• २०८३ असोज २०
  • 2026 October 06, Tuesday

अमेरिकाको मध्यावधि निर्वाचन के हो र ट्रम्पका लागि किन महत्त्वपूर्ण छ?

अमेरिकामा मध्यावधि निर्वाचन हुन अब चार हप्ता बाँकी छ। यो निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालमा ठूलो प्रभाव पार्न सक्नेछ।

मध्यावधि निर्वाचन भनेको के हो?

नोभेम्बर ३ मा अमेरिकी नागरिकले संसद् अर्थात् कंग्रेसका सदस्य चुन्नेछन्। अमेरिकी कंग्रेस दुई सदनबाट बनेको छ- प्रतिनिधिसभा र सिनेट।

अमेरिकामा हरेक दुई वर्षमा निर्वाचन हुन्छ। राष्ट्रपतिको चार वर्षे कार्यकालको बीचमा हुने निर्वाचनलाई ‘मध्यावधि निर्वाचन’ भनिन्छ।

कंग्रेसको मुख्य काम संघीय कानुन बनाउनु र पारित गर्नु हो। संघीय कानुन अमेरिकाभर लागू हुन्छ।

मध्यावधि निर्वाचनको परिणामले कंग्रेसमा कुन दलको नियन्त्रण हुन्छ भन्ने निर्धारण गर्नेछ। सत्तारूढ रिपब्लिकन पार्टी वा विपक्षी डेमोक्रेटिक पार्टीमध्ये कुन दलले कंग्रेस नियन्त्रण गर्छ भन्ने कुराले राष्ट्रपतिलाई आफ्ना योजना अघि बढाउन कति सहज हुन्छ भन्ने तय हुनेछ।

यो निर्वाचनलाई अमेरिकाका जनताले राष्ट्रपतिको अहिलेसम्मको कामप्रति कत्तिको सन्तुष्टि जनाएका छन् भन्ने मापनका रूपमा पनि हेरिन्छ।

केको हुँदैछ निर्वाचन?

प्रतिनिधिसभाका सबै ४३५ सदस्यका लागि निर्वाचन हुनेछ। प्रतिनिधिसभाका सदस्यको कार्यकाल दुई वर्षको हुन्छ। नयाँ कानुनका प्रस्ताव प्रतिनिधिसभामा पेश हुने र त्यसमाथि छलफल हुने गर्छ।

त्यस्तै, माथिल्लो सदन सिनेटका १०० मध्ये ३५ सिटका लागि पनि निर्वाचन हुनेछ। सिनेटरको कार्यकाल ६ वर्षको हुन्छ। प्रतिनिधिसभाबाट आएका कानुनका प्रस्तावलाई स्वीकृत गर्ने वा रोक्ने काममा पनि सिनेटको महत्त्वपूर्ण भूमिका हुन्छ।

त्यही दिन अमेरिकाका धेरै राज्यमा राज्य तहका राजनीतिक पदका लागि पनि निर्वाचन हुनेछ। क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया र मिचिगनमा हुने गभर्नरको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ।

के छन् मुख्य मुद्दा ?

धेरै मतदाताको ध्यान अमेरिकी अर्थतन्त्रमा छ। इन्धन, खाद्यान्न, घर र स्वास्थ्य उपचारको बढ्दो खर्चले धेरै अमेरिकीलाई समस्यामा पारेको छ।

महँगी अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले तोकेको लक्ष्यभन्दा माथि छ। यसको एउटा कारण अमेरिकाले इजरायलसँग मिलेर फेब्रुअरीमा इरानसँग सुरु गरेको युद्धलाई पनि मानिएको छ।

डेमोक्रेटहरूले ट्रम्पको व्यापार शूल्कसम्बन्धी नीतिले पनि अमेरिकी उपभोक्ताका लागि सामान महँगो बनाएको आरोप लगाएका छन्।

आप्रवासन अर्को महत्त्वपूर्ण मुद्दा हो। रिपब्लिकनहरूका भनाइमा ट्रम्पले सन् २०२४ को चुनावी अभियानमा गरेको महत्त्वपूर्ण प्रतिबद्धता पूरा गरेका छन्। उनले सीमा सुरक्षा कडा बनाउनुका साथै अवैध आप्रवासनविरुद्ध व्यापक अभियान चलाएका छन्। यो अभियान निकै विवादित पनि बनेको छ।

पछिल्ला केही हप्तामा कृत्रिम बौद्धिकता (एआई) लाई लिएर चिन्ता पनि बढेको छ। दुवै दलका वरिष्ठ नेताहरुले एआईलाई नियमन गर्नुपर्ने आवश्यकतामा सहमत छन्। तर ट्रम्प भने एआई प्रविधिको विकास नियन्त्रण गर्ने कानुन बनाउने विचारको विरोधमा छन्।

कुन कुरा दाउमा छ?

कंग्रेस अमेरिकी सरकारका तीन प्रमुख अंगमध्ये एक हो। बाँकी दुई अंग राष्ट्रपति कार्यालय र न्यायपालिका हुन्। कानुन निर्माणमा कंग्रेसको नियन्त्रण महत्त्वपूर्ण हुन्छ।

अहिले प्रतिनिधिसभा र सिनेट दुवैमा रिपब्लिकन पार्टीको नियन्त्रण छ। तर दुवै सदनमा उसको झिनो बहुमत छ।

प्रतिनिधिसभामा रिपब्लिकनसँग २१८ सिट छन्। यो सदन नियन्त्रण गर्न आवश्यक न्यूनतम संख्या हो। उनीहरूलाई समर्थन गर्ने एक स्वतन्त्र सदस्य पनि छन्। सिनेटमा रिपब्लिकनसँग ५३ सिट छन् भने नियन्त्रण कायम गर्न कम्तीमा ५१ सिट आवश्यक पर्छ।

यदि विपक्षी डेमोक्रेटहरूले कम्तीमा एउटा सदनको नियन्त्रण फिर्ता लिए भने उनीहरूले आफ्ना कानुनका प्रस्ताव सदनमा छलफलका लागि अघि बढाउन सक्नेछन्।

कसले जित्ला?

