काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा नेपालले ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँभन्दा बढी प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागका अनुसार ३२८ परियोजनामार्फत उक्त लगानी प्रस्ताव आएको हो। यी परियोजना सञ्चालनमा आए ३ हजार ४४७ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्।
कुल परियोजनामध्ये ३२२ वटा स्वचालित मार्गबाट स्वीकृत भएका छन्। यी परियोजनाबाट ९ अर्ब ७४ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। बाँकी ६ परियोजना नियमित स्वीकृति प्रक्रियाबाट आएका हुन्, जसमा १ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ लगानी प्रस्ताव भएको छ।
महिनागत रूपमा हेर्दा भदौमा लगानी प्रतिबद्धता बढेको छ। भदौमा मात्रै १३६ परियोजनामा ६ अर्ब ३५ करोड १५ लाख २१ हजार रुपैयाँ विदेशी लगानी प्रस्ताव भएको छ। ती परियोजनाबाट ९८३ जनालाई रोजगारी दिने योजना छ। भदौका १३५ परियोजना स्वचालित मार्गबाट र एउटा नियमित प्रक्रियाबाट स्वीकृत भएको हो। साउनमा भने १९१ परियोजनामार्फत ३ अर्ब ७७ करोड २८ लाख रुपैयाँभन्दा बढी प्रतिबद्धता आएको थियो।
क्षेत्रगत रूपमा रकमका आधारमा पर्यटन विदेशी लगानीकर्ताको मुख्य आकर्षण बनेको छ। दुई महिनामा पर्यटनका ७० परियोजनामा ३ अर्ब ७४ करोड २८ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। सेवामूलक क्षेत्रका २६ परियोजनामा ३ अर्ब ३० करोड ५४ लाख रुपैयाँ प्रस्ताव भएको छ।
ऊर्जा क्षेत्रमा एउटा परियोजनाका लागि २ अर्ब रुपैयाँ र उत्पादनमूलक क्षेत्रका १८ परियोजनामा १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। कृषिमा पनि एउटा परियोजनाका लागि २ करोड रुपैयाँ प्रस्ताव भएको छ। खनिज तथा पूर्वाधार क्षेत्रमा भने कुनै विदेशी लगानी प्रतिबद्धता आएको छैन।
परियोजनाको संख्याका आधारमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्र अगाडि छ। दुई महिनामा आईसीटीका २१२ परियोजना स्वीकृत भएका छन्, जसमा करिब ८१ करोड ६९ लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको छ। कुल ३२८ परियोजनामध्ये ३२३ वटा साना, दुई मझौला र तीन ठूला परियोजना रहेका छन्।
यस अवधिमा सेयर खरिद तथा सेयर सदस्यता सम्झौता (SPA/SSA) मार्फत थप १२ परियोजनाका लागि ८२ करोड ३२ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। भदौमा मात्रै नौवटा सम्झौताबाट ५६ करोड ९२ लाख रुपैयाँ स्वीकृत भएको विभागले जनाएको छ। प्रविधि हस्तान्तरणतर्फ आठवटा सम्झौता पनि स्वीकृत भएका छन्।
गत आर्थिक वर्षको पहिलो दुई महिनामा भने २३६ परियोजनाबाट ३३ अर्ब ९ करोड २० लाख रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको थियो। त्यसको तुलनामा चालू आर्थिक वर्षको सुरुआती दुई महिनाको प्रतिबद्धता रकम कम देखिएको छ।
यसैबीच, चालू आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशी कम्पनीहरूले रोयल्टी तथा सेवा शुल्कबापत नेपाली र विदेशी मुद्रामा रकम फिर्ता लगेका छन्। साथै, उद्योग विभागले ८५ विदेशी लगानीकर्ता, ६२ आधिकारिक प्रतिनिधि र ८६ आश्रित परिवारका सदस्य गरी २३३ जनालाई बिजनेस भिसाका लागि सिफारिस गरेको छ।