• २०८३ असोज ३०
  • 2026 October 16, Friday

के हात्तीहरू पनि मानिस झैँ शोकमा डुब्छन्?

सन् २०२६ को ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’ प्रतियोगिताका विजेताले हात्तीको दुर्लभ रूपमा देखिने व्यवहारलाई आफ्नो तस्बिरमा कैद गरेका छन्, जसले उनीहरूको भावनात्मक जीवन कति जटिल छ भन्ने देखाउँछ।

सन् २०२५ को सेप्टेम्बरमा नामिबियाको मरुभूमिमा सुक्खा नदीको किनारैकिनार बिस्तारै हिँडिरहेको हात्तीको बथानलाई पछ्याउने क्रममा फोटोग्राफर फेडेरिको भेरोनेसीले मनै दुखाउने दृश्य देखे।

उनले एउटा पोथी हात्तीलाई मृत जन्मिएको बच्चा बोकेको अवस्थामा भेटे। बच्चाका साना खुट्टा उसको सुँडमा बेरिएका थिए र नचल्ने शरीर हावामा झुन्डिरहेको थियो।

“यो निकै निजी क्षण थियो, लगभग आध्यात्मिक जस्तै,” भेरोनेसी सम्झन्छन्, “बच्चाको शरीर पूरै थियो र मुलायम पनि। शरीर कडा भइसकेको थिएन। त्यसैले त्यो राति जन्मिएको वा सायद केही घण्टाअघि मात्रै जन्मिएको स्पष्ट थियो।”

पहिलो नजरमा यो हृदयविदारक दृश्यले बच्चा गुमाएकी आमाको दुःख देखाएको जस्तो लाग्थ्यो। तर पछि भेरोनेसीले थाहा पाए कि उनले देखिरहेको यो दुर्लभ व्यवहारमा एउटा अप्रत्याशित पक्ष पनि थियो, जसले सुरुमा देखिएभन्दा अझ जटिल संवेदनशीलता उजागर गर्‍यो।

भेरोनेसीले धेरै घण्टासम्म हात्तीको बथानलाई पछ्याए र केही अत्यन्तै प्रभावशाली तस्बिर खिचे। तीमध्ये एउटा तस्बिरले लन्डनस्थित प्राकृतिक इतिहास सङ्ग्रहालयद्वारा आयोजना गरिएको सन् २०२६ को ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’ प्रतियोगिताको सर्वोच्च पुरस्कार जित्यो।

भेरोनेसीका अनुसार पोथी हात्तीले बच्चालाई धेरै घण्टासम्म बोकेर हिँडी। बीचबीचमा खाना खान वा पानी पिउन बच्चालाई भुइँमा राख्थी, अनि फेरि उठाएर हुअब नदीको किनारैकिनार आफ्नो यात्रा जारी राख्थी।

“मैले सोचेँयो निकै दुःखद दृश्य हो, तर मानिसहरूले यसलाई देख्न आवश्यक छ। यो तस्बिरले यी हात्तीहरूले कति दुःख भोग्छन् र उनीहरूमा कति जटिल भावना हुन्छन् भन्ने स्पष्ट देखाउँछ। मानिसहरूले सायद जनावरमा यस्ता भावना हुन्छन् भनेर सोच्दैनन्, ” उनले भने, “यसले यी जीवहरूको भावनाको गहिराइमा निश्चित रूपमा अर्को तह थप्छ।”

पछि भेरोनेसीले थाहा पाए कि त्यो हात्तीले आफ्नै मृत जन्मिएको बच्चा बोकेको थिएन।

“उनी त्यस बच्चाकी आमा होइनन्,” हात्ती संरक्षणका लागि काम गर्ने गैरनाफामूलक संस्था ‘एलिफेन्ट ह्युमन रिलेसन्स एड’ (ईएचआरए) की संरक्षण कार्यक्रम निर्देशक क्रिस्टिन विन्टर भन्छिन्। यो संस्थाले नामिबियाका मरुभूमिमा बस्ने हात्तीहरूको संरक्षण गर्छ।

अहिले १४ वर्षकी ती पोथी हात्तीले दुई वर्षअघि आफ्नै बच्चा गुमाएकी थिइन्। त्यसयता उनले अन्य हात्तीका मृत जन्मिएका बच्चाहरू बोकेको चारवटा छुट्टाछुट्टै घटना देखिएको विन्टर बताउँछिन्। उनका अनुसार यस क्षेत्रमा यस्तो व्यवहार अभिलेख गरिएको यो पहिलो पटक हो।

यो खुलासाले “यी जीवहरूको भावनाको गहिराइमा निश्चित रूपमा अर्को तह थप्छ,” भेरोनेसी भन्छन्, “आफ्नो बच्चा गुमाएपछि पनि यी पोथी हात्तीले यस्तो व्यवहार गरिरहेकी छन् भन्ने कुराले यो दृश्यलाई अझ हृदयविदारक बनाउँछ। यस्तो लाग्छ, उनी आफ्नै बच्चासँग फेरि सम्बन्ध जोड्ने प्रयास गरिरहेकी छन् र धेरै वर्ष बितिसक्दा पनि त्यो क्षतिलाई स्वीकार गर्न सकेकी छैनन्।”

