• २०८३ असोज २१
  • 2026 October 07, Wednesday

पूर्वप्रधानन्यायाधीश जबराको घरमा छापा, निकटस्थ व्यक्तिहरू पनि अनुसन्धानको दायरामा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाराजगञ्जस्थित निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रहरीसहित छापा मारेको छ।

बुधबार दिउँसो विभागको टोली डीएसपीको नेतृत्वमा प्रहरीसहित जबराको निवास पुगेको हो। अनुसन्धानका क्रममा केही महत्त्वपूर्ण कागजात बरामद गरिएको स्रोतले जनाएको छ।

विभागले जबरासँग निकट सम्बन्ध भएका नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहाल तथा उनका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि छापा मारेको बताइएको छ।

जबरासँग जोडिएको अनुसन्धानमा इनाम सापकोटाको नाम पनि आएको छ। सापकोटालाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो। उनको मोबाइल विवरणका आधारमा प्रहरी र सम्पत्ति शुद्धीकरण विभागले जबरासँग सम्बन्धित विषयमा अनुसन्धान अघि बढाएको स्रोतको भनाइ छ।

यसअघि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई जेलबाट छुटाउन चलखेल गरेको आरोपमा प्रहरीले जबरालाई असोज ११ गते उनको निवासबाट नियन्त्रणमा लिएको थियो। करिब १२ घण्टा नियन्त्रणमा राखेर उनलाई छाडिएको थियो।

यसै प्रकरणमा सशस्त्र प्रहरीका एआईजी वंशीराज़ दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ।