• २०८३ असोज १७
  • 2026 October 03, Saturday

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा

काठमाडौं । नेपालको बैंकिङ्ग क्षेत्रमा अग्रणी एन आई सी एशिया बैंकले डिजिटल भुक्तानी प्रणालीमा अर्को ठूलो छलाङ्ग मारेको छ । बैंकले नेपालमै पहिलो पटक आफ्नो CyberSource Payment Gateway मार्फत Apple Pay र Google Pay बाट भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याएको छ ।

​बैंकद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, अब एन आई सी एशिया बैंकका इ-कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरूले विश्वभरका Apple Pay र Google Pay प्रयोगकर्ताहरूबाट भुक्तानी सहज र सुरक्षित रूपमा प्राप्त गर्न सक्नेछन् । यो सुविधा अन्तर्गत, Apple Pay र Google Pay मा आबद्ध भएका Visa तथा Mastercard प्रयोगकर्ताहरूले सहजै डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

​बैंकको यस नवीनतम पहलको मुख्य उद्देश्य नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउनु हो । यो सुविधा विशेष गरी होटल, टुर एण्ड ट्राभल्स, हस्तकला, एयरलाइन्स, ई-कमर्स, र आईटी क्षेत्र जस्ता मर्चेन्ट ग्राहकहरूका लागि लाभदायी हुने अपेक्षा गरिएको छ ।

​यो सुविधाले नेपाली व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय ग्राहकहरूसँग सहज भुक्तानी अनुभव प्रदान गर्न सहयोग पुर्‍याउनेछ । पर्यटन र पर्यटन क्षेत्र लगायत अन्तर्राष्ट्रिय भुक्तानी प्राप्त गर्ने व्यवसायहरूलाई अन्तरदेशीय व्यापार विस्तार गर्न र विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने बैंकको विश्वास छ ।

​यस सुविधाको सुरुवात्सँगै भौतिक रूपमा कार्ड प्रयोग गर्ने झन्झट हटेको छ । ग्राहकहरूले आफ्नो कार्डको विवरणहरूलाई Apple वा Google Android मोबाइलमा ‘Tokenize’ गरेर सरल र सुरक्षित तरिकाले भुक्तानी गर्न सक्नेछन् ।

​एन आई सी एशिया बैंकले विगत २९ वर्षदेखि “सबैका लागि, सधैंका लागि” भन्ने नाराका साथ उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । यो नवीनतम सेवाले भुक्तानी प्रणालीलाई थप सहज र सरल बनाउने मात्र नभई, नेपालको अर्थतन्त्र र अन्तरदेशीय भुक्तानीमा नयाँ आयाम थप्ने बैंकले जनाएको छ ।