• २०८३ असोज १४
  • 2026 September 30, Wednesday

वित्तीय अनियमितताको आरोप लागेका गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको शीर्ष सिफारिसमा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया विवादमा परेको छ।

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक-फरक स्टार्टअप कर्जा प्रवाह गरी छानबिनको दायरामा आएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै पुन: पहिलो नम्बरमा सिफारिस गरिएपछि नियुक्ति प्रक्रिया नै विवादित बनेको हो।

रिक्त कार्यकारी निर्देशक छनोट समितिले बुधबार सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जना उम्मेदवारको नाम मन्त्रालयसमक्ष सिफारिस गरेको छ। सिफारिस सूचीको १ नम्बरमा पर्साका उमेशकुमार गुप्ता रहेका छन् भने दोस्रो नम्बरमा चितवनका दिलिपराज पौडेल र तेस्रो नम्बरमा काठमाडौँका नवराज सापकोटा परेका छन्।

गुप्तालाई यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक नियुक्त गरेका थिए । गुप्तामाथि स्टार्टअप कर्जा वितरणमा ठूलो अनियमितता गरेको गम्भीर आरोप लागेको थियो। विवाद बढेपछि उद्योग मन्त्रालयले उनीमाथि छानबिन गर्न छुट्टै छानबिन समिति गठन गरेको थियो।

यसका साथै प्रतिष्ठानको विज्ञ रोस्टरमा कुनै मापदण्ड बिना स्वार्थ बाझिने व्यक्तिहरूलाई समावेश गरेपछि गुप्ता थप विवादित बनेका थिए। लगातार ५ वर्ष प्रतिष्ठानका विभिन्न जिम्मेवारीमा रहेका उनीविरुद्ध प्रतिष्ठानकै कर्मचारीहरूले निष्पक्ष छानबिनको माग गर्दै मन्त्रालयमा निवेदनसमेत दिएका थिए।

मन्त्रालयका उच्च पदाधिकारीहरूसँगको निकटताको फाइदा उठाउँदै गुप्ताले औपचारिक नियुक्ति हुनुअगावै प्रतिष्ठानका कर्मचारीहरूलाई दबाब दिन सुरु गरिसकेको प्रतिष्ठान स्रोतको भनाइ छ।

एक कार्यकाल पूरा गरिसकेका र वित्तीय अनियमितताका विभिन्न काण्डमा मुछिएका व्यक्तिलाई नै पुन: कार्यकारी निर्देशकको शीर्ष स्थानमा सिफारिस गरिएपछि छनोट समितिको निष्पक्षता र नियतमाथि मन्त्रालयभित्रैबाट प्रश्न उठ्न थालेको छ।