• २०८३ असोज २५
  • 2026 October 11, Sunday

मोदीको २५ वर्ष : ‘गुजरात मोडल’देखि ‘वैश्विक भारत’सम्मको यात्रा

बुधबार नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरे । सन् २००१ अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्री भएर सुरु भएको उनको यात्रा करिब तेह्र वर्षपछि दिल्ली पुग्यो । अहिले उनले प्रधानमन्त्रीका रूपमा बाह्र वर्ष पार गरिसकेका छन् । गुजरातमा तीनपटक र भारतमा लगातार तीनपटक चुनाव जितेर २५ वर्षसम्म निरन्तर सरकार प्रमुख रहनु लोकतान्त्रिक संसारमै दुर्लभ र ऐतिहासिक उपलब्धि हो । नेपालका प्रधानमन्त्री बालेन शाहसहित धेरै देशका नेताले उनलाई बधाई पठाएका छन् ।

भारतको राजनीति अत्यन्तै प्रतिस्पर्धी र विविधताले भरिएको छ । यहाँ कुनै पनि नेताका लागि २५ वर्षसम्म जनसमर्थन कायम राख्नु फलामको चिउरा चपाउनुजत्तिकै कठिन काम हो । यो कठिन काममा मोदी कसरी सफल भए त ?

मोदी ब्रान्ड बनेको ‘गुजरात मोडल’

सन् २००१ मा मोदी गुजरातको मुख्यमन्त्री बन्दा गुजरातमा महाभूकम्पको घाउ ताजै थियो । प्रशासनिक संयन्त्र भताभुङ्ग अवस्थामा थियो र मोदीसँग सरकार चलाएको अनुभव पनि थिएन । परिस्थितिलाई आफ्नो पक्षमा ढाल्ने क्षमता भएका उनले त्यही विषम अवस्थालाई आफ्नो राजनीतिक र प्रशासनिक यात्राको जग बनाए ।

राष्ट्रिय राजनीतिमा मोदीको उदय हुनुअघि नै ‘गुजरात मोडल’ शब्द भारतीय राजनीति र अर्थतन्त्रमा चर्चित भइसकेको थियो । सन् २००१ मा सत्ता सम्हालेपछि उनले तयार पारेको शासकीय र आर्थिक ढाँचालाई नै पछि ‘गुजरात विकास मोडल’ भनियो । ‘गुजरात मोडल’का तीन स्तम्भ थिए ।

पूर्वाधार र उद्योगमैत्री वातावरण : मोदीले कर्मचारीतन्त्रका झन्झटिला प्रक्रिया छोट्याएर लगानीकर्ताका लागि ढोका खोले । ‘भाइब्रेन्ट गुजरात’ जस्ता विश्वस्तरीय औद्योगिक सम्मेलनमार्फत स्वदेशी तथा विदेशी पुँजी भित्र्याए ।

ऊर्जा क्षेत्रमा सुधार : ‘ज्योतिग्राम योजना’ अन्तर्गत कृषि र औद्योगिक प्रयोजनका लागि छुट्टाछुट्टै बिजुली लाइन विस्तार गरियो । यसले गाउँगाउँमा २४ सै घण्टा निरन्तर बिजुली पुर्‍यायो र साना उद्योग तथा कृषि दुवैलाई नयाँ जीवन दियो ।

प्रशासनिक पारदर्शिता र द्रुत गुनासो सुनुवाइ : उनले सुरु गरेको ‘स्वागत’ प्रणालीमार्फत नागरिकले आफ्ना समस्या सोझै मुख्यमन्त्रीसम्म पुर्‍याउन पाउँथे । प्रविधिमार्फत शासन चलाउने यो शैलीलाई संयुक्त राष्ट्रसङ्घले समेत पुरस्कृत गरेको थियो ।

गुजरात मोडलको यही मोदी शैली भारतका मतदाताले मन पराए । त्यसैले सन् २०१४ देखि उनी भारतको नेतृत्व गरिरहेका छन् ।

मोदीको २५ वर्षे सत्ता यात्राका चार खम्बा

१. नागरिक केन्द्रित शासन र ‘डेलिभरी’

