काठमाडौँ। सन् २०२६ को अगस्ट महिना विश्वकै अहिलेसम्मकै सबैभन्दा गर्मी महिनामध्ये एक बनेको छ। युरोपेली संघको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार अगस्टमा विश्वको औसत सतह तापक्रम १६.९६ डिग्री सेल्सियस पुगेको हो।
यो सन् १८५०-१९०० को औद्योगिक युगअघि रहेको औसत तापक्रमभन्दा १.६५ डिग्री सेल्सियस बढी हो।
यो तापक्रम सन् २०२३ को जुलाई महिनासँग बराबर हो। त्यसैले अगस्ट २०२६ र जुलाई २०२३ संयुक्त रूपमा अहिलेसम्मकै सबैभन्दा गर्मी महिना बनेका छन्।
अगस्टमा विश्वको औसत तापक्रम औद्योगिक युगअघिको स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने यो सन् २०२५ को नोभेम्बरपछि पहिलो पटक भएको हो। जलवायु परिवर्तनका कारण तापक्रम बढिरहेको अवस्थामा प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोले पनि तापक्रम थप बढाउन भूमिका खेलेको वैज्ञानिकहरूको भनाइ छ।
पेरिस जलवायु सम्झौताअन्तर्गत विश्वका झन्डै २०० देशले दीर्घकालीन औसत तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा सीमित राख्ने प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए। यो सीमा नाघ्दा अत्याधिक गर्मी, खडेरी, बाढी, डढेलो र अन्य जलवायुजन्य विपत्तिको जोखिम अझ बढ्ने वैज्ञानिकहरूको चेतावनी छ।
तर, एक महिनाको तापक्रम १.५ डिग्रीभन्दा माथि पुग्दैमा पेरिस सम्झौताले तोकेको सीमा स्थायी रूपमा पार भएको भने मानिँदैन। उक्त सीमा दशकौँको औसत तापक्रमका आधारमा मूल्यांकन गरिन्छ। हाल विश्वको दीर्घकालीन तापक्रम वृद्धि करिब १.४ डिग्री सेल्सियस पुगेको छ।
संयुक्त राष्ट्रसंघले पनि दीर्घकालीन रूपमा १.५ डिग्रीको लक्ष्य कायम राख्न निकै कठिन भइसकेको बताउँदै कार्बन डाइअक्साइड उत्सर्जन घटाउने काम अझ तीव्र बनाउन आह्वान गरेको छ।
अगस्टमा विश्वका विभिन्न क्षेत्रमा चरम मौसमका घटना देखिए। नेपाल र चीनको तिब्बतमा गएको पहिरो तथा आकस्मिक बाढीमा सयौँ मानिसको ज्यान गएको थियो। घटनामा जलवायु परिवर्तनको भूमिका हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्।
इन्डोनेसियादेखि ग्रीस र बेल्जियमसम्म डढेलो फैलिएको थियो भने हंगेरी र रोमानियामा गम्भीर खडेरी देखिएको थियो।
पश्चिमी युरोपले यस वर्ष अहिलेसम्मकै सबैभन्दा तातो गर्मी अनुभव गरेको छ। लामो समयसम्म चलेका गर्मीका लहरले नदीको पानीको बहाव र माटोको चिस्यान घटाएको छ। यसले कृषि उत्पादनमा समेत असर पारेको छ।
बेलायतमा पनि सन् १८८४ मा तापक्रमको अभिलेख राख्न थालेयताकै सबैभन्दा तातो गर्मी भएको छ। अत्याधिक गर्मीका कारण विद्यालय बन्द गर्नुपर्ने, अस्पतालमा बिरामीको चाप बढ्ने, खाद्य उत्पादन प्रभावित हुने तथा डढेलो र खडेरी बढ्ने अवस्था देखिएको थियो।
अगस्टमा जमिनको तापक्रम मात्र होइन, ध्रुवीय क्षेत्रबाहेकका विश्वका महासागरको सतहको तापक्रम पनि अहिलेसम्मकै उच्चमध्ये एक पुगेको कोपरनिकसले जनाएको छ।
प्रशान्त महासागरमा विकसित भइरहेको एल निनो अझ बलियो बन्न सक्ने अनुमान गरिएको छ। एल निनोका कारण समुद्रमा जम्मा भएको ठूलो मात्राको ताप वायुमण्डलमा पुग्छ र केही समयका लागि विश्वको औसत तापक्रम थप बढ्न सक्छ।
वैज्ञानिकहरूका अनुसार हालको एल निनो आगामी महिनाहरूमा अझ बलियो हुन सक्ने भएकाले विश्व तापक्रमका नयाँ कीर्तिमानहरू थपिने सम्भावना छ।