• २०८३ भदौ ६
  • 2026 August 22, Saturday

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । देशभर धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये ९८ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । कृषि विभागले सार्बजनिक गरेको भदौ ५ गतेसम्मको तथ्याङ्कअनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये १३ लाख ४१ हजार ७६४ हेक्टरमा धान रोपाइँ सकिएको हो ।

गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँको गति केही बढेको छ । गत वर्ष भदौ १ गतेसम्म देशभर ९६.०८ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको थियो । यस वर्ष सोही अवधिको तुलनामा रोपाइँ दर १.९२ प्रतिशतले बढी रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ । उक्त प्रदेशमा धान रोपाइँ हुने एक लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमै रोपाइँ सकिएको छ । कर्णाली प्रदेशमा ४३ हजार २९० हेक्टरमध्ये ४२ हजार ६४० हेक्टरमा रोपाइँ भएको छ, जुन कुल क्षेत्रफलको ९८.५० प्रतिशत हो ।

मधेश प्रदेशमा यस वर्ष रोपाइँको अवस्था उल्लेख्य सुधार भएको छ । गत वर्षको सोही अवधिमा ८६.३५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएकोमा यस वर्ष बढेर ९८.१० प्रतिशत पुगेको छ । धान उत्पादनका दृष्टिले महत्वपूर्ण मानिने मधेशमा रोपाइँ दरमा आएको सुधारले समग्र राष्ट्रिय तथ्याङ्कमा समेत सकारात्मक प्रभाव पारेको छ ।

लुम्बिनी प्रदेशमा ९७.८७ प्रतिशत, वाग्मती प्रदेशमा ९७.८२ प्रतिशत, कोशी प्रदेशमा ९७ प्रतिशत र गण्डकी प्रदेशमा ९६.६८ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। यससँगै अधिकांश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

यस बर्ष पनि अघिल्ला बर्षमा जस्तै धानको रोपाइँमा मल खादको अभाव हुदा समयमै रोपाइँ गर्न नपाएको किसानको गुनासो रहेको छ । कृषि नेपालको प्रमुख खाद्यान्न बालीमध्ये एक भएकाले धान रोपाइँको प्रगति समग्र खाद्य सुरक्षाका लागि महत्वपूर्ण मानिन्छ ।