विगतमा अमेरिकी मतदाताले राष्ट्रपतिको दललाई मध्यावधि निर्वाचनमा दण्ड दिने र विपक्षमा मतदान गर्ने प्रवृत्ति देखाउँदै आएका छन्।

पछिल्ला सर्वेक्षणमा ट्रम्पको लोकप्रियता पनि कम देखिएको छ। सर्वेक्षणसम्बन्धी वेबसाइट सिल्भर बुलेटिनका अनुसार ट्रम्पले दोस्रो कार्यकाल सुरु गर्दा उनको समर्थन ५० प्रतिशतभन्दा केही बढी थियो। तर अक्टोबरको सुरुवातमा यो घटेर करिब ३७ प्रतिशतमा पुगेको थियो। त्यतिबेला ६१ प्रतिशतले ट्रम्पको कामप्रति असन्तुष्टि जनाएका थिए।

तर प्रतिनिधिसभा र सिनेटका सबै सिटमा कडा प्रतिस्पर्धा छैन। केही सिट रिपब्लिकन वा डेमोक्रेटका लागि तुलनात्मक रूपमा सुरक्षित मानिन्छन्।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजले आयोवा र न्यु ह्याम्पसायरजस्ता राज्यमा हुने सिनेटका नौ वटा प्रतिस्पर्धालाई विशेष निगरानी गर्नुपर्ने निर्वाचनका रूपमा पहिचान गरेको छ। त्यस्तै, एरिजोना र ओहायोजस्ता राज्यमा प्रतिनिधिसभाका ४२ वटा निर्वाचन क्षेत्र पनि प्रतिस्पर्धात्मक देखिएका छन्।

यस वर्षको निर्वाचनको परिणाम विगतको तुलनामा अझै अनिश्चित हुन सक्छ। यसको एउटा कारण भनेको प्रतिनिधिसभाका निर्वाचन क्षेत्रको सीमा निर्धारणलाई लिएर दुई दलबीचको विवाद हो।

रिपब्लिकनहरूले केही राज्यमा आफूलाई फाइदा हुने गरी निर्वाचन क्षेत्रको नक्सा तयार गर्ने प्रयास गरेका छन्। त्यसको जवाफमा डेमोक्रेटहरूले पनि त्यस्तै प्रयास गरेका छन्।

ट्रम्पका लागि यस निर्वाचनको महत्त्व

यदि डेमोक्रेटहरूले प्रतिनिधिसभा वा सिनेटमध्ये कुनै एउटा सदनमा नियन्त्रण लिए भने ट्रम्पलाई कंग्रेसबाट कानुन पारित गराउन कठिन हुनेछ।

यसले उनका घरेलु नीति र योजनामा अवरोध आउन सक्छ। यद्यपि ट्रम्पले आफ्नै दलको व्यापक समर्थनबिना पनि शक्ति प्रयोग गर्ने केही उपाय अपनाउँदै आएका छन्।

कंग्रेसको कुनै एउटा सदन डेमोक्रेटको नियन्त्रणमा आएमा उनीहरूले विभिन्न समितिमार्फत ट्रम्पको राष्ट्रपतिको कार्यकालका विषयमा अनुसन्धान गर्न सक्नेछन्। भ्रष्टाचारका आरोप, ह्वाइट हाउसमा निर्माण भइरहेको नयाँ बलरुम र आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईस)) का गतिविधि अनुसन्धानको दायरामा पर्न सक्छन्।

डेमोक्रेटिक पार्टीभित्र ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयमा पनि बहस भइरहेको छ। महाभियोग भनेको राष्ट्रपतिविरुद्ध कंग्रेसमा औपचारिक आरोप लगाउने प्रक्रिया हो। यसको आधारमा राजनीतिक प्रकृतिको सुनुवाइ भएपनि यो फौजदारी मुद्दा भने होइन।

यदि रिपब्लिकन पार्टीले कंग्रेसमाथिको नियन्त्रण कायम राख्यो भने ट्रम्पका लागि आफ्नो कार्यकालको बाँकी अवधिमा आफ्ना योजनालाई निरन्तरता दिन सहज हुनेछ।

सन् २०२८ को निर्वाचनका लागि यसको महत्त्व

मध्यावधि निर्वाचनको मतपत्रमा राष्ट्रपतिको नाम हुँदैन। तर ट्रम्पले रिपब्लिकन मतदातालाई मध्यावधि निर्वाचनलाई आफूलाई समर्थन वा आफ्ना कामको अनुमोदनका रूपमा लिन आग्रह गरेका छन्।

निर्वाचनको परिणाम जसको पक्षमा आए पनि राजनीतिक विश्लेषकहरूले यसलाई ट्रम्पको नेतृत्वमा देश कुन दिशामा गइरहेको छ भन्ने विषयमा अमेरिकी मतदाताको धारणा बुझ्ने आधारका रूपमा प्रयोग गर्नेछन्।

ट्रम्प तेस्रोपटक राष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन्। त्यसैले मध्यावधि निर्वाचनपछि सन् २०२८ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार को बन्न सक्छ भन्ने चर्चा बढ्ने अपेक्षा गरिएको छ। त्यस्तै, डेमोक्रेटिक पार्टीबाट त्यस उम्मेदवारविरुद्ध को प्रतिस्पर्धामा आउँछ भन्ने विषयमा पनि बहस सुरु हुनेछ।

(बीबीसीबाट)