संयुक्त राज्य अमेरिकाका ग्रामीण समुदायहरूले आफ्नो वरपर एआई कम्प्युटिङ डाटा सेन्टर निर्माण हुन नदिनका लागि तीव्र संघर्ष गरिरहेका बेला केही ठूला प्रविधि कम्पनीहरूले भने स्थानीय विरोधलाई छल्न सकिने उपायबारे सोचिरहेका छन्।
यस्ता उपायहरुमध्येको प्रमुख उपाय हो- डाटा सेन्टरहरूलाई अन्तरिक्षमै पठाउने।
तर यो प्रविधिले काम गर्छ भन्ने कुनै ग्यारेन्टी छैन। यसबाहेक, डाटा सेन्टरहरूलाई पृथ्वीको कक्षमा पठाउनु आर्थिक रूपमा उपयुक्त हुन्छ कि हुँदैन भन्ने समेत ज्ञात छैन। तर गुगलले भने यसको सम्भावना परीक्षण गरिरहेको छ।
कम्पनीले आफ्नो प्रोजेक्ट सनक्याचर अन्तर्गत पहिलो परीक्षण उपग्रह प्रक्षेपण गर्न लागेको हो। यो परियोजना कक्षमा डाटा सेन्टर स्थापना गर्ने पहल हो। यसको प्रोटोटाइप बिहीबार क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसबाट स्पेसएक्सको फाल्कन ९ रकेटमार्फत ट्रान्सपोर्टर-१८ नामक राइडसेयर मिसनमा प्रक्षेपण गरिएको थियो।
अन्तरिक्षमा एआई चिप परीक्षण गरिएको यो पहिलो पटक भने होइन। तर गुगलको प्रयोगात्मक उपग्रह विशेष रूपमा कम्पनीका टेन्सर प्रोसेसिङ युनिट (टीपीयु) हरूले रकेटमा चढेर कक्षमा पुग्ने क्रममा हुने तीव्र झट्का तथा अन्तरिक्षको उच्च विकिरणयुक्त वातावरणको सामना गरेपछि कस्तो प्रदर्शन गर्छन् भन्ने पत्ता लगाउन बनाइएको हो।
गुगलका इन्टेलिजेन्ससम्बन्धी प्रविधिका वरिष्ठ निर्देशक ट्राभिस बिएल्सले एक प्रेस विज्ञप्तिमा भने, “यो पहिलो प्रक्षेपणको उद्देश्य भनेको के काम गर्छ भनेर हेर्नु, कहाँ समस्या आउँछ भनेर पहिचान गर्नु र ती निष्कर्षलाई भविष्यका मिसनमा प्रयोग गर्नु हो।”
गुगलले सन् २०२७ मा थप दुईवटा उपग्रह अन्तरिक्षमा पठाएर आफ्नो अनुसन्धान जारी राख्ने योजना बनाएको छ।
अझ बढी उन्नत मेसिन लर्निङ प्रविधि उत्पादन गर्ने दौडसँगै कम्प्युटिङ शक्तिको माग अत्याधिक बढेपछि डाटा सेन्टरहरूलाई अन्तरिक्षमा पठाउने प्रस्ताव गर्ने धेरै कम्पनीमध्ये गुगल पनि एक हो।
यस्तै अवधारणाले यसै वर्षको सुरुवातमा भएको स्पेसएक्सको कीर्तिमानी आईपीओलाई पनि केही हदसम्म प्रेरित गरेको थियो।
तर अझै धेरै कुरा प्रमाणित हुन बाँकी नै छन्। गुगलले प्रोजेक्ट सनक्याचरबारे बनाएको नयाँ भिडियो शृंखलामा उल्लेख गरे अनुसार पृथ्वीको कक्षको वातावरणमा समाधान गर्नुपर्ने धेरै प्राविधिक चूनौतीहरू कायम छन्।
अन्तरिक्षमा बढ्दो भीडभाड र उपग्रहहरू आपसमा ठोक्किने जोखिम पहिलेदेखिकै चिन्ताको विषय हो। डाटा सेन्टर समेत थपिँदा यो जोखिम अझ बढ्न सक्छ।
कम्प्युटिङका लागि अन्तरिक्षको विकिरणयुक्त वातावरणले ‘बिट फ्लिप’ भनिने डाटा त्रुटि पनि निम्त्याउन सक्छ। यसका साथै, उच्च ऊर्जाका कणहरूले लगातार प्रहार गरिरहँदा हार्डवेयरको आयु पनि सीमित हुन्छ।
पृथ्वीमै अन्तरिक्षको वातावरणको नक्कल गरेर गरिएको परीक्षण (क्यालिफोर्निया विश्वविद्यालय, डेविसको क्रोकर न्युक्लियर ल्याबोरेटरीमा गरिएको) मा गुगलका टीपीयु चिपहरूले उल्लेखनीय रूपमा राम्रो प्रदर्शन गरेको कम्पनीले जनाएको छ। तर कम्पनीका अनुसार केही कुरा अन्तरिक्षमै परीक्षण गर्न सकिने खाले छन्।