हात्तीका भावना

हात्तीले बच्चालाई यति लामो समयसम्म किन बोकी रहिन् भन्नेबारे केही अनुमान छन्। विन्टरका अनुसार यो व्यवहार कुनै प्रकारको भावनात्मक प्रक्रिया हुन सक्छ।

“सायद यो मृत्युको घटनालाई मनले स्वीकार गर्ने प्रयास थियो र उनी अझै बच्चालाई छोड्न तयार थिइनन्। सायद आफ्नै बच्चा गुमाउँदा उनी मानसिक रूपमा आघातमा परेकी थिइन् र त्यसैले कुनै हात्तीको बच्चा मर्नेबित्तिकै उनी फेरि यही व्यवहार गर्न थाल्छिन्।”

विन्टरका अनुसार उनले बच्चाको शरीरलाई शिकारी जनावरहरूबाट जोगाउन खोजेकी पनि हुन सक्छिन्।

भेरोनेसीका तस्बिरहरूले नामिबियाका १५० वटा कठिन परिस्थितिमा बाँचिरहेका मरुभूमिका हात्तीहरूको जीवनको झलक दिन्छन्। यी हात्तीहरू नामिब मरुभूमिका पाँचवटा नदीको किनारमा बस्छन् र खाना तथा पानीको खोजीमा लामो दूरीसम्म यात्रा गर्छन्। उनीहरू आना रूख (फाइडरबिया अल्बिडा) का बीउ भएका फलहरू वा बाढीले डुबानमा पर्ने समथर भूभागमा उम्रिएको घाँस खान्छन्।

यी कुनै छुट्टै प्रजातिका हात्ती होइनन्, बरु एउटै प्रजातिभित्रको विशेष वातावरणमा अनुकूलित समूह हुन्। यिनीहरूले आनुवंशिक परिवर्तनभन्दा पनि सिकेका व्यवहारमार्फत सुक्खा वातावरणमा आफूलाई अनुकूल बनाएका छन्। नामिबियाको स्केलेटन कोस्ट क्षेत्रमा बस्ने मरुभूमिका सिंहहरूमा पनि यस्तै विशेषता पाइन्छ।

“उनीहरूलाई साँच्चै विशेष बनाउने कुरा उनीहरूको ज्ञान हो। यही ज्ञानले उनीहरूलाई निकै जोखिममा पनि पार्छ, किनभने एक पटक त्यो ज्ञान हरायो भने त्यसलाई सजिलै फेरि प्राप्त गर्न सकिँदैन,” विन्टर भन्छिन्।

घट्दो सङ्ख्या

विन्टरका अनुसार पछिल्ला २० वर्षमा यी हात्तीहरूको सङ्ख्या निरन्तर घट्दै गएको छ। यसको एउटा कारण वातावरणीय दबाब हो, विशेष गरी लामो समयसम्म पर्ने खडेरी। तर विन्टरका अनुसार यसको मुख्य कारण मानिससँग बढ्दै गएको द्वन्द्व हो।

“यो द्वन्द्व मुख्यतः पानीका कारण हुन्छ।” हात्तीहरू खेतबारीमा पस्छन् र पानीका ट्याङ्की पल्टाइदिन्छन्, पाइप उखेल्छन् र पानी तान्ने पम्पहरू बिगार्छन्। त्यसैले “हात्तीहरू आफ्नो क्षेत्रमा आएको मानिसहरूले खासै सहन सक्दैनन्,” उनी भन्छिन्, “यस्ता घटनाको असर गहिरो हुन्छ र मानिसहरूले ती कुरा लामो समयसम्म सम्झिरहन्छन्।”

नवजात हात्तीका बच्चाहरूको मृत्यु दर ठूलो चिन्ताको विषय भएको विन्टर बताउँछिन्।

“यो दर अत्यन्तै उच्च छ र निकै डर लाग्दो छ।” सन् २०१४ देखि २०२२ सम्म जन्मिएका कुल १६ बच्चामध्ये केवल दुईवटा मात्रै बाँचेको उनी बताउँछिन्।

मरुभूमिका हात्तीका धेरै बच्चा किन मरिरहेका छन् भन्नेबारे एउटा अनुमान के छ भने उनीहरू समय नपुग्दै जन्मिन्छन्। विन्टर भन्छिन्, “किनभने पोथी हात्तीहरू बच्चालाई पूरा समय गर्भमा राखेर जन्माउन सक्ने गरी स्वस्थ हुँदैनन्।”

