• २०८३ असोज १४
  • 2026 September 30, Wednesday

विश्वको सबैभन्दा ठूलो हतियार विक्रीकर्ता अमेरिकाले किन चीनलाई हतियार बेच्दैन ?

चीनका लागि अमेरिकी राजदूत डेभिड पर्ड्यूले गत साता राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई हतियार बेच्ने प्रस्ताव गरेको दाबी गरेका छन्।

डेभिड पर्ड्यूले आइतबार फक्स न्युजलाई दिएको अन्तर्वार्तामा गत साता अमेरिकामा पुगेका सी चिनफिङसँग कुराकानीका क्रममा ट्रम्पले आफ्नो देशले विश्वका धेरै मुलुकलाई हतियार बेच्ने गरेको बताएका थिए। उनले चीनले अमेरिकाबाट केही हतियार किन्न चाहन्छ कि भनेर समेत सोधेको पर्ड्यूले बताएका छन्।

तर पर्ड्यूको उक्त अन्तर्वार्तापछि ह्वाइट हाउसले चीनलाई हतियार बेच्ने अमेरिकाको कुनै योजना नरहेको स्पष्ट पारेको छ।

अमेरिकी विदेश मन्त्रालयले पनि अमेरिकी कानुनले चीनलाई हतियार बिक्रीमा प्रतिबन्ध लगाएको भन्दै चीनलाई हतियार बेच्ने कुनै योजना नरहेको जनाएको छ।

हतियार बेच्ने प्रस्तावको ताइवान सम्बन्ध

पर्ड्यूको अन्तर्वार्तापछि अमेरिकाले आत्मरक्षाका लागि ताइवानलाई हतियार उपलब्ध गराउन कानुनी रूपमा बाध्य हुँदाहुँदै पनि १४ अर्ब डलरको हतियार सम्झौताको निर्णय रोकेर राखेको विषयमा चर्चा बढेको छ।

तर अमेरिकाले आफ्नै कानुनअनुसार हतियार दिन नसक्ने चीनलाई हतियार बेच्ने प्रस्ताव गरेको भनिएको छ। यद्यपि, अमेरिकी विदेश मन्त्रालयले यस्तो प्रस्ताव गरिएको कुरालाई अस्वीकार गरेको छ।

चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ र उसलाई चीनमा गाभ्ने बताउँदै आएको छ। अमेरिकाले ताइवानलाई हतियार उपलब्ध गराउँदै आएको विषय चीनका लागि लामो समयदेखि आपत्तिको विषय बन्दै आएको छ। चीनले यसबारे पटक-पटक विरोध जनाउँदै आएको छ।

२०२५ को जुन महिनामा चीनले ताइवानलाई अमेरिकामाथि निर्भर भएर वा सैन्य माध्यमबाट स्वतन्त्रता हासिल गर्ने प्रयास गर्नु ‘बन्द गल्लीमा पुग्नुजस्तै’ हुने चेतावनी दिएको थियो।

समाचार एजेन्सी एएफपीका अनुसार डिसेम्बरमा ट्रम्पले ताइवानलाई ११.१ अर्ब डलर बराबरको हतियार बिक्रीलाई स्वीकृति दिएका थिए। तर १४ अर्ब डलरको हतियार सम्झौताबारे भने निर्णय रोकेर राखेका छन्।

ट्रम्पले यसलाई ‘चीनसँग वार्ताका लागि महत्त्वपूर्ण दबाबको माध्यम’ बताएका थिए।

बेलायती अखबार गार्डियनले समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै चीनले आक्रमण गरेको अवस्थामा अमेरिकाले ताइवानको रक्षा गर्छ कि गर्दैन भन्ने विषयमा लामो समयदेखि रणनीतिक अस्पष्टताको नीति अपनाउँदै आएको लेखेको छ।

तर दशकौँ पुरानो ‘ताइवान रिलेसन्स एक्ट’ अन्तर्गत अमेरिकाले ताइवानलाई आफ्नो रक्षाका लागि पर्याप्त सैन्य सामग्री उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

गत साता वासिङ्टनमा ट्रम्पसँग भएको भेटका क्रममा सी चिनफिङले ट्रम्पलाई ‘ताइवानको स्वतन्त्रता’ को विरोध गर्न आग्रह गरेका थिए।

