बागलुङ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवा कृषि अभियन्ता सुजन सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बागलुङ क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। उनले अत्यधिक मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिको जिम्मेवारी हासिल गरेका हुन्।
नेपाल विद्यार्थी संघमा विगत १५ वर्षदेखि सक्रिय सापकोटाले पोखरास्थित पुरञ्चौर कृषि क्याम्पसको सभापति, कृषि तथा वन विज्ञान विश्वविद्यालय समन्वय समितिको नेतृत्व हुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।
राजनीतिसँगै कृषि क्षेत्रलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउँदै आएका सापकोटाले पछिल्ला तीन वर्षदेखि बागलुङमा ‘बाँझो नराखौँ खेतबारी’, ‘Green Baglung Movement’ तथा ‘Plant Distribution Movement’ लगायतका अभियान सञ्चालन गर्दै आएका छन्।
कृषि उत्पादन वृद्धि, बाँझो जमिनको उपयोग, किसानलाई प्राविधिक सहयोग तथा वातावरण संरक्षणलाई केन्द्रमा राखेर सञ्चालन गरिएका उनका अभियानमार्फत बागलुङका विभिन्न क्षेत्रमा किसान तथा विद्यार्थीलाई कृषि प्रविधि, बिरुवा तथा प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको बताइएको छ।
विद्यार्थी राजनीतिबाट स्थापित हुँदै कृषि अभियन्ताका रूपमा समेत आफ्नो पहिचान बनाएका सापकोटाको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा भएको निर्वाचनलाई युवा पुस्ताको राजनीतिक सहभागिता र कृषि मुद्दालाई राजनीतिसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि सापकोटाले युवाको नेतृत्वदायी भूमिका, कृषि उद्यमशीलता, रोजगारी सिर्जना र बागलुङको कृषि विकासका विषयलाई थप प्राथमिकताका साथ उठाउने बताएका छन्।