• २०८३ असोज १६
  • 2026 October 02, Friday

रास्वपा लक्षित श्रम संस्कृतिका सांसद राईको कटाक्ष- आफ्नो सरकार नढाल्नुहोला !

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै आफैँले आफ्नो सरकार नढाल्न आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिपक्षहरूको तर्फबाट राखिएका मागहरु सम्बोधन नगरिएको र अपमान गरिएको भन्दै अब तीन महिनापछि भेट हुदा आफैँले आफ्नो सरकार नढाल्नुहोला भनेका हुन् ।

उनले भने- ‘म आज दुःखका साथ सरकारका प्रमुखलगायत सरकारलाई भन्दैछु, फेरि अब ३ महिनापछि हाम्रो भेट होस्, तपाईँहरू आफैँले आफ्नो सरकार नढाल्नुहोला । फेरि पनि सम्पूर्ण प्रतिपक्षहरूको तर्फबाट हाम्रो मागलाई जे अपमान गरियो, अबको सुरु हुने सदनमा त्यस्तो नहोस्।’

आफूहरूले उठाएको प्रश्नको जवाफ सदनमा यो अधिवेशनमा प्रधानमन्त्रीबाट पाउन नसकेको बताए । उनले आफुहरुले सरकार प्रमुखलाई प्रश्न उठाएपनि त्यसको उत्तर नपाएको गुनासो गरे ।

उनले सदनबाट आफु रित्तै भोजपुरे जनताहरूको घरआँगनसम्म फर्किँन लागेको बताउदै सांसदको गन्तीमा मात्रै दुई तिहाइ नजिक हो भन्ने कुरा हेक्का राख्न चेतावनी दिए ।

उनले सरकारको यस्तै गतिविधि चलिरहे गत भदौ २३ र २४ को आन्दोलन दोहोरिनसक्ने चिन्ता व्यक्त गर्दै उनले भने- ‘मलाई त डर लागिरहेको छ, हिजो २३ र २४ को आन्दोलनतिर पुरानो दल भनिएको नेताहरूका गतिविधिको कारणले भ्रष्टाचार गर्‍यो, धेरै पैसा कमायो भनेर घरहरू जलेको थियो । अब हामीले हाम्रो घरहरू जोगाउन निकै मुस्किल पर्ला कि ! अहिलेसम्मको अधिवेशनको गतिविधिहरूमा मलाई त्यो लागिरहेको छ ।’