• २०८३ असोज ९
  • 2026 September 25, Friday

जापान पठाइदिने भन्दै रकम उठाएको पाइएपछि यामानोमाथि विभागको अनुसन्धान

काठमाडौं । जापानी नागरिक यामानो शिनिचिरोमाथि नेपालमा भिजिट भिसाको प्रयोग गरी व्यावसायिक गतिविधि सञ्चालन गरेको तथा रोजगारीका लागि जापान जान चाहने नेपाली कामदार र म्यानपावर व्यवसायीबाट रकम उठाएको आरोप लागेपछि वैदेशिक रोजगार विभागले छानबिन गर्ने भएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आगामी नोभेम्बरमा यामानोसँग सहकार्य गरी नेपालमा जब फेयर आयोजना गर्ने तयारी सार्वजनिक गरेपछि उनीमाथि लागेका आरोप पुनः चर्चामा आएका हुन्। त्यसपछि केही म्यानपावर व्यवसायीले यामानोले आफूहरू तथा जापान जान इच्छुक कामदारसँग अनधिकृत रूपमा रकम लिएको दाबी गर्दै विभागमा उजुरी गरेका छन्।

व्यवसायीहरूको दाबी अनुसार यामानो जापानका रोजगारदाताबाट कामदारको माग संकलन गरी नेपाली म्यानपावर कम्पनीसम्म पुर्‍याउने काममा संलग्न रहँदै आएका छन्। तर, रोजगारदाताले कामदारको आवश्यक खर्च व्यहोर्ने व्यवस्था रहेको अवस्थामा पनि उनले जापान जाने कामदारबाट प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म लिएको आरोप छ।

यसअघि पनि जापानमा जब फेयर आयोजना गर्ने भन्दै यामानोले नेपाली म्यानपावर व्यवसायीबाट ठूलो रकम संकलन गरेको व्यवसायीहरूको भनाइ छ। उनीहरूले गत वर्ष केही व्यवसायीसँग प्रतिव्यक्ति २५ लाख रुपैयाँसम्म लिएको आरोप लगाएका छन्। रकम उठाएपछि विवाद उत्पन्न हुँदा केही व्यक्तिको पैसा फिर्ता भए पनि अझै केही रकम फिर्ता हुन बाँकी रहेको व्यवसायीहरूको दाबी छ।

यामानो नियमित रूपमा तीन महिनाको अन्तरालमा नेपाल आउने गरेको र भिजिट भिसामा रहेर व्यावसायिक गतिविधि गर्दै आएको आरोपसमेत व्यवसायीहरूले लगाएका छन्। उनीमाथि नेपालमा कामदारसँग रकम उठाएर हुन्डीमार्फत जापान पठाउने गरेको आरोप पनि लगाइएको छ।

यामानोको नेपाल भ्रमण र भिजिट भिसाको प्रयोगसम्बन्धी विषयमा अध्यागमन विभागबाट समेत छुट्टै अनुसन्धान हुन सक्ने देखिएको छ। भिजिट भिसामा आएर व्यावसायिक गतिविधि सञ्चालन गरेको प्रमाणित भएमा त्यसतर्फ पनि सरकारी निकायले अनुसन्धान अघि बढाउन सक्ने जनाइएको छ।

नेपाल सरकारले जापानमा दक्ष कामदार पठाउने सम्बन्धमा बनाएको कार्यविधिअनुसार रोजगारदाताले कामदारसँग सम्बन्धित सम्पूर्ण खर्च व्यहोर्नुपर्ने व्यवस्था छ। विशेषगरी एसएसडब्ल्यू प्रणालीअन्तर्गत जापान जाने कामदारले त्यस्तो प्रक्रियाका लागि रकम तिर्नुपर्दैन।