तर, विकिरण मात्र चूनौती होइन। अन्तरिक्षमा रहेका डाटा सेन्टरहरूले ताप कसरी बाहिर निकाल्ने भन्ने समस्या पनि सामना गर्नुपर्नेछ।
पृथ्वीमा यो प्रक्रिया सरल छ। यद्यपि यसले स्थानीय स्रोतमा दबाब पनि पार्छ, किनभने डाटा सेन्टरहरूले ‘कन्भेक्सन’ को सामान्य भौतिक सिद्धान्त प्रयोग गर्छन्। कूलिङ टावरहरूले पानी वाष्पीकरण गरेर ताप फैलाउन सक्छन्।
तर अन्तरिक्षको निर्वातमा यो उपाय काम गर्दैन, किनभने त्यहाँ यस प्रक्रियालाई सहयोग गर्ने हावाका अणुहरू हुँदैनन्।
त्यसैले एआई कम्प्युटिङका लागि बनाइने डाटा प्रशोधन उपग्रहहरूमा भित्र रहेका प्रशोधन चिपबाट ताप बाहिर निकाल्न ठूलो आकारका रेडिएटर आवश्यक पर्न सक्छन्।
गुगलले यो समस्या समाधान गर्न रेडिएटर र हिट पाइपको संयोजन परीक्षण गर्ने जनाएको छ। कम्पनीले थप कुरा सिक्दै जाँदा आफ्नो डिजाइन सुधार्दै जाने योजना बुनेको छ।
तर वास्तविक्ता के हो भने गुगलको हालको प्रोटोटाइप उपग्रहले कूलिङसम्बन्धी समस्या समाधान गर्न आवश्यक प्रविधिबारे धेरै प्रमाण नदिन सक्छ।
गुगलका एक प्रवक्ताले बताए अनुसार परीक्षणका लागि प्रयोग हुने यो यान (जसको मुख्य उद्देश्य कक्षमा टीपीयु चिपहरूले कस्तो काम गर्छन् भन्ने पुष्टि गर्नु हो) लाई प्रत्येक २० मिनेटमा बन्द गर्नुपर्नेछ। यसो गर्नुको मुख्य उद्देश्य त्यसलाई अत्याधिक तात्न नदिनु रहेको ती प्रवक्ताले स्पष्ट पारे।
टीपीयु चिपहरूले भविष्यमा सञ्चालनका लागि आवश्यक पर्न सक्ने जति धेरै शक्ति प्रयोग नगरे पनि तीनलाई बन्द गर्नु नै पर्नेछ। न्युयोर्क टाइम्सका अनुसार गुगलको परीक्षण उपग्रहले टीपीयुहरूलाई करिब १ किलोवाट मात्र विद्युत् उपलब्ध गराउनेछ।
यो हाल सञ्चालनमा रहेका दूरसञ्चार उपग्रहहरूले उत्पादन गर्ने शक्तिभन्दा निकै कम हो। पूर्ण रूपमा सञ्चालनमा आउने एआई डाटा सेन्टर उपग्रहलाई चाहिने शक्तिको तुलनामा त यो अझै सानो हो, फ्लोरिडाको सेन्ट पिटर्सबर्गस्थित परामर्शदाता कम्पनी क्विल्टी स्पेसका अनुसन्धान निर्देशक कालेब हेनरीले बताए।
हेनरीका अनुसार हाल सञ्चालनमा रहेका दूरसञ्चार उपग्रहहरूले करिब १० देखि २० किलोवाट विद्युत् प्रयोग गर्छन्। तर एआई कम्प्युटिङ गर्ने अन्तरिक्षयानलाई आवश्यक शक्ति १०० किलोवाटसम्म हुन सक्छ।
गुगलको अनुसन्धान टोलीले तयार पारेको र बिहीबार जअल नामक जर्नलमा प्रकाशित नयाँ शोधपत्रले पनि डाटा सेन्टर उपग्रहहरूले पृथ्वीमा रहेको सामान्य डाटा र्याकले उत्पादन गर्ने जति नै शक्ति (करिब ५० देखि १०० किलोवाट) उत्पादन गर्नुपर्ने पुष्टि गरेको छ।
गुगलले अर्को वर्ष पठाउने योजना बनाएका दुई परीक्षण उपग्रहले कति शक्ति उत्पादन गर्नेछन् वा तिनमा कस्तो ताप व्यवस्थापन उपकरण हुनेछ भन्ने स्पष्ट छैन। तर कम्पनीका प्रवक्ताले ती उपग्रहहरू अत्याधिक तात्न नदिन बन्द गर्नुपर्ने अवस्थाबिनै लगातार सञ्चालन गर्न सक्ने पुष्टि गरेका छन्।
महत्त्वपूर्ण कुरा के हो भने ती दुई प्रोटोटाइपले अर्को प्रमुख क्षमता अर्थात् लेजर सञ्चारमार्फत एकअर्काबीच डाटा पठाउने क्षमता पनि परीक्षण गर्न सक्छन् । यस्तो प्रविधि अझै प्रारम्भिक चरणमा छ र हालसम्म यसको ठूलो स्तरको प्रयोग स्पेसएक्सका स्टारलिंक उपग्रहहरूले मात्र प्रदर्शन गरेका छन्।
