उदयपुर । भारत सरकारको आर्थिक सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका–५ मा निर्माण गरिएको श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाइ आयोजनाको उद्घाटन गरिएको छ।
काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले संयुक्त रूपमा आयोजनाको उद्घाटन गरेका हुन्।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा निर्माण गरिएको उक्त आयोजना त्रियुगा नगरपालिकामार्फत कार्यान्वयन गरिएको भारतीय राजदूतावासले जनाएको छ।
उद्घाटन कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै आयोजनाले स्थानीय बासिन्दाको खानेपानी तथा सरसफाइ सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
भारतीय राजदूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत नेपालका विभिन्न क्षेत्रमा भारत सरकारको सहयोगमा पूर्वाधार विकासका काम भइरहेका छन्। उदयपुरमा मात्रै यस्ता १२ वटा परियोजना सञ्चालनमा रहेको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, भारत सरकारले उदयपुर जिल्लामा १३ वटा एम्बुलेन्स र ३ वटा वडा स्कुल बससहित कोशी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई १५० वटा एम्बुलेन्स र ५८ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको जनाएको छ।
नेपाल र भारतबीचको बहुआयामिक सहकार्यलाई थप मजबुत बनाउँदै प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास तथा विकास र समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता भारत सरकारले जनाएको छ।