• २०८३ कात्तिक १२
  • 2026 October 28, Wednesday

नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा कन्ज्युमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हालका लागि स्थगित

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि. तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट् प्रा.लि. को संयुक्त आयोजनामा भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय भएको ‘नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ हालका लागि स्थगित भएको छ ।

भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सिंगो देश अत्यन्तै कठिन र दुःखी परिस्थितिबाट गुजरिरहेको र प्राकृतिक विपत्तिले भएको ठूलो जनधनको क्षति र नागरिकहरूले भोग्नुपरेको अपार कष्टका बिच व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु मानवीय दृष्टिकोणले पनि उचित नभएका कारण हाल यो प्रदर्शनी स्थगित गरिएको आयोजकले जनाएका छन् ।

देश राष्ट्रिय शोक र पुनर्निर्माणको यस संवेदनशील घडीमा हुनुका साथै नेपाल सरकारद्वारा जारी सुरक्षा सचेतना तथा भारत र चीन सरकारले आफ्ना नागरिकहरूका लागि जारी गरेको ‘ट्राभल एडभाइजरी’लाई ध्यानमा राख्दै आयोजकले यो निर्णय लिएको हो ।

सहभागी, प्रदर्शक, र आगन्तुकहरूको सुरक्षा तथा यात्राको सहजता पहिलो प्राथमिकता भएकाले यो आयोजना हाललाई स्थगित गरिएको हो । अवस्था सामान्य भई यातायात र पूर्वाधार सुचारु भएपछि प्रदर्शनीको नयाँ मिति सार्वजनिक गरिने आयोजकले जनाएको छ ।