काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् । यही भदौ ३० गते बसेको इसेवा सञ्चालक समितिको बैठकले असोज १२ गतेदेखि लागु हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
शर्माले आगामी चार वर्षको सेवाकाल आजको मितिबाट सम्हाल्ने छन् । बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव हासिल गरेका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा अनुभवी छन् । डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि तथा ग्राहककेन्द्रित नवप्रवर्तन विकासका क्षेत्रमा उत्कृष्ट क्षमता प्रदर्शन गर्नुका साथै, टोलीको नेतृत्व तथा संस्थागत रूपान्तरणलाई प्रभावकारी रूपमा अघि बढाउन उनीसँग उल्लेखनीय अनुभव छ ।
बैंकिङ तथा डिजिटल वित्तीय सेवाको क्षेत्रमा लामो अनुभव हासिल गरेका शर्माको नेतृत्वले इसेवाको आगामी यात्रालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । इसेवा सञ्चालक समितिले शर्माको अनुभव, नेतृत्व क्षमता तथा डिजिटल वित्तीय सेवासम्बन्धी विज्ञता कम्पनीको आगामी रणनीतिक प्राथमिकतालाई प्रभावकारी रूपमा अघि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
इसेवाले विगतदेखि हासिल गर्दै आएको उपलब्धिलाई निरन्तरता दिँदै बदलिँदो ग्राहक आवश्यकता र डिजिटल वित्तीय सेवाको विकाससँगै कम्पनीलाई थप सुदृढ बनाउन शर्माको नेतृत्व महत्त्वपूर्ण हुने विश्वास इसेवा सञ्चालक समितिले लिएको छ ।
निवर्तमान सीईओ जगदीश खड्काको कार्यकाल पूरा
इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ । वि.सं. २०७९ असोज १२ मा इसेवाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका खड्काले आफ्नो कार्यकाल सफलतापूर्वक रूपमा पूरा गरे ।
खड्काको व्यवस्थापकीय नेतृत्वमा इसेवाले आफ्नो सेवा, पहुँच तथा डिजिटल वित्तीय सेवाको दायरालाई उल्लेख्य रूपमा विस्तार गरेको छ । उनको कार्यकालमा इसेवाका प्रयोगकर्ता, मर्चेन्ट तथा आधिकारिक प्रतिनिधिहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि हुनुका साथै नयाँ प्रडक्ट तथा फिचरहरूको निर्माण, नवप्रवर्तन तथा डिजिटल सेवाको विस्तारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । उनको कार्यकालमा इसेवामा दर्ता हुने प्रयोगकर्ताको सङ्ख्या १ करोड ४० लाख र मर्चेन्टको सङ्ख्या ६ लाख नाघेको छ ।
आफ्नो कार्यकालमा उहाँले इसेवालाई थप समावेशी, अत्याधुनिक र प्रयोगकर्तामैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । डिजिटल कर्जा सुविधा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिङ्क, बिजनेस एप, इन्टेन्ट पे, क्यालेन्डर तथा इभेन्ट सेवा, इन्सुरेन्स प्रडक्ट र विविध लाइफस्टाइल फिचरहरूको विस्तारमार्फत डिजिटल भुक्तानी र वित्तीय व्यवस्थापनलाई सहज, सुरक्षित र बहुआयामिक बनाउन उनले सफल नेतृत्व प्रदान गरे ।
साथै, उनको नेतृत्वमा दृष्टिविहीन नागरिकका लागि ’टकब्याक’ फिचर तथा सर्वसाधारणको सहजताका लागि नेपाली भाषामा एप सञ्चालन गरी वित्तीय सेवालाई पहुँचयोग्य बनाइएको छ । इसेवा व्यवस्थापनको नेतृत्वमा रहेर खड्काले कम्पनीको व्यावसायिक वृद्धि, डिजिटल वित्तीय सेवाको विस्तार, समावेशी वित्तीय पहुँच तथा ग्राहककेन्द्रित नवप्रवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
उनको नेतृत्वमा इसेवाले आफ्नो ब्रान्ड प्रमिस “सबै. सधैँ. सँगैँ.” लाई आत्मसात् गर्दै डिजिटल सेवाको पहुँच विस्तार, नवीन प्रडक्ट तथा सेवाको विकास र समावेशी डिजिटल वित्तीय अनुभव निर्माणमा निरन्तर काम गर्दै आएको छ । उनको कार्यकालमा हासिल भएका उपलब्धिहरूले इसेवाको आगामी यात्राका लागि थप बलियो आधार तयार गरेको कम्पनीले जनाएको छ ।