काठमाडौं । २० वाणिज्य बैंकले असोज १ गतेदेखि लागू हुने गरी निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहे पनि कर्जाको मागमा अपेक्षित सुधार हुन नसकेपछि पछिल्ला महिनादेखि घटिरहेको निक्षेपको ब्याजदर असोजमा भने तुलनात्मक रूपमा स्थिर देखिएको छ ।
असोजका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदरको औसत ४.०८९५ प्रतिशत कायम भएको छ । भदौमा यस्तो औसत ४.१३६ प्रतिशत रहेकाले एक महिनामा ०.०४६५ प्रतिशत बिन्दुले कमी आएको हो । संस्थागत निक्षेपको औसत अधिकतम दर पनि ३.०८१ प्रतिशतबाट घटेर ३.०६६५ प्रतिशतमा आएको छ ।
व्यक्तिगत मुद्दती निक्षेपमा केही बैंकले दर घटाए पनि अधिकांशले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । असोजमा एभरेस्ट बैंकले व्यक्तिगत निक्षेपको अधिकतम दर सबैभन्दा धेरै ०.५५ प्रतिशत बिन्दुले घटाएर ३.५० प्रतिशतमा झारेको छ । संस्थागततर्फ पनि बैंकले ०.२५ प्रतिशत बिन्दुको कटौती गर्दै ३.२५ प्रतिशत कायम गरेको छ ।
नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५५ प्रतिशतबाट ०.३० प्रतिशत बिन्दुले घटाएर ४.२५ प्रतिशत बनाएको छ । संस्थागत निक्षेपमा भने ३.०१ प्रतिशतकै दर कायम छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ०.०५ प्रतिशत बिन्दु घटाएर ३.७५ प्रतिशत तथा कुमारी बैंकले ०.०३ प्रतिशत बिन्दु घटाएर ३.७३ प्रतिशत कायम गरेका छन् ।
सिटिजन्स बैंकले संस्थागत निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाउँदै २.७५ प्रतिशतमा झारेको छ भने व्यक्तिगततर्फ ३.८५ प्रतिशतकै दर कायम गरेको छ । यसको विपरीत सानिमा बैंकले संस्थागत निक्षेपको दर ०.२१ प्रतिशत बिन्दुले बढाएर ३.५१ प्रतिशत पुर्याएको छ । व्यक्तिगत निक्षेपमा भने उसले ४.५० प्रतिशतकै दरलाई निरन्तरता दिएको छ ।
व्यक्तिगत मुद्दती निक्षेपतर्फ असोजमा सबैभन्दा उच्च अधिकतम ब्याजदर प्रभु बैंकले ४.५५ प्रतिशत कायम गरेको छ । माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सानिमा बैंकले ४.५० प्रतिशत दर राखेका छन् । कृषि विकास र नेपाल बैंकले ४.१५ प्रतिशत तथा नेपाल एसबीआई बैंकले ४.१० प्रतिशत कायम गरेका छन् ।
प्राइम कमर्सियल, ग्लोबल आईएमई, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज र हिमालयन बैंकले व्यक्तिगत मुद्दतीमा ४ प्रतिशतकै दर कायम गरेका छन् । सिद्धार्थ बैंकको अधिकतम दर ३.७६ प्रतिशत छ भने कुमारीको ३.७३ र सिटिजन्सको ३.८५ प्रतिशत छ ।
बैंकहरूले निक्षेपको ब्याजदर लगातार घटाउनुको प्रमुख पृष्ठभूमिमा निक्षेपको तुलनामा कर्जा विस्तार कमजोर हुनु र प्रणालीमा अतिरिक्त तरलता रहनु रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकिङ प्रणालीमा निक्षेप करिब १० खर्ब रुपैयाँले बढ्दा कर्जा विस्तार करिब ४ खर्ब रुपैयाँमा सीमित भएको थियो । चालु आर्थिक वर्षको सुरुवातमा भने चाडपर्वसँग सम्बन्धित एलसी खुल्ने गतिविधि र कर्जाको मागमा केही सुधारका संकेत देखिएका छन् ।
यही अवस्थाका कारण बैंकहरूले थप निक्षेप आकर्षित गर्न ब्याजदर बढाउनुपर्ने दबाब महसुस गरेका छैनन् । अर्कोतर्फ ब्याजदर यसअघि नै निकै तल आइसकेकाले थप कटौती गर्दा निक्षेपकर्तामाथि पर्ने प्रभावलाई पनि बैंकहरूले ध्यान दिन थालेका छन् ।
नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थाअनुसार स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत छ । बचतको ब्याजदर यस सीमाभन्दा तल झरेमा सम्बन्धित बैंकले स्थायी निक्षेप सुविधा प्राप्त गर्न नसक्ने व्यवस्था भएकाले बचतको दर घटाउने ठाउँ सीमित छ । लागत कम गर्न बैंकहरूले त्यसपछि मुद्दती निक्षेपको दरमा बढी समायोजन गर्दै आएका छन् ।
हाल केही बैंकमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल पुगेको छ । छोटो अवधिको मुद्दतीमा अधिकांश बैंकको दर ३ प्रतिशत आसपास वा त्यसभन्दा कम भइसकेको अवस्थामा लामो अवधिको निक्षेपमा समेत थप ठूलो कटौती गर्दा निक्षेपकर्ता निरुत्साहित हुन सक्ने जोखिम देखिएको छ ।