उनका अनुसार यसको कारण मानिससँगको द्वन्द्वबाट उत्पन्न हुने दीर्घकालीन तनाव हुन सक्छ। अनुसन्धानले देखाएको छ कि मानिससँगको द्वन्द्वका कारण हात्तीहरूमा पोस्ट(ट्राउमेटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी), अर्थात् आघातपछिको मानसिक तनावसम्बन्धी समस्या देखिन सक्छ।

ईएचआरएको टोलीले मृत जन्मिएका बच्चाहरू भेट्दा तिनीहरू निकै साना हुने गरेको विन्टर बताउँछिन्। उनका अनुसार, सामान्यतया स्वस्थ नवजात हात्तीको बच्चाको तौल १०० देखि १२० किलोग्राम हुन्छ। तर मृत जन्मिएका बच्चाहरूको तौल भने करिब ६० देखि ६५ किलोग्राम मात्रै हुन्छ।

ईएचआरएले इन्डियाना विश्वविद्यालय ब्लुमिङ्टनकी हात्ती विशेषज्ञ तथा सहायक प्राध्यापक डानिएला चुसीडसँग मिलेर वातावरणीय कारण र दीर्घकालीन तनावले नामिबियाका मरुभूमिका हात्तीमा कस्तो असर पारिरहेको छ भन्ने विश्लेषण गरिरहेको छ।

सन् २०२८ सम्म चल्ने यस परियोजनाअन्तर्गत उनीहरूले अहिले हात्तीको दिसाका नमुना सङ्कलन गरिरहेका छन्। ती नमुनामा भारी धातु र लामो समयसम्म वातावरणमा रहिरहने रसायनहरू (जस्तै पीएफएएस) परीक्षण गरिनेछ। साथै, हात्तीहरूको थाइराइड र कोर्टिसोल हर्मोनको अवस्था पनि जाँच गरिनेछ।

“हामी यो समूहमा नजिकका नातेदारबीच प्रजनन हुने दर अन्य समूहको तुलनामा कति छ भन्ने पनि पत्ता लगाउन चाहन्छौँ। साथै, बाँचेका बच्चाहरू र मरेका बच्चाहरूका आमाबुबाको वंशावलीमा कुनै भिन्नता छ कि छैन भन्ने पनि हेर्न चाहन्छौँ,” चुसीड भन्छिन्।

अफ्रिकी सवाना हात्तीकी अग्रणी विशेषज्ञ तथा हात्ती संरक्षणका लागि काम गर्ने गैरनाफामूलक संस्था ‘एलिफेन्ट भ्वाइसेस’ की संस्थापक जोयस पुलले भेरोनेसीका तस्बिरहरूलाई साँच्चै हृदयविदारक भनेकी छन्। उनले केन्यामा एउटी आमा हात्तीले मृत जन्मिएको बच्चाप्रति यस्तै प्रतिक्रिया देखाएको घटना पनि देखेकी छन्।

“उनले बच्चालाई बोकिनन्, बरु उठाउने प्रयास गरिन्। त्यसपछि दुई दिनसम्म त्यहीँ उभिएर बच्चाको रक्षा गरिन्,” पुल भन्छिन्।

यी तस्बिरहरूले मानिसहरूलाई हात्तीहरूले शोक र पीडा अनुभव गर्न सक्छन् भन्ने कुरा बुझाउन मद्दत गर्ने उनको आशा छ।

आफ्नो साथी हात्ती मर्दा हात्तीहरूले शोक अनुभव गरेको देखिन्छ। उनीहरू परिवारका सदस्य र अपरिचित हात्तीका अवशेष भएको ठाउँमा पुग्ने, हड्डीहरू छुने र पहरा दिइरहेझैँ लामो समयसम्म अवशेषको छेउमा उभिने गरेको देखिएको छ।

“जलवायु परिवर्तनले मात्र होइन, नामिबियाली सरकारले अनुमति दिएको ट्रफी सिकारका कारण पनि मरुभूमिका हात्तीहरू लोप हुने अवस्थामा धकेलिँदै छन्,” पुल भन्छिन्, “उनीहरूले भोग्ने मानसिक आघात रोक्न हामीले अझ धेरै काम गर्न आवश्यक छ।”

भेरोनेसीका लागि पोथी हात्ती र मृत जन्मिएको बच्चाबीचको सम्बन्ध लगभग मानिसको जस्तै व्यवहार थियो।

“यही कारणले गर्दा मलाई यो दृश्य देख्न पाउनु अविश्वसनीय क्षण लागेको हो,” उनी भन्छन्, “मेरो सन्देश के हो भने प्रत्येक हात्ती बुझ्न र संरक्षण गर्न योग्य जीव हो। हामीले प्रजातिको मात्र संरक्षण गर्नु हुँदैन, प्रत्येक हात्तीको व्यक्तिगत कल्याणको पनि ख्याल गर्नुपर्छ।”

फोटोग्राफर आशा गर्छन् कि उनका तस्बिरहरूले हात्तीको आत्मा र उनीहरूको भावनाको गहिराइतर्फ हेर्न एउटा सानो झ्याल खोल्नेछन्।

(बीबीसीबाट)