काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै लुम्बिनी लायन्स र बुद्ध एयरबीच एयरलाइन्स पार्टनरका रूपमा सहकार्यलाई निरन्तरता दिइने भएको छ।
नेपाली क्रिकेटप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता र समर्थनलाई कायम राख्दै बुद्ध एयरले लुम्बिनी लायन्ससँग तेस्रो एनपीएल सिजनमा पनि साझेदारी गरेको हो। लुम्बिनी लायन्सको यात्रामा बुद्ध एयर विगतका सिजनदेखि नै निरन्तर जोडिँदै आएको महत्वपूर्ण साझेदार तथा समर्थक रहँदै आएको छ।
एनपीएलप्रतिको आकर्षण पछिल्लो समय विशेषगरी युवा पुस्तामाझ तीव्र रूपमा बढिरहेको छ। नेपाली क्रिकेटको विकास, खेलाडीहरूको क्षमता प्रदर्शन तथा क्रिकेटप्रतिको जनचासो विस्तारका लागि एनपीएलले महत्वपूर्ण अवसर सिर्जना गरेको लुम्बिनी लायन्सको विश्वास छ।
बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले एनपीएलसँगको निरन्तर सहकार्यप्रति खुशी व्यक्त गर्दै भने, “एनपीएलप्रतिको क्रेज, विशेषगरी युवापुस्तामाझ, तीव्र रूपमा बढिरहेको छ। तेस्रो एनपीएल सिजनका लागि लुम्बिनी लायन्ससँग पुनः एयरलाइन्स पार्टनरका रूपमा जोडिन पाउँदा हामी खुशी छौं। समग्रमा एनपीएलले नेपाली क्रिकेटका लागि उत्कृष्ट अवसरहरू सिर्जना गरेको छ र यसले यही गतिलाई निरन्तरता पाउनुपर्छ। सबै टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वाससहित अग्रिम शुभकामना व्यक्त गर्दछौं।”
लुम्बिनी लायन्सले नेपाली क्रिकेटको विकास र एनपीएलको प्रवर्द्धनमा निरन्तर साथ, सहयोग र साझेदारी प्रदान गर्दै आएकोमा बुद्ध एयरप्रति हार्दिक आभार व्यक्त गरेको छ। आगामी सिजनमा पनि बुद्ध एयरसँगको सहकार्यले लुम्बिनी लायन्सको यात्रा थप सुदृढ बनाउने विश्वास क्लबले लिएको छ।