• २०८३ कार्तिक १६
  • 2026 November 02, Monday

विन्दुकुमार थापा : व्यवसायबाट राजनीति, सुविधाबाट समाजसेवा

पोखरा । राजनीतिमा आउने बाटो सबैका लागि एउटै हुँदैन। कोही विद्यार्थी राजनीतिबाट नेतृत्वमा पुग्छन्, कोही सामाजिक अभियान हुँदै राजनीतिक यात्रामा प्रवेश गर्छन्। तर व्यवसाय र व्यावसायिक क्षेत्रबाट आफ्नो पहिचान बनाउँदै प्रदेश राजनीतिमा स्थापित भएका पात्रमध्ये एक हुन् विन्दुकुमार थापा।

नेपाल राष्ट्र बैंकको कर्मचारीका रूपमा व्यावसायिक जीवन सुरु गरेका थापा अहिले गण्डकी प्रदेशको राजनीतिमा परिचित नाम हुन्। राष्ट्र बैंकको जागिर, सानो व्यापार, अटोमोबाइल व्यवसाय, घरजग्गा कारोबार र उद्योग वाणिज्य क्षेत्रको नेतृत्व हुँदै उनले राजनीतिक यात्रा अघि बढाएका हुन्। दुईपटक प्रत्यक्ष निर्वाचन जितेर प्रदेशसभा सदस्य बनेका उनी दुई फरक कार्यकालमा प्रदेश सरकारको मन्त्रीसमेत बने।

बाल्यकाल र पारिवारिक पृष्ठभूमि

विन्दुकुमार थापाको जन्म पोखरामा भयो । उनको बाल्यकाल पोखराको नयाँबजार क्षेत्रमा बितेको थियो। उनी चन्द्रबहादुर थापा र चन्द्रकला थापाका जेठा छोरा हुन्। उनका बुबा चन्द्रबहादुर नेपाली सेनामा कार्यरत थिए।

थापाले प्रारम्भिक शिक्षा महेन्द्र माध्यमिक विद्यालयबाट प्राप्त गरे । माध्यमिक तहको अध्ययन बाराही माध्यमिक विद्यालयमा पूरा गरेका थिए। उनले पृथ्वीनारायण क्याम्पसमा अध्ययन गरे। उनले कानुन विषयमा स्नातक तह पूरा गरेको सार्वजनिक जीवनीमा उल्लेख छ । थापा अधिवक्ता समेत हुन् ।

सैनिक परिवारमा हुर्किएका थापाको प्रारम्भिक जीवन पोखराकै सामाजिक तथा व्यावसायिक वातावरणमा बित्यो। अध्ययन पूरा गरेपछि उनले रोजगारीको खोजी गर्दै बैंकिङ क्षेत्रमा प्रवेश गरे।

राष्ट्र बैंकको जागिर र जीवनको पहिलो मोड

वि.सं. २०५३ सालदेखि व्यवसायिक यात्रा सुरु गरेका थापा अंशुवरा ग्रुपका अध्यक्ष हुन् । थापाको व्यावसायिक यात्राको सुरुवात नेपाल राष्ट्र बैंकको पोखरा शाखाबाट भयो। उनले करिब १८ वर्ष राष्ट्र बैंकमा कर्मचारीका रूपमा काम गरे।

बैंकमा काम गर्दा आर्थिक गतिविधि, वित्तीय कारोबार र व्यावसायिक क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पाएको उनी आफैँले विभिन्न अन्तर्वार्तामा बताएका छन्।

तर जागिरबाट प्राप्त हुने आम्दानीले परिवारका आवश्यकता र भविष्यका योजनालाई सहज रूपमा पूरा गर्न नसकेको उनको अनुभव थियो। छोराछोरीलाई राम्रो शिक्षा दिने र परिवारको आर्थिक अवस्था सुधार गर्ने चाहनाले उनलाई जागिरभन्दा बाहिरको बाटो रोज्न प्रेरित गर्‍यो ।

२०६० सालमा राष्ट्र बैंकको जागिरबाट अवकाश लिएपछि उनले व्यवसाय सुरु गरे। नियमित जागिर छाडेर अनिश्चित व्यावसायिक क्षेत्रमा प्रवेश गर्नु उनका लागि जीवनको महत्त्वपूर्ण निर्णय थियो।

