काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल प्याट्रिक फोलेले पदबाट राजीनामा दिएका छन्। करिब १० महिनामात्र नेतृत्व सम्हालेका फोलेको राजीनामा भदौ ९ गतेदेखि लागू हुने गरी स्वीकृत भएको हो।
नयाँ सीईओ नियुक्त नभएसम्म कम्पनीका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई ‘लिमिट्स अफ अथोरिटी’सहित अन्तरिम सीईओको जिम्मेवारी दिइएको छ। कम्पनी सचिव निशिका शर्माले नेतृत्व परिवर्तनबारे नेपाल दूरसञ्चार प्राधिकरणलाई औपचारिक जानकारी गराएकी छन्।
फोलेले पारिवारिक कारणलाई राजीनामाको एउटा आधारका रूपमा अघि सारे पनि उनको बहिर्गमनसँगै नेपालमा विदेशी लगानीको वातावरण, दूरसञ्चार क्षेत्रको नियामकीय अनिश्चितता र एनसेलको दीर्घकालीन व्यावसायिक भविष्यबारे प्रश्न उठेका छन्। कम्पनीसँग सम्बन्धित स्रोतहरूले लगानी, अनुमतिपत्र, कानुनी विवाद तथा बढ्दो नियामकीय दबाबले पनि उनको निर्णयमा प्रभाव पारेको दाबी गरेका छन्।
फोलेको नेतृत्वमा एनसेलले उच्चगतिको फाइभजी सेवा विस्तार, घरघरमा फाइबर इन्टरनेट पुर्याउने तथा डेटा सेन्टर निर्माणलगायतका क्षेत्रमा लगानी बढाउने योजना अघि सारेको थियो। उनले सरकारले आवश्यक सहजीकरण गरे कम्पनीले नेपालमा करिब २५ करोड अमेरिकी डलर थप लगानी गर्न सक्ने सार्वजनिक प्रतिबद्धता समेत जनाएका थिए।
तर एनसेलको २५ वर्षे दूरसञ्चार अनुमतिपत्रसँग जोडिएको विवाद र त्यसको भविष्यलाई लिएर लामो समयदेखि प्रश्न कायम छन्। अनुमतिपत्रको अवधि करिब तीन वर्ष मात्र बाँकी रहेको अवस्थामा विदेशी लगानीकर्ताका लागि दीर्घकालीन लगानी निर्णय गर्न कठिन अवस्था सिर्जना भएको कम्पनीको धारणा रहँदै आएको छ।
कम्पनी अनुमतिपत्रको अवधि, कम्पनीको सम्पत्ति र विदेशी लगानीको स्वामित्व संरचनासँग सम्बन्धित नीतिगत अनिश्चितताले आगामी लगानी योजनालाई प्रभावित गरेको भन्दै चिन्ता व्यक्त गर्दै आएको छ।
अनुमतिपत्रको अवधि समाप्त भएपछि पनि नेपालमा सेवा निरन्तर राख्ने विकल्पका रूपमा एनसेलले विदेशी लगानीअन्तर्गतको शेयर संरचनामा परिवर्तन गर्न सकिने प्रस्ताव अघि सारेको छ। इच्छुक नेपाली व्यक्ति तथा संस्थालाई शेयर स्वामित्व हस्तान्तरण गर्ने सम्भावनाबारे समेत कम्पनीले धारणा सार्वजनिक गरेको छ।
यद्यपि, उक्त प्रस्तावसँगै एनसेलको भविष्यलाई लिएर अनिश्चितता जारी रहेकै बखत सीईओ फोलेको राजीनामा आएको हो।