काठमाडौं । आगामी शैक्षिक सत्र २०८४ देखि विद्यालय तहका विभिन्न कक्षामा परिमार्जित तथा नयाँ स्वीकृत पाठ्यक्रम कार्यान्वयनमा आउने भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले सोमबार सूचना जारी गर्दै कक्षा १ देखि १२ सम्मका विभिन्न तहमा स्वीकृत तथा परिमार्जित पाठ्यक्रम लागू हुने जनाएको हो।
केन्द्रका अनुसार सामाजिक अध्ययन विषयका लागि कक्षा ४ देखि १२ सम्म स्वीकृत पाठ्यक्रमका आधारमा तयार गरिएका कक्षा ५, ८, १० र १२ का नयाँ पाठ्यपुस्तक शैक्षिक सत्र २०८४ देखि पठनपाठनमा प्रयोग गरिनेछन्। यी पाठ्यपुस्तक पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०८२ असार १९ गतेको सिफारिस तथा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८२ साउन ९ गतेको निर्णयपछि स्वीकृत भएका हुन्।
त्यसैगरी प्रारम्भिक बालविकास तथा शिक्षा र आधारभूत तह (कक्षा १–३) का लागि तयार गरिएको परिमार्जित पाठ्यक्रम २०८२ पनि नयाँ शैक्षिक सत्रदेखि लागू हुनेछ। उक्त पाठ्यक्रम पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०८२ मङ्सिर १७ गतेको सिफारिस र शिक्षा तथा खेलकुद मन्त्रालयको २०८३ वैशाख ११ गतेको निर्णयअनुसार स्वीकृत भएको हो।
केन्द्रले सूचनामार्फत देशभरका शिक्षा विकास तथा समन्वय एकाइ, सबै स्थानीय तह तथा सम्बन्धित सरोकारवालालाई स्वीकृत निर्णयअनुसार नयाँ पाठ्यक्रम र पाठ्यपुस्तक प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुरोध समेत गरेको छ।