सानो व्यापारबाट व्यवसाय विस्तारसम्म

राष्ट्र बैंकको जागिर छाडेपछि थापाले सुरुमा किराना पसल सञ्चालन गरे। तर व्यापारमा उधारो कारोबार बढ्दा अपेक्षाअनुसार आम्दानी हुन सकेन। लगानी गरेको रकमसमेत डुबेको अनुभव उनले सार्वजनिक अन्तर्वार्तामा सुनाएका छन्।

त्यसपछि उनी मोटरसाइकल तथा अटोमोबाइलको कारोबारमा प्रवेश गरे। मोटरसाइकल र गाडीको किनबेचसँगै उनले अटोमोबाइल व्यवसायलाई अघि बढाउने प्रयास गरे। पोखरामा पहिलो पटक अटोमोबाइल व्यवसायलाई भित्र्याउन उनको महत्वपूर्ण योगदान छ । सो क्षेत्रको नेतृत्वदायी भूमिकामा पुगि पोखराको अटोमोबाइल व्यवसायिक क्षेत्रलाई विस्तार गर्न उनी अहोरात्र खटिएका छन् ।

अटोमोबाइल क्षेत्रमा पनि अपेक्षित सफलता नपाएपछि उनी साथीहरूसँग मिलेर घरजग्गा कारोबारमा संलग्न भए। घरजग्गा व्यवसायबाट आर्थिक अवस्था सुधार हुँदै गएको र यसले पहिलेको ऋण तिर्नसमेत सहयोग गरेको उनले बताएका छन्।

समयक्रममा उनको व्यावसायिक संलग्नता अटोमोबाइल, रियलस्टेट, आवास, व्यापारिक मल, वित्तीय संस्था, होटल तथा आतिथ्य क्षेत्रसम्म विस्तार भयो।

व्यवसाय विस्तारसँगै उनले रोजगारी सिर्जना र सामाजिक क्षेत्रमा पनि आफ्नो संलग्नता बढाएको बताउँदै आएका छन्। उनका अनुसार व्यवसायबाट आर्जित आम्दानीको केही हिस्सा सामाजिक काममा खर्च गर्ने उनको अभ्यास रहँदै आएको छ।

उद्योग वाणिज्य क्षेत्रको नेतृत्व

व्यवसायमा सक्रिय रहँदै गर्दा थापा पोखराको उद्योग वाणिज्य क्षेत्रको नेतृत्वमा पनि पुगे। पोखरा उद्योग वाणिज्य संघमा उनले लामो समय विभिन्न जिम्मेवारीमा रहेर काम गरे। सदस्य हुँदै सचिव, उपाध्यक्ष र अन्ततः अध्यक्षसम्मको जिम्मेवारी सम्हाले।

२०७१ सालदेखि २०७३ सालसम्म उनले पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका रूपमा नेतृत्व गरे। उद्योगी तथा व्यवसायीका समस्या, व्यापारिक वातावरण, निजी क्षेत्रको विकास र व्यवसायमैत्री नीतिका विषयमा उनले संस्थागत रूपमा काम गर्ने अवसर पाए।

त्यसैगरी, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को उपाध्यक्ष, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको सल्लाहकार तथा नेपाल–रसिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको गण्डकी च्याप्टर, विक्तिय संस्था अन्तर्गत २०७३ सालमा फेवा विकास बैंकको अध्यक्ष हुँदै उनले गण्डकी विकास बैंकको समेत नेतृत्वदायी जिम्मेवारी निर्वाह गरेका थिए।

व्यावसायिक संघसंस्थामा काम गर्दा प्राप्त गरेको संगठनात्मक अनुभव नै उनको राजनीतिक प्रवेशको एउटा आधार बन्यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयस्तरको समन्वय, निजी क्षेत्रको प्रतिनिधित्व, जग्गा अधिग्रहणमा सहजीकरण र विमानस्थल निर्माणका पक्षमा तत्कालिन समयमा पैरवी गरि काम गरेका छन् ।

व्यवसायबाट राजनीतिमा प्रवेश

थापाको पारिवारिक पृष्ठभूमि नेपाली कांग्रेससँग जोडिएको थियो। उनका बुबा तथा अग्रजहरू कांग्रेसप्रति निकट रहेको र आफू पनि पार्टीसँग सम्बन्धित कर्मचारी संगठनमार्फत राजनीतिक गतिविधिमा जोडिएको उनले अन्तर्वार्तामा बताएका छन्।