मोदीको राजनीति भाषण र आश्वासनभन्दा बढी काम गरेर देखाउने नतिजा केन्द्रित छ । भारतको प्रधानमन्त्री भईसकेपछि मोदीले सबैभन्दा पहिला जनधन योजनामार्फत करोडौँ गरिब नागरिकलाई बैंकिङ प्रणालीमा जोडे । ‘उज्ज्वला योजना’ मार्फत घरघरमा ग्यास पुुर्‍याए । शौचालय निर्माण र स्वच्छ खानेपानीको विस्तार गरे । ‘प्रधानमन्त्री आवास योजना’बाट करोडौँ नागरिकले पक्की घर पाए । यी कार्यक्रम मार्फत मोदीले राज्यको पहुँच आम नागरिकसम्म पुर्‍याए ।

प्रविधिको प्रयोग गरेर बिचौलिया हटाउँदै सोझै बैंक खातामा पैसा पुग्ने ‘डाइरेक्ट बेनिफिट ट्रान्सफर’ले सरकारप्रति जनविश्वास ह्वात्तै बढायो । यी सुविधाले मोदीलाई ’भाषण गर्ने नेता’ होइन, ‘डेलिभर गर्ने नेता’का रूपमा स्थापित गरेका छन् ।

२. राष्ट्रिय स्वाभिमान, सशक्त विदेश नीति र सुरक्षा

मोदी चुनावी भाषणबाट होइन, पार्टी संगठनबाट उठेका नेता हुन् । नब्बेको दशकमा रथयात्रा र विभिन्न अभियानमा खटिएका, सन् १९९५ को गुजरात विजयमा भूमिका खेलेका मोदीलाई पार्टी संरचना कसरी चल्छ र यसलाई कसरी प्रभावकारी बनाउने भन्ने राम्ररी थाहा छ ।

मोदीले भारतीय जनताको सांस्कृतिक चेतना र राष्ट्रिय गौरवलाई प्रवद्र्धन गरे । काशी विश्वनाथ धामको पुनरुत्थान, अयोध्यामा राम मन्दिरको निर्माण र योग तथा आयुर्वेदलाई विश्वमञ्चमा पुर्‍याउने कामले बहुसङ्ख्यक भारतीयमा आफ्नो संस्कृतिप्रति गर्वबोध जगायो ।

विदेश नीतिमा उनले ‘वसुधैव कुटुम्बकम्’ को नारा समाहित गरे । ‘छिमेकी पहिलो’ भन्दै भारतलाई छरछिमेकका हरेक संकटमा दृढतापूर्वक उभ्याए । अमेरिकासँग सम्बन्ध गहिरो बनाउँदै रूससँगको परम्परागत सम्बन्ध पनि कायमै राखे ।

इजरायलसँग रणनीतिक सम्बन्ध बढाउँदै अरब मुलुकसँग पनि बलियो सम्बन्ध राखे । क्वाडमा सक्रिय हुँदै ब्रिक्समा पनि भूमिका निर्वाह गरे । भारतले यो शैलीलाई ‘रणनीतिक स्वायत्तता’ भन्ने गर्छ । जी–२० को सफल आयोजना, ग्लोबल साउथको नेतृत्व गर्ने प्रयास र अफ्रिकी सङ्घलाई जी–२० मा समावेश गर्ने पहलले भारतलाई विश्व राजनीतिमा थप प्रभावशाली शक्तिका रूपमा स्थापित गरिरहेको देखिन्छ ।

राष्ट्रिय सुरक्षामा उनले ‘शून्य सहनशीलता’ को नीति अपनाए । सर्जिकल स्ट्राइक, बालाकोट एयर स्ट्राइक र अपरेशन सिन्दूरमार्फत आफ्नो सुरक्षाका लागि भारत सीमापारि पनि जान सक्छ भन्ने सन्देश दिए । यी कदम र धारा ३७० हटाउने निर्णयलाई उनको ‘स्ट्रङ लिडरशिप’ का उदाहरणका रूपमा लिइन्छ ।

३. संगठनको शक्ति र जनतासँग प्रत्यक्ष संवाद

मोदी चुनावी भाषणबाट होइन, पार्टी संगठनबाट उठेका नेता हुन् । नब्बेको दशकमा रथयात्रा र विभिन्न अभियानमा खटिएका, सन् १९९५ को गुजरात विजयमा भूमिका खेलेका मोदीलाई पार्टी संरचना कसरी चल्छ र यसलाई कसरी प्रभावकारी बनाउने भन्ने राम्ररी थाहा छ ।