तैपनि, अन्तरिक्षमा आधारित डाटा सेन्टरसँग सम्बन्धित प्राविधिक समस्याहरू समाधान गर्न सकिने सम्भावना छ।
तर अन्य धेरै प्रश्नहरू पनि बाँकी छन्। तीमध्ये प्रत्येकले गुगलजस्ता प्रविधि कम्पनीहरूले पृथ्वीमा बनाउने डाटा सेन्टरको तुलनामा कक्षमा रहेका डाटा सेन्टरलाई आर्थिक रूपमा किफायती ठान्ने कि नठान्ने भन्नेमा असर पार्न सक्छ।
उदाहरणका लागि, एआई कम्प्युटिङ चिपहरू अन्तरिक्षमा राख्दा नयाँ र राम्रो प्रविधि उपलब्ध भएपछि हार्डवेयर अपग्रेड गर्न कठिन हुन्छ।
बजार विश्लेषण गर्ने कम्पनी जेएलएल रिसर्चले जुन महिनामा प्रकाशित गरेको रिपोर्टमा भने अनुसार एआई चिपहरू हरेक १-२ वर्षमा विकसित हुन्छन्, जबकि उपग्रहहरू ५-७ वर्षसम्म टिक्छन्, जसले गर्दा हार्डवेयर पुरानो हुने समस्या निरन्तरको चूनौतीका रुपमा बन्न पुग्छन्।
उक्त रिपोर्टका अनुसार कक्षमा आधारित डाटा सेन्टरहरू पृथ्वीमा रहेका डाटा सेन्टरभन्दा आकर्षक बन्ने एउटै प्रमुख अवस्था भनेको नयाँ उपग्रहहरू अन्तरिक्षमा पठाउने लागतमा ठूलो गिरावट आउनु हो।
तर प्रक्षेपण लागत घटिरहेको छैन। बरु, यो बढ्न सक्ने सम्भावना छ र आगामी दिनमा पनि बढिरहने अपेक्षा गरिएको छ।
यही ठाउँमा स्पेसएक्सलाई भने फाइदा छ। कम्पनीले आफ्नै रकेट निर्माण गर्छ र उपग्रह उत्पादन तथा अन्तरिक्ष कक्षमा प्रक्षेपणको परिमाणमा उद्योगको नेतृत्व गर्छ।
कक्षमा आधारित डाटा सेन्टरहरूको आकार निकै ठूलो हुन सक्छ। स्पेसएक्सले १० लाखसम्म एआई कम्प्युटिङ उपग्रह भएको एउटा समूह तैनाथ गर्ने योजना रहेको बताएको छ।
गुगलले प्रोजेक्ट सनक्याचरको समूह कति ठूलो बनाउने योजना बनाएको छ भन्ने बताएको छैन। तर सन् २०२५ को एउटा शोधपत्रले कम्पनीले यो प्रविधिलाई ८१ वटा उपग्रहका ‘क्लस्टर’ मा सञ्चालन गर्ने प्रस्ताव गरेको संकेत गरेको थियो।
पूर्ण रूपमा सञ्चालन हुने प्रणालीका लागि गुगलले कति क्लस्टर तैनाथ गर्नुपर्नेछ भन्ने अझै स्पष्ट नभएको कम्पनीका प्रवक्ताले बताए।
तर प्रवृत्ति र पूर्वानुमान परिवर्तन हुन सक्छन्। गुगलले भने आफूले लामो समयलाई ध्यानमा राखेर काम गरिरहेको बताएको छ।
गुगलले एक प्रेस विज्ञप्तिमा भनेको छ, “स्वचालित सवारीसाधन र क्वान्टम कम्प्युटिङसम्बन्धी प्रारम्भिक अनुसन्धानले व्यावहारिक प्रणालीसम्म पुग्नुअघि वर्षौँको प्रयोग आवश्यक परेझैँ, अन्तरिक्षमा कम्प्युटिङको सम्भावना खोज्ने काम पनि मापन गरिएका र योजनाबद्ध कदमबाट सुरु हुन्छ।”
यस परियोजनाको गुगल साझेदार तथा सान फ्रान्सिस्कोमा आधारित अनुभवी उपग्रह सञ्चालक प्लानेट ल्याब्सले पनि यस्तै दीर्घकालीन प्रतिबद्धता देखाएको छ।
गुगलसँगको साझेदारीबारे आम्दानीसम्बन्धी छलफलका क्रममा सोधिएको प्रश्नको जवाफ दिँदै प्लानेट ल्याब्सका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत विल मार्शलले भने, “दीर्घकालमा यो निकै व्यवहारिक परियोजना हो भन्ने मलाई लाग्छ। यसका लागि ठूलो मात्रामा अनुसन्धान तथा विकास (आरएण्डडी) खर्च आवश्यक पर्नेछ र यी कम्पनीहरू यसमा पैसा लगानी गर्न तयार हुनेछन्।”
(सीएनएनबाट)