व्यावसायिक क्षेत्रमा स्थापित भएपछि उनी सक्रिय राजनीतिमा प्रवेश गरे। उनको राजनीतिक यात्राको महत्त्वपूर्ण मोड २०७४ सालको प्रदेशसभा निर्वाचन बन्यो। नेपाली कांग्रेसले उनलाई कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) बाट उम्मेदवार बनायो।

त्यतिबेला वाम गठबन्धनको बलियो प्रतिस्पर्धाका बीच उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकाजी गुरुङ ‘करण’लाई पराजित गरे। थापाले १० हजार ७२६ मत प्राप्त गर्दा गुरुङले ९ हजार ९२४ मत पाएका थिए। यसरी उनी पहिलोपटक गण्डकी प्रदेशसभामा निर्वाचित भए। यतिबेला कास्कीमा नेपाली काँग्रेसबाट विजयी हुने उनी एक्ला सांसद थिए ।

पहिलो कार्यकाल : कानुन निर्माण र मन्त्रीको जिम्मेवारी

प्रदेशसभा सदस्य भएपछि थापा प्रदेशको कानुन निर्माण तथा संसदीय काममा सक्रिय भए। गण्डकी प्रदेशमा नयाँ प्रदेश संरचनालाई संस्थागत गर्न आवश्यक कानुन निर्माण गर्नु पहिलो कार्यकालको महत्त्वपूर्ण जिम्मेवारी थियो।

२०७८ सालमा उनी गण्डकी प्रदेश सरकारको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बने। उनको कार्यकालमा प्रदेशका लागि आवश्यक कानुन निर्माण, सञ्चार क्षेत्रको व्यवस्थापन र प्रदेशसभा सञ्चालनसँग सम्बन्धित विषयमा काम गर्ने जिम्मेवारी थियो।

प्रदेश सरकारको पहिलो कार्यकालमा कानुन निर्माणसँगै संघीयता कार्यान्वयन, प्रदेशको अधिकार र संस्थागत संरचना स्थापित गर्ने विषयमा समेत उनको महत्त्वपूर्ण भूमिका रहयो ।

दोस्रोपटक निर्वाचन र पुनः मन्त्री

२०७९ सालको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले थापालाई पुनः कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट उम्मेदवार बनायो। यसपटक उनले नेकपा एमालेकी उम्मेदवार मीना गुरुङलाई पराजित गर्दै दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भए।

दोस्रो कार्यकालमा उनी गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पुगे।

मन्त्रालयको संरचना र जिम्मेवारी परिवर्तनसँगै उनले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व गरे।यस मन्त्रालयअन्तर्गत शिक्षा, स्वास्थ्य, सामाजिक विकास, युवा तथा खेलकुदसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी थियो। खेलकुद पूर्वाधारको विकास, खेलाडीको क्षमता अभिवृद्धि, युवा लक्षित कार्यक्रम, स्वास्थ्य सेवा र सामाजिक सुरक्षासँग सम्बन्धित विषय उनको मन्त्रालयको कार्यक्षेत्रमा पर्दथे।

मन्त्रीका रूपमा उनले यी क्षेत्रमा नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको जिम्मेवारी सम्हाले। उनको कार्यकालको मूल्यांकन गर्दा मन्त्रालयले सञ्चालन गरेका कार्यक्रम, बजेट खर्च, सेवा प्रवाह र नागरिकले प्राप्त गरेको प्रत्यक्ष लाभलाई आधार बनाउनुपर्ने हुन्छ। जसअन्तर्गत गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री हुँदा थापा कै पहलमा पोखरामा दीर्घकालीन पुनः स्थापना केन्द्र संचालनमा आयो ।

पोखरा महानगरपालिका वडा नम्बर ३३ पुष्पबस्तीमा निर्माण भएको केन्द्र सञ्चालनका लागि २०७५ सालमै पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबिच समझदारी भए पनि कार्यान्वयनमा ढिलो भएको थियो । लामो अन्योलपछि केन्द्र संचालनमा आएको दीर्घकालिन पुनःस्थापना केन्द्रमा घर–परिवार तथा समाजबाट समस्या भोगेका किशोरीहरू, मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्ति तथा दुर्व्यसनमा फसेकाहरूले उद्धार गरी केन्द्रमा राखिएको छ ।