पर्ड्यूको अन्तर्वार्ताअघि ताइवानका उपविदेशमन्त्री चेन मिङ-चीले चीनबाट उत्पन्न भइरहेको गम्भीर सैन्य जोखिमबारे बताएका थिए।

उनले ताइपेईमा पत्रकारहरूसँग भनेका थिए, “ताइवान स्ट्रेटको अवस्था गम्भीर छ। चीनको अर्थतन्त्र कमजोर हुँदै गए पनि उसले आफ्नो सैन्य क्षमता बढाउन लगातार थप स्रोत खर्च गरिरहेको छ। यस्तो अवस्थामा अमेरिकाले हाम्रो रक्षा आवश्यकतालाई राम्रोसँग बुझेको छ।”

चीनलाई हतियार बिक्रीमा प्रतिबन्ध लगाउने कानुन के हो?

अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज एच. डब्ल्यू. बुसले सन् १९८९ को जुनमा चीनको थियानमेन स्क्वायरमा लोकतन्त्र समर्थक प्रदर्शनकारीविरुद्ध चिनियाँ सरकारको हिंसात्मक कारबाही गरेपछि चीनलाई हतियार तथा सैन्य सामग्री निर्यातमा प्रतिबन्ध लगाएका थिए।

त्यसपछि अमेरिकी कंग्रेसले सन् १९९० को फेब्रुअरीमा पीएल १०१-२४६ को धारा ९०२ मार्फत यी प्रतिबन्धलाई स्थायी रूपमा कानुनमा परिणत गर्दै यसको दायरा थप विस्तार गरेको थियो।

यस कानुनअन्तर्गत चीनलाई अमेरिकी ‘म्युनिशन लिस्ट’मा समावेश रक्षा सामग्री तथा रक्षा सेवाको निर्यातका लागि अनुमति दिने व्यवस्था रोकिएको छ।

यसका साथै, अपराध नियन्त्रणसँग सम्बन्धित उपकरण तथा केही भूउपग्रहमा पनि यो प्रतिबन्ध लागू हुन्छ।

अमेरिका विश्वकै सबैभन्दा ठूलो हतियार निर्यातकर्ता

सीएनएनको एक रिपोर्टका अनुसार अमेरिका विश्वकै सबैभन्दा ठूलो हतियार निर्यात गर्ने देश हो। युरोप अमेरिकी हतियारको सबैभन्दा ठूलो ग्राहक हो।

सीएनएनले स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई)को नयाँ तथ्यांकलाई उद्धृत गर्दै सन् २०२० देखि २०२४ सम्म विश्वको कुल हतियार निर्यातमा अमेरिकाको हिस्सा ४३ प्रतिशत रहेको जनाएको छ। यो विश्वको दोस्रो ठूलो हतियार निर्यातकर्ता फ्रान्सको हिस्साभन्दा चार गुणाभन्दा बढी हो।

एसआईपीआरआईको रिपोर्टअनुसार सन् २०१५ देखि २०१९ सम्म विश्वव्यापी हतियार निर्यातमा अमेरिकाको हिस्सा ३५ प्रतिशत थियो।

सीएनएनले पछिल्लो एक दशकमा युरोप अमेरिकी हतियारमा लगातार बढी निर्भर हुँदै गएको पनि रिपोर्ट गरेको छ।

पछिल्ला पाँच वर्षमा, सन् २०२२ मा युरोपको सीमामा रुसले युक्रेनमाथि गरेको आक्रमण समेत समेट्दा, युरोपका नेटो सदस्य राष्ट्रहरूले आयात गरेका हतियारमध्ये करिब दुई तिहाइ अमेरिकामा बनेका थिए।

सन् २०१५ देखि २०१९ को अवधिमा यस्तो हिस्सा आधाभन्दा केही बढी थियो।

एसआईपीआरआईका अनुसार दुई दशकमा पहिलोपटक अमेरिकाले निर्यात गरेको हतियारको ठूलो हिस्सा मध्यपूर्वभन्दा युरोपेली क्षेत्रमा गएको छ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनले अमेरिकासहित विभिन्न देशबाट ठूलो परिमाणमा हतियार तथा सैन्य सामग्री खरिद गरेको छ।

(बीबीसीबाट)