उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–४ मा नगर अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ। काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले संयुक्त रूपमा अस्पताल भवनको शिलान्यास गरेका हुन्।
भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना पहलअन्तर्गत करिब १३ करोड ३ लाख रुपैयाँ आर्थिक सहयोगमा अस्पताल भवन निर्माण भइरहेको भारतीय राजदूतावासले जनाएको छ। परियोजना त्रियुगा नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।
राजदूतावासका अनुसार यो उदयपुर जिल्लामा सञ्चालन भइरहेको १२औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो। अस्पताल निर्माणपछि त्रियुगा नगरपालिकाका स्थानीय बासिन्दाले स्वास्थ्य सेवामा सहज पहुँच पाउने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै नयाँ संरचनाले नगरपालिकाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
भारतीय राजदूतावासले नेपाल र भारतबीचको व्यापक तथा बहुक्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउन परियोजनाले योगदान गर्ने जनाएको छ।
प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकाससँगै विकास र समृद्धिलाई प्रवर्द्धन गर्ने नेपाल सरकारको प्रयासलाई सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।