भैरहवा । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले रसुवाको बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । संघको बिहीबार बसेको कार्यसमिति बैठकले ११ लाख ५१ हजार रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले विपदमा निजी क्षेत्रको साझा संस्थाबाट राहत रकम जम्मा गर्ने निर्णय भएको बताए । ‘देश दुखेको छ, ठूलो जनधनको क्षति भएको छ’, उनले भने, ‘यस्तो बेला सम्पूर्ण नेपालीहरु एकजुट भएर लाग्नुपर्छ भनेर हामीले सहयोग गरेका हौं ।’
अध्यक्ष आचार्यले रसुवा बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपदमा सबैले हातमालो गर्नुपर्ने बताए । बैठकले मृतक परिवारमा समवेदना व्यक्त गर्दै राहत, खोज र पुनःस्थापना जस्ता कार्यमा सरकारसँग सबैलाई हातेमालो गर्न आग्रह गरेको छ ।
रसुवा बाढीबाट खर्बौं क्षति हुनुका साथै कयौं नागरिकको निधन भएको भन्दै अध्यक्ष आचार्यले यो घटनाले विक्षिप्त बनाएको जनाए । संघले प्रधानमन्त्री विपद राहत कोषमा आफ्नो गक्षअनुसार आर्थिक सहयोग गर्न सबैमा अपिल गरेको छ । बुधबार बिहान रसुवामा एक्कासी बाढी आउँदा अकल्पनीय क्षति भएको छ ।
अध्यक्ष आचार्यले अझै धेरै नेपाली तथा भ्रमणमा पुगेका विदेशी नागरिक हराइरहेको जनाउँदै खोजी कार्यमा सरकारसँग हातेमालो गर्न आग्रह गरे ।