथा सार्वजनिक वित्त व्यवस्थापन विज्ञका रूपमा पहिचान बनाएका पाण्डेले पार्टी सुदृढीकरण र समयसापेक्ष रूपान्तरणका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

भारतको ‘इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया’बाट चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था’को सदस्यका रूपमा व्यावसायिक अभ्यास गर्दै आएका पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नेसम्मको शैक्षिक योग्यता हासिल गरेका छन्।

आफ्नो लामो पेसागत अनुभव, आर्थिक ज्ञान र सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी विज्ञतालाई राष्ट्रिय राजनीति, नीति निर्माण, सुशासन, पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा सदुपयोग गर्ने मुख्य उद्देश्यसहित उम्मेदवारी दिएको उनले स्पष्ट पारेका छन्। उम्मेदवारी घोषणा गर्दै सीए पाण्डेले भनेका छन्, “पार्टी सुदृढीकरण र रुपान्तरणको यस महान अभियानमा नवनिर्वाचित सम्पूर्ण इकाई, नगर, पालिका सभापतिज्यूहरू तथा क्षेत्रीय प्रतिनिधिज्यूहरूको मतको न्यायोचित प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

पार्टीभित्र बौद्धिक र पेसागत वर्गको सहभागिता बढाउँदै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले लोकतान्त्रिक प्रक्रियामार्फत सम्पूर्ण प्रतिनिधिहरूसँग अमूल्य सहयोग, समर्थन र भोटको अपिल गरेका छन्।