• २०८३ भदौ १८
  • 2026 September 03, Thursday

बाढी पीडितको राहतका लागि सिटिजन लाइफद्वारा १ करोड ५१ लाख सहयोग

काठमाडौँ । चीनको तिब्बत क्षेत्रबाट आएको आकस्मिक बाढी र प्राकृतिक विपत्तिबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेको हो।

सहयोग रकममध्ये सिटिजन लाइफका कर्मचारीहरूको तर्फबाट २१ लाख ३३ हजार रुपैयाँ र सिटिजन लिडर्स (अभिकर्ता) हरूको तर्फबाट १८ लाख ६७ हजार रुपैयाँ योगदान रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र नायब प्रमुख कार्यकारी अधिकृत दीप बहादुर बि.सी.ले संयुक्त रूपमा नेपाल सरकारका माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

विपदका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ। “हामी सबै एकसाथ छौँ” भन्ने भावनाका साथ कम्पनीले मृतकहरूप्रति श्रद्धाञ्जली, घाइतेहरूको स्वास्थ्य लाभको कामना र बेपत्ता भएकाहरूको सकुशल अवस्थाको कामना समेत गरेको छ।

सिटिजन लाइफले विपद् प्रभावित क्षेत्रका आफ्ना बीमित तथा उनीहरूका परिवारलाई राहत पुर्‍याउन विशेष पहल सुरु गरेको छ। कम्पनीले प्रभावित क्षेत्रका आफ्ना अभिकर्ता र कर्मचारीहरूलाई बीमितहरूको अवस्था बुझ्न र बीमा दाबीसम्बन्धी प्रक्रियालाई अत्यन्तै सहज, छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न निर्देशन दिइसकेको छ।

विपद्को यस समयमा बीमितहरूलाई कुनै पनि प्राविधिक वा प्रक्रियागत कठिनाइ नहोस् भन्नका लागि कम्पनीले नुवाकोट, धादिङ शाखा र क्षेत्रीय कार्यालयका सम्पर्क व्यक्तिहरूको विवरण समेत सार्वजनिक गरेको छ।

सिटिजन लाइफले उद्धार र राहत कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि पुनर्स्थापनाका कार्यमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।