• २०८३ भदौ ११
  • 2026 August 27, Thursday

राहत संकलनमा एकद्वार प्रणाली लागू

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत संकलन गर्न एकद्वार प्रणाली लागू गरेको छ ।

अर्थ मन्त्रालयले बिहीबार सूचना जारी गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा नगद तथा जिन्सी सहयोग गर्न चाहने परोपकारी व्यक्ति, निजी क्षेत्र, दातृ निकाय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई अर्थ मन्त्रालयमार्फत समन्वय गर्न आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय दातृ निकाय तथा संघसंस्थाका प्रतिनिधिले राहत सहयोगका लागि अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालसँग समन्वय गर्न सक्नेछन् भने निजी क्षेत्र तथा सहयोग गर्न इच्छुक व्यक्तिले अर्थमन्त्रीको सचिवालयमार्फत राहत सहयोगका लागि समन्वय गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

राहत सहयोगसम्बन्धी समन्वयका लागि नवीन ढुंगाना, कञ्चन बस्नेत, खोमनाथ अधिकारी र माधव भण्डारीलाई सम्पर्क व्यक्तिको रुपमा तोकिएको छ । सम्पर्कका लागि ९८५११८३००१, ९८४१९७९०७५, ९८४९१९७१११, ९८५१३५४३४४ र ९८५१२०६२०१ नम्बर समेत उपलब्ध गराइएको छ ।

मन्त्रालयले राहत तथा सहयोगलाई व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सहयोग उपलब्ध गराउन आग्रह गरेको जनाएको छ ।