काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मा साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति मागेका ११७ कम्पनीलाई ६ चरणमा वर्गीकरण गरेको छ। सेबोनले पहिलोपटक आईपीओ निष्कासनका लागि प्राप्त आवेदनलाई प्रक्रियागत अवस्थाका आधारमा ६ चरणमा वर्गीकरण गरेको हो।
यसअनुसार ७६ कम्पनी आवेदन दर्ताको चरणमा, ६ कम्पनी प्रारम्भिक समीक्षामा, चार कम्पनीलाई कैफियत पठाइएको, १९ कम्पनीबाट कैफियतको जवाफ प्राप्त भएको, १० कम्पनीको जवाफ समीक्षा भइरहेको र दुई कम्पनी अन्तिम समीक्षामा रहेका छन्।
अन्तिम समीक्षा चरणमा आशुतोष इनर्जी लिमिटेड र कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड पुगेका छन्। आशुतोष इनर्जीले १२ लाख कित्ता र कान्तिपुर फर्मास्युटिकल्स ल्याबले १७ लाख कित्ता गरी कुल २९ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्। यी दुई कम्पनीले क्रमशः १२ करोड र १७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति मागेका हुन्। आशुतोष इनर्जीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल र कान्तिपुर फर्मास्युटिकल्स ल्याबको मुक्तिनाथ क्यापिटल रहेको छ।
अन्तिम समीक्षामा पुग्दैमा आईपीओ निष्कासनको स्वीकृति सुनिश्चित हुने भने होइन। बोर्डले कम्पनीका आवश्यक कागजात, वित्तीय विवरण, विवरणपत्र तथा कानुनी र नियामकीय मापदण्ड पूरा भए–नभएको परीक्षण गरेपछि मात्रै स्वीकृतिसम्बन्धी निर्णय गर्नेछ।
अन्तिम समीक्षाभन्दा अघिल्लो अर्थात् पाँचौँ चरणमा १० कम्पनीका आवेदन छन्। यी कम्पनीले बोर्डले उठाएका प्रश्न तथा कैफियतको जवाफ बुझाइसकेका छन् र अहिले पेस गरिएका कागजात तथा विवरणको समीक्षा भइरहेको छ। यस समूहमा एनसी एग्रोटेक इन्डस्ट्रिज, सानिमा हाइड्रोपावर, आईएमई लिमिटेड, सिउरी न्यादी पावर र हिल्टन हाइड्रोलगायत कम्पनी रहेका छन्। यस चरणका कम्पनीले कुल ५ करोड १९ लाख ४ हजार ७०१ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्।
त्यस्तै, चौथो चरणमा १९ कम्पनीका आवेदन छन्। यी कम्पनीले बोर्डले पठाएको कैफियतको जवाफ बुझाइसकेका छन्। यस समूहमा डिश मिडिया नेटवर्क, जगदम्बा स्टिल्स, शौर्य सिमेन्ट, हस्पिटल फर एड्भान्स्ड मेडिसिन र निलगिरी खोला हाइड्रोपावरलगायत कम्पनी रहेका छन्। उनीहरूले कुल ११ अर्ब ९८ करोड ७८ लाख ५९५ रुपैयाँ बराबरको सेयर निष्कासनका लागि आवेदन दिएका छन्।
तेस्रो चरणमा बोर्डले आवश्यक सुधार गर्न वा थप विवरण उपलब्ध गराउन कैफियत पठाएका चार कम्पनी छन्। यसमा महाशक्ति सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, ज्यास्मिन पेन्ट्स र लक्ष्मी टेक्नोप्लास्ट रहेका छन्। यी कम्पनीले कुल चार अर्ब रुपैयाँ बराबरको चार करोड कित्ता सेयर निष्कासनका लागि प्रक्रिया अघि बढाएका छन्।
दोस्रो चरणमा ६ कम्पनीका आवेदनको प्रारम्भिक समीक्षा भइरहेको छ। यस सूचीमा एपेक्स मकालु हाइड्रोपावर, गौरीशंकर पावर, श्री डिस्टिलरी, आकामा होटल, जीआई सोलार र वर्णवास म्युजियम होटल रहेका छन्। यस समूहका कम्पनीले कुल एक अर्ब ५४ करोड १५ लाख रुपैयाँ बराबरको सेयर निष्कासनका लागि आवेदन दिएका छन्।
सबैभन्दा धेरै कम्पनी भने पहिलो चरण अर्थात् आवेदन दर्ताकै अवस्थामा छन्। यस चरणमा ७६ कम्पनी रहेका छन्। मारुती सिमेन्ट्स, अम्बे स्टिल्स, रिद्धिसिद्धि सिमेन्ट, शिवम् होल्डिङ्स र स्टार माइक्रो इन्स्योरेन्सलगायत कम्पनी यस सूचीमा छन्। यी कम्पनीले कुल २८ करोड ८ लाख २२ हजार ३१३ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्।
यसरी पहिलो र दोस्रो चरणमा मात्रै ८२ कम्पनी रहेका छन्। अर्थात् आईपीओ निष्कासनका लागि आवेदन दिएका कुल कम्पनीमध्ये ठूलो हिस्सा अझै प्रारम्भिक प्रक्रियामै छ। बोर्डबाट कैफियत प्राप्त भएका, जवाफ बुझाएका तथा अन्तिम समीक्षामा पुगेका कम्पनीको हकमा समेत आवश्यक प्रक्रिया पूरा हुन बाँकी रहेको हुन सक्छ।
सेबोनले कम्पनीले पेस गरेका कागजात, वित्तीय विवरण, विवरणपत्र तथा प्रचलित कानुनी र नियामकीय व्यवस्था पूरा भए–नभएको परीक्षण गरेर मात्रै आईपीओ निष्कासनको अनुमति दिने जनाएको छ।
बोर्डले सार्वजनिक गरेको अद्यावधिक विवरण सबै कम्पनीले कुल ७१ अर्ब ४२ करोड २० लाख रुपैयाँभन्दा बढीको ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासनका लागि अनुमति मागेका हुन्।