• २०८३ भदौ ८
  • 2026 August 24, Monday

म्यानचेस्टर सिटीको रोमाञ्चक जित, बराबरीमा रोकियो लिभरपुल

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई २-१ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ । उता गएराती नै सम्पन्न अर्को खेलमा लिभरपुल भने न्युक्यासल युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको छ ।

इतिहाद रंगशालामा भएको खेलमा बोर्नमाउथले २६औँ मिनेटमा मार्कस टाभर्नियरको गोलबाट अग्रता लिएको थियो । घरेलु टोलीले लगातार दबाब बनाए पनि लामो समयसम्म गोल गर्न सकेन । म्यानचेस्टर सिटीले ८४औँ मिनेटमा बराबरी गोल फर्कायो । रयान चेर्कीको कर्नर प्रहारबाट आएको बललाई मार्क गुहेले हेडमार्फत गोल गर्दै खेल १-१ को अवस्थामा पुर्‍याएका थिए । त्यसपछि थप समयको पहिलो मिनेटमा जोस्को ग्भार्डियोलले गोल गर्दै सिटीलाई २-१ को रोमाञ्चक जित दिलाएका हुन् । उनको गोललाई सुरुमा अफसाइड दिइए पनि भिडियो सहायक रेफ्रीको जाँचपछि गोल मान्यता दिइएको थियो ।

यस जितसँगै नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा म्यानचेस्टर सिटीले लिगमा विजयी सुरुआत गरेको छ । खेलमा सिटीले बलमा ६६ प्रतिशत नियन्त्रण राख्दै बोर्नमाउथमाथि लगातार दबाब बनाएको थियो ।

अर्कोतर्फ सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युक्यासल युनाइटेड र लिभरपुलले २-२ गोलको बराबरी खेलेका छन् । न्युक्यासलका एन्थोनी इलाङ्गाले पाँचौँ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि, लिभरपुलका कोडी गाक्पोले ५५औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । न्युक्यासलका जो विलकले ५८औँ मिनेटमा पुनः गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए ।

खेलको थप समयको नवौँ मिनेटमा लिभरपुलले पेनाल्टी पायो । डोमिनिक सोबोस्लाईले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-२ को बराबरीमा पुर्‍याए र हारबाट बचाएका थिए । त्यससँगै लिभरपुलले हारबाट जोगिँदै एक अंक जोडेको छ ।

न्युक्यासल र लिभरपुलबीचको खेल पूर्व न्युक्यासल तथा लिभरपुलका चर्चित खेलाडी र प्रशिक्षक केभिन किगनको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमसमेत गरिएको थियो । किगनको जुलाईमा ७५ वर्षको उमेरमा निधन भएको थियो ।