उनको समयमा नै गण्डकी प्रदेशको पहिलो दिवा शिशु स्याहार केन्द्र संचालनमा आयो । पोखरा–८ सिमलचौर कास्कीको श्री राम आधारभुत विद्यालयमा स्थापना भएको गण्डकी प्रदेशको पहिलो दिवा शिशु स्याहार केन्द्रमा कर्मचारीका शिशुहरूलाई सुरक्षित, स्नेहपूर्ण तथा सहज वातावरणमा हुर्कने अवसर प्रदान गर्ने उद्देश्यसहित केन्द्र स्थापना गरिएको छ ।

गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक, अपाङगता सम्बन्धि विधेयक र दलित अधिकार सम्बन्धि विधेयक पारित लगायत अन्य थुप्रै जनताले प्रत्यक्ष रुपमा लाभ लिन सक्ने कामहरु थापा गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री हुँदा नै भएका महत्वपूर्ण काम हुन् ।

मन्त्री तथा सांसदको सेवा सुविधा सामाजिक काममा खर्च

थापाको राजनीतिक जीवनमा चर्चामा आउने विषयमध्ये एक हो सांसद तथा मन्त्रीका रूपमा प्राप्त सेवा सुविधा सामाजिक काममा खर्च गर्ने अभ्यास।

२०७८ सालदेखि नै आफूले राज्यबाट प्राप्त गर्ने तलब, भत्ता र अन्य सेवा सुविधा व्यक्तिगत प्रयोजनमा नभई सामाजिक काममा खर्च गर्ने घोषणा गरेको उनले बताउँदै आएका छन्।

हालसम्म उनले ९० लाख भन्दा बढी रुपैयाँ सामाजिक काममा खर्च गरेका छन् । केही समय अघि मात्र भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग पुग्ने गरि प्रधानमन्त्री राहत कोषमा ५ लाख समेत व्यक्तिगत रुपमा उनले सहयोग गरेका छन् ।

थापाले यसरी सहयोग गरेको रकम मार्फत क्यान्सर तथा मुटुरोगीको उपचार, विपन्न परिवारलाई सहयोग, खानेपानी आयोजना, सडक निर्माण तथा मर्मत, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, खेलकुद प्रतियोगिता, महिला समूह, युवा क्लब, सामाजिक भवन निर्माण र विपद्मा परेका परिवारलाई राहत मिलेको छ ।

उनी प्रदेश सरकारबाट प्राप्त निवास सुविधा प्रयोग नगरी आफ्नै निवासमा बस्दै आएका छन् । जनप्रतिनिधिले प्राप्त गर्ने सेवा सुविधालाई नागरिकको आवश्यकतासँग जोड्ने उनको यो अभ्यास सार्वजनिक चर्चाको विषय बनेको छ।

व्यवसाय, समाजसेवा र राजनीतिक छवि

थापाले राजनीतिलाई समाजसेवाको माध्यमका रूपमा व्याख्या गर्दै आएका छन्। व्यवसायबाट आर्थिक रूपमा स्थापित भएपछि राजनीतिमा प्रवेश गर्दा आफूलाई सहज भएको उनको भनाइ छ।

उनका अनुसार राजनीतिक पदबाट प्राप्त हुने पारिश्रमिक र सुविधा व्यक्तिगत आवश्यकताका लागि खर्च गर्नुपर्ने बाध्यता आफूलाई छैन। त्यसैले त्यसलाई सामाजिक क्षेत्रमा लगाउने गरेको उनी बताउँछन्।

उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खेलकुद र विपन्न नागरिकलाई सहयोग गर्ने काममा आफ्नो संलग्नता रहेको सार्वजनिक गरेका छन्। तर उनको राजनीतिक तथा सार्वजनिक जीवनलाई केवल सामाजिक सहयोगको विवरणबाट मात्र मूल्यांकन गर्न मिल्दैन। प्रदेशसभा सदस्य र मन्त्रीका रूपमा उनले सम्हालेका जिम्मेवारी, नीतिगत निर्णय, मन्त्रालयको कार्यसम्पादन र गण्डकी प्रदेशका सबै जिल्लामा भएका विकास निर्माणका काम पनि उनको राजनीतिक मूल्यांकनका महत्वपूर्ण आधार हुन्।