काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा ३५ वर्षमुनिको युवा कोटाबाट सौगात थापाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
कास्की क्षेत्र नं. २ बाट ३५ वर्षमुनिको युवा समूहअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित थापाले पार्टीको केन्द्रीय नेतृत्वमा युवाको उपस्थिति अनिवार्य रहेको भन्दै उम्मेदवारी दिने निर्णय लिएका हुन्।
नेतृत्व तहमा नयाँ पुस्ताको आगमनले कांग्रेसलाई आधुनिक र गतिशील दलमा रूपान्तरण गर्न मद्दत पुग्ने थापाको विश्वास छ। थापाले भने, “यसपटक केन्द्रीय नेतृत्वमा युवाको प्रवेश हुनु हामी सबैका लागि खुसीको कुरा हो, महाधिवेशनले युवाको मर्म र भावनालाई आत्मसात् गर्दै विचार, संगठन र कार्यक्रममा स्पष्ट नीति बनाउनुपर्छ। पार्टीमा प्रवेशसँगै बहिर्गमनको स्पष्ट व्यवस्था पनि हुनुपर्छ, जसले संगठनलाई सधैं जीवन्त राख्छ।”
जेन–जी (Gen-Z) आन्दोलनपछि पार्टीले अंगीकार गरेको नीतिगत सुधारका कारण पार्टीका विभिन्न तहका अधिवेशनहरूमा युवाको प्रभाव बढेको उनको भनाइ छ । उनले थपे, “महाधिवेशनले युवा समूह र लामो राजनीतिक विरासत बोकेको अनुभवी पुस्ताबीच सन्तुलन मिलाएर अघि बढ्ने योजना ल्याउनुपर्छ । जेन–जी आन्दोलनले युवामा राजनीतिप्रति प्रत्यक्ष चासो जगाएको छ, त्यसैले यसलाई पार्टीभित्र वैचारिक रूपमा जोड्न आवश्यक छ।”
यस्तै, राजनीतिबाहिर रहेका विभिन्न पेसा र व्यवसायमा दक्ष व्यक्तिहरूलाई समेत राजनीतिमा भित्र्याउन नेतृत्वले पहल गर्नुपर्नेमा उनले जोड दिए। वडादेखि केन्द्रीय तहसम्म युवा प्रतिनिधित्वको सुनिश्चितताले सकारात्मक सन्देश दिएको उल्लेख गर्दै थापाले यो व्यवस्था आगामी स्थानीय र प्रदेशसभा निर्वाचनका उम्मेदवार चयनमा पनि लागू हुनुपर्ने बताए।
को हुन् थापा?
पोखरा महानगरपालिकाका पूर्व नेविसंघ सभापति रहेका थापा यसअघि १४ औं महाधिवेशनमा पनि क्षेत्रीय प्रतिनिधि निर्वाचित भइसकेका छन्। दुई पटक क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधि भइसकेका उनीसँग विद्यार्थी राजनीति र सांगठनिक कामको लामो अनुभव छ।
राजनीतिबाहेक थापा सफल युवा उद्यमी र पर्यटन व्यवसायी पनि हुन्। इन्फोम्याक्स कलेजबाट एमबिए (MBA) सम्मको अध्ययन पूरा गरेका उनी अंशुभरा ग्रुपका निर्देशक हुन्।
उद्योग–व्यवसाय क्षेत्रमा पनि सक्रिय थापा केही साताअघि मात्र पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा निर्वाचित भएका थिए। यसअघि उनी दुई कार्यकाल सोही संघको कार्यसमिति सदस्य रहिसकेका छन्।