भारतीय जनता पार्टीको विशाल र अनुशासित साङ्गठनिक संयन्त्रलाई मोदीको व्यक्तिगत लोकप्रियताले थप ऊर्जा दियो । ‘मन की बात’ जस्ता कार्यक्रमले नागरिकसँग सिधा जोडिने शैली बनायो । विभिन्न उमेर समुहका मान्छेहरुसँग संवाद गर्ने र घुलमिल हुने मोदीको शैलीले उनलाई हरेक उमेर समुहमा लोकप्रिय बनाएको छ । आफ्ना व्यक्तिगत सङ्घर्षका कथा र ‘देश पहिलो, नागरिक पहिलो’ भन्ने नाराले उनलाई आम जनताको अभिभावक जस्तै बनाइदियो ।

चुनावपछिका सर्वेक्षणले यसको प्रभाव देखाएका छन् । मोदीकै कारण भाजपालाई मत दिने मतदाताको अनुपात सन् २०१४ मा करिब २० प्रतिशत, २०१९ मा २५ प्रतिशत र २०२४ मा २७ प्रतिशत देखिएको छ । यो आँकडाले भाजपाभन्दा मोदी ठूलो ब्रान्ड भएको देखाउँछ ।

४. समावेशी विकास र प्रविधिको शसक्त प्रयोग

मोदीले विकासलाई ठूला भवन र पुलमा मात्र सीमित राखेनन्, महिलाको सम्मान र गरिबको आत्मसम्मानसँग पनि जोडे । ‘लखपति दीदी’ कार्यक्रमले ग्रामीण महिलालाई आत्मनिर्भर बनाउने काम गर्‍यो । संसदमा महिला आरक्षण विधेयक पारित भयो । सीमान्तकृत आदिवासी समुदायका लागि विशेष योजना ल्याइए । यसरी उनले समाजका हरेक तप्कालाई राज्यसँग जोड्ने प्रयास गरे ।

प्रविधिको क्षेत्रमा भारत विश्वकै अग्रपङ्क्तिमा उभियो । यूपीआईमार्फत डिजिटल क्रान्ति भयो र चन्द्रयान–३ को सफलताले भारतीय युवामाझ उनीप्रति ठूलो आकर्षण पैदा गर्‍यो ।

विकसित भारत २०४७

विकासलाई जनजीवनसँग जोड्ने, प्रविधिलाई शासनको माध्यम बनाउने र राष्ट्रिय स्वाभिमानलाई अघि बढाउने उनको कलाले नै उनलाई २५ वर्षसम्म लोकप्रिय र शक्तिशाली नेताका रूपमा टिकाइराखेको छ ।

‘वी विल डु इट’ भन्दै मोदीले सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य अघि सारेका छन् । ओलम्पिक आयोजना, अन्तरिक्षमा भारतीय पठाउने र आत्मनिर्भर अर्थतन्त्र निर्माणको योजना पनि उनको एजेन्डामा छन् ।

सत्ता नेतृत्वको २५ वर्ष पुगेको अवसरमा गरेको भर्चुअल सम्बोधनमा उनले आफू अहिले पनि ‘सिकारु विद्यार्थी हुँ’ भने । असफलताले उठ्न सिकायो, विरोधले लोकतन्त्र बुझायो र सङ्कटले धैर्य सिकायो भन्ने सन्दर्भ दिँदै आफू ‘मिसनका लागि बाँच्ने’ मानिस भएको बताए । आफ्नो मूल्याङ्कन देश कहाँ पुग्यो भन्ने आधारमा गरिनुपर्ने धारणा पनि राखे ।

आलोचकहरूले उनका कतिपय नीति र शैलीमाथि प्रश्न उठाउँदै आएका छन् । यद्यपी विकासलाई जनजीवनसँग जोड्ने, प्रविधिलाई शासनको माध्यम बनाउने र राष्ट्रिय स्वाभिमानलाई अघि बढाउने उनको कलाले नै उनलाई २५ वर्षसम्म लोकप्रिय र शक्तिशाली नेताका रूपमा टिकाइराखेको छ । जनताको विश्वासलाई नै सबैभन्दा ठूलो शक्ति मान्ने मोदीको यो २५ वर्षे यात्रा आधुनिक भारतको इतिहासमा नयाँ च्याप्टर हो ।