• २०८३ असोज २१
  • 2026 October 07, Wednesday

६० प्रतिशत उपत्यकावासीलाई थाहा छैन वायु गुणस्तर कसरी जाँच्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणप्रतिको जनचासो उच्च रहे पनि भरपर्दो सूचना र प्रविधिको प्रयोगमा भने ठूलो खाडल देखिएको छ। नवस्थापित गैर-नाफामूलक संस्था ‘ताजा इनिसिएटिभ नेपाल’ ले सार्वजनिक गरेको सर्वेक्षण अनुसार, उपत्यकाका ८१.२ प्रतिशत बासिन्दाले यहाँको वायुलाई स्वास्थ्यका लागि हानिकारक माने पनि वायु गुणस्तर जाँच्ने ९४.१ प्रतिशत मानिसहरू आधिकारिक डेटाको सट्टा आफ्नै इन्द्रिय (गन्ध, दृश्यता र आँखामा हुने जलन) मा भर पर्ने गरेका छन्।

काठमाडौँ उपत्यकाका १,२०० जना बासिन्दामाझ गरिएको सो सर्वेक्षणका अनुसार समग्रमा ५२.३ प्रतिशत बासिन्दाले आफ्नो क्षेत्रको वायु गुणस्तरलाई खराब वा अति खराब मूल्याङ्कन गरेका छन्।

कुन क्षेत्रका बासिन्दा बढी असन्तुष्ट?

सहरी क्षेत्रका बासिन्दामा वायु प्रदूषणप्रतिको नकारात्मक धारणा उच्च पाइएको छ:
ललितपुर : ६०.९%
काठमाडौँ : ५९.२%
भक्तपुर : ५६.०%
उत्तरी काठमाडौँ : ३५.९%

शैक्षिक स्तर र प्रविधि प्रयोगमा भिन्नता

वायु गुणस्तर कसरी जाँच्ने भन्ने ज्ञान शैक्षिक स्तर अनुसार फरक पाइएको छ। प्राथमिक वा सोभन्दा कम शिक्षा भएका १०.८ प्रतिशतले मात्र वायु गुणस्तर मापनबारे थाहा भएको बताएका छन् भने स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहका ६३.० प्