काठमाडौँ। बेलायत सरकारले बेलायतस्थित बकिङ्घमसायर न्यु युनिभर्सिटीको विद्यार्थी प्रायोजन लाइसेन्स निलम्बन गरेको छ। बेलायतको गृह मन्त्रालयले यही असोज १४ गतेदेखि लागू हुने गरी विश्वविद्यालयको विद्यार्थी प्रायोजन लाइसेन्स तत्काल निलम्बन गरेको हो।
निलम्बनसँगै विश्वविद्यालयलाई विद्यार्थीका लागि इजाजतप्राप्त प्रायोजकहरूको सूचीबाट हटाइएको छ।
मन्त्रालयले विश्वविद्यालयलाई आफ्नो लाइसेन्स पुनः कायम हुनुपर्ने कारणसहित जवाफ दिन २० कार्यदिनको समय दिइएको छ। तोकिएको अवधिमा विश्वविद्यालयले आफ्नो लाइसेन्स पुनःस्थापना गर्नुपर्ने पर्याप्त आधार प्रस्तुत गर्न नसकेमा लाइसेन्स पूर्ण रूपमा खारेज हुने मन्त्रालयले जनाएको छ।
लाइसेन्स निलम्बन भए पनि हाल विश्वविद्यालयबाट प्रायोजित भएर अध्ययन गरिरहेका विद्यार्थीले आफ्नो अध्ययन जारी राख्न सक्नेछन्।
तर त्यसका लागि उनीहरूको बेलायतमा बस्न पाउने अनुमति वैध हुनुपर्नेछ।
गृह मन्त्रालयका अनुसार लाइसेन्स निलम्बनको निर्णयले बेलायतका घरेलु विद्यार्थीलाई भने असर गर्दैन। त्यस्तै, विश्वविद्यालयको प्रायोजनमा निर्भर नपर्ने अन्य प्रकारको अध्यागमन अनुमति भएका विद्यार्थी पनि यस निर्णयबाट प्रभावित हुने छैनन्।
नेपाली एजेन्ट
नेपालका कुनै पनि कलेजले यस विश्वविद्यालयबाट सम्बन्धन लिएका छैनन् । यद्यपि, सम्बन्धन नभएपनि विश्वविद्यालयको नेपालमा एजेन्टहरु भने रहेका छन् ।
विश्वविद्यालयको विवरण अनुसार यस विश्वविद्यालयको इन्टरनेश्नल प्रमुखमा क्रिस ग्यारेट छन् भने दक्षिण एसियाका लागि रिजलन एडभाइजरमा गीता मेहता रहेकी छिन्। बकिङ्घमसायर न्यु युनिभर्सिटी दुवै जना बेलाबेलामा नेपाल आउने गरेका छन् ।

मेहताले सार्वजनिक गरेको विवरण अनुसार विश्वविद्यालयको एजेन्ट पार्टनरका रुपमा काठमाडौँ कलेज अफ म्यानेजमेन्ट र अर्बाना स्कुल अफ साइन्स रहेका छन्।

यस्तै, यस विश्वविद्यालयमा नेपालबाट वान्स एडुकेसन कन्सलटेन्सी, अस्सि इन्टरनेश्नल कन्सलटेन्सी, युनी ल्याडर कन्सलटेन्सी, आईएई ग्लोबल नेपाल, इभानी एडुकेसनल कन्सलटेन्सी, वन स्टेप ग्लोबल लगायतका कन्सलटेन्सीहरुले मुख्य रुपमा विद्यार्थी पठाइरहेको देखिन्छ।