• २०८३ कात्तिक १५
  • 2026 October 31, Saturday

अमेरिकन डिग्रीको लोभमा एमआईटीले यसरी झुक्याउँछ विधार्थी, डिग्रीको मान्यतामै गम्भीर प्रश्न

काठमाडौँ। मोडल ईन्स्टिच्य्ड अफ टेक्नोलोजी (एमआईटी) को वेबसाइट खोल्दा सुरुमै लेखिएको छ- बेस्ट फरेन अफिलियटेड कलेज ईन काठमाण्डु । अर्थात, काठमाडौँमा रहेका विदेशी सम्बन्धनप्राप्त कलेजहरुमध्ये सर्वोत्कृष्ट ।

शिक्षा मन्त्रालयका अनुसार नेपालमा हाल विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर ५६ वटा कलेज सञ्चालनमा छन् । यी ५६ मध्ये ४१ वटा कलेज काठमाडौँ उपत्यकामा अवस्थित छन् । अर्थात, यी ४१ वटा कलेजमध्ये आफू सबैभन्दा अब्बल रहेको एमआईटी कलेजको दाबी छ ।

विदेशी विश्वविद्यालयको सम्बन्धनप्राप्त कलेजको उत्कृष्टताको पहिलो मापन, सो विश्वविद्यालयको क्वालिटी एसुरेन्स एण्ड एक्रिडिटेशन (क्युएए), डिग्रीको गुणस्तरता र त्यसको सर्वस्वीकार्यता हो । यस्तै, विदेशी विश्वविद्यालयहरुको र्याङकिङ गर्ने अन्तराष्ट्रिय संस्थाहरुको र्याङकिङ समेत सो विश्वविद्यालयको स्तर जनाउँछ । यीबोहक पाठ्यक्रमको एड्भान्समेन्ट, विशेषज्ञ शिक्षक तथा प्राध्यपकहरुको उपलब्धता जस्ता कुराले समेत सो विश्वविद्यालय वा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजको उत्कृष्टता वा स्तर देखाउँछ ।

तर तथ्यहरु केलाउने हो भने यी कुनै पनि कुराहरुमा एमआईटी कलेज वा उसले सम्बन्धन लिएको इन्टरनेशनल अमेरिकन युनिभर्सिटी (आईएयू) अब्बल देखिँदैनन् । अझ, तथ्यहरुले भने एमआईटी कलेजलाई उसले दाबी गरेको जस्तो ‘बेस्ट फरेन अफिलिएटेड कलेज इन काठमाण्डु’ का रुपमा हैन्, बरु ‘वर्स्ट फरन कलेज ईन काठमाण्डू’ का रुपमा पुष्टि गर्छन् ।

यसको पहिलो कारण एमआईटीले सम्बन्धन लिएको विश्वविद्यालय र उसको डिग्रीको स्तर हो ।

आईएयूको वेवसाइटमा भनिए अनुसार यस विश्वविद्यालयको स्थापना सन् २००५ अमेरिकामा भएको हो । यो एक प्राइभेट फर प्रोफिट प्रकृतिको विश्वविद्यालय हो । यसको अर्थ यस विश्वविद्यालयको मुख्य उद्देश्य ‘एकेडेमिक इन्हान्समेन्ट’ नभएर नाफा कमाउनु हो ।

एमआईटीले आफ्ना प्रचार सामग्री, वेबसाइट, विज्ञापन र भर्ना प्रक्रियामा इन्टरनेशनल अमेरिकन युनिभर्सिटी (आईएयू) बाट सम्बन्धप्राप्त कलेजका रूपमा आफूलाई चिनाएको छ । सोही आधारमा विद्यार्थीलाई अमेरिकी गुणस्तर र अमेरिकन डिग्री दिने कलेजको दाबी छ । कलेजको नारा र दाबीहरू सुन्दा यस्तो लाग्छ कि यत्तिको गुणस्तरीय त नेपालमा अरू कुनै कलेज नै छैन । तर, अनुसन्धानबाट प्राप्त तथ्यहरूका अनुसार एमआईटीलाई सम्बन्धन दिने आईएयू अमेरिकामा गुणस्तरीय शिक्षा प्रदान गर्ने निकाय नै होइन ।

अमेरिकामा विश्वविद्यालय र कलेजहरूको गुणस्तर मापन गर्न ६ वटा क्षेत्रीय मान्यता दिने निकायहरू (MSCHE, NECHE, HLC, NWCCU, SACSCOC, WSCUC) छन्। यी निकायहरूले दिएको मान्यता भएका डिग्रीलाई मात्र अमेरिकी तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित शैक्षिक संस्था र रोजगारदाताहरूले उच्च मान्यता दिन्छन्। तर आईएयूलाई यी ६ मध्ये कुनै पनि क्षेत्रीय मान्यता प्राप्त छैन।

IAU ले ट्रान्सनेशनल एसोसिएसन अफ क्रिष्टियन कलेजेज एन्ड स्कुल (TRACS) बाट मात्र मान्यता पाएको छ, जुन faith-based (जसमा कुनै विशेष धर्मका शिक्षाहरू समावेश गरिन्छ) संस्था हो र स्तरमा न्यून मानिन्छ। TRACS अमेरिकी शिक्षा विभाग (USDE) र सीएचईए (CHEA) बाट स्वीकृत छ । यसको मान्यता क्षेत्रीय मान्यता जस्तो व्यापक मानिँदैन ।

TRACS जस्ता निकायको मान्यता प्राय: साना, धार्मिक संस्था र सीमित विषयका लागि हुने गर्दछ। यसरी प्राप्त डिग्रीलाई प्रमुख विश्वविद्यालयहरूमा स्नातकोत्तर पढ्न वा विश्वव्यापी रोजगारका अवसरहरूमा सहज रूपमा मान्यता दिइँदैन। यसले IAU द्वारा प्रदान गरिएको डिग्रीको अमेरिकी मान्यता र अन्तर्राष्ट्रिय स्वीकार्यता माथि ठुलो प्रश्न उठाउँछ।

IAU ले क्यालिफोर्नियाको BPPE (Bureau for Private Postsecondary Education) बाट सञ्चालन अनुमति पाएको छ। BPPE ले कुनै पनि निजी शैक्षिक संस्थालाई कानुनी रूपमा सञ्चालन गर्न सक्ने अनुमति दिन्छ, कलेज खोल्ने प्रक्रिया नियम अनुसार भयो कि भएन भन्ने हेर्छ। तर यो शैक्षिक गुणस्तरको प्रमाण होइन। तर BPPE ले आफ्नो वेबसाइटमा सञ्चालन अनुमति प्राप्त हुनु भनेको संस्थाको शैक्षिक कार्यक्रमलाई उच्च गुणस्तरको प्रमाणित गर्नु होइन भनेर स्पष्ट पारेको छ । अर्थात्, BPPE बाट अनुमति पाएको भन्दै आईएयूले आफूलाई प्रतिष्ठित देखाउन खोजे पनि, यो केवल व्यापार दर्ता गरेर पसल खोल्न पाएको जस्तै हो। यसले पढाइको स्तर उच्च छ भन्ने ग्यारेन्टी दिँदैन।

यस्ता संस्थाहरू उच्च गुणस्तरको शिक्षा दिन भन्दा बढी नाफा कमाउने व्यापारिक उद्देश्यले खोलिएका हुन्छन्। महँगो शुल्क, आकर्षक विज्ञापन र लोभ लाग्दा नारा प्रयोग गरेर विद्यार्थीलाई ताने पनि, पछि डिग्रीको वास्तविक मान्यता नपाएर विद्यार्थीहरू ठगिएका हुन्छन्।

दोस्रो, विश्वद्यिालयलाई अमेरिकाका अग्रणी अनुसन्धान विश्वविद्यालय वा विश्वका स्थापित प्रतिष्ठित विश्वविद्यालयको स्तरमा राख्ने आधार छैन।

यसको TRACS मान्यता हुनु र विश्वस्तरीय विश्वविद्यालय हुनु फरक कुरा हुन्। TRACS मान्यताले संस्थागत गुणस्तरका निश्चित मापदण्ड पूरा गरेको जनाउँछ, तर यसले विश्वविद्यालयलाई विश्वका उत्कृष्ट विश्वविद्यालयको समूहमा पुर्‍याउँदैन।

यसको नाममा ‘इन्टरनेश्नल’ र ‘अमेरिकन’ जस्ता शब्द जोडिएको छ भन्दैमा उच्च अन्तर्राष्ट्रिय प्रतिष्ठा भएको विश्वविद्यालय ठान्नु पनि सही हुँदैन। एमआईटी कलेजले यहीँनिर विद्यार्थीका रुपमा बुझ्न आइपुग्ने अवोध किशोराकिशोरीको दिमाग भुट्ने गरेको छ ।

एमआईटीले ‘अमेरिकन डिग्री इन नेपाल’, ‘बेस्ट फरेन अफिलिएटेड इन काठमाण्डू’, ‘सिमलेस क्रेडिट ट्रान्सफर टु यूएसए’, ‘स्टडी ईन नेपाल, ग्र्याजुएट फ्रम युएसए’ भनी विद्यार्थीहरूलाई आकर्षक नारा दिएको छ ।

ओरियन्टेसन क्लास होस् वा अन्य कार्यक्रम, कलेजले नाम चलेका गायकगायिक वा कलाकारलाई बोलाउँछ । काठमाडौँ छिर्ने प्रमुख नाकाहरुदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलसम्म एमआईटीले होर्डिङबोर्ड र डिजिटल बोर्ड लगाएको छ । यति मात्र हैन्, एमआईटीले युवाहरुमाझ निकै लोकप्रिय एनपीएलको एउटा टिमसँग साझेदारीसम्म गर्न भ्याएको छ ।

कलेजले आफ्नो प्रचारका लागि लेखेको यी ‘स्मार्ट’ लाइनहरूबाट कलेज खोज्दै हिँडेका हरकोही विद्यार्थी र अभिभावक प्रभावित हुन सक्छन् । त्यसै पनि पछिल्लो समय नेपालमा प्लस टु, ब्याचलर वा मास्टर पढेर विदेश जाने लहर नै चलेको छ । नेपालकै कलेजबाट विदेशको ड्रिगी पाउँदा त्यसले विदेश जाँदा भिसामा तुलनात्मक रूपमा प्राथमिकतामा परिने तथा उता गइसकेपछि पनि काम पाउन सहज हुने मनोविज्ञान विद्यार्थीहरूमा देखिन्छ ।

यी कुराहरुले स्वाभाविक रुपमा किशोरसुलभ मस्तिष्क भएका विद्यार्थीलाई प्रभावित गर्छ ।

यही कुराको जालोमा परेका एक विद्यार्थीले भने, “कलेजकोको स्तर उसले गर्ने आक्रामक प्रचारप्रसारमा हैन्, उसको विश्वविद्यालय र डिग्रीमा हेर्नुपर्ने रहेछ भन्ने कुरा मैले समयमै बुझिन । त्यसबारे बुझ्न निकै महत्त्वपूर्ण रहेछ । भर्ना हुने बेला, बाहिरी कुरा हेरेकै आधारमा यो त बेस्ट कलेज ईन काठमाण्डु हो भन्ने लाग्यो, तर अहिले वास्तविक कुरा बुझ्दै जाँदा थाहा पाँए- एमआईटी इज द वर्स्ट कलेज ईन काठमाण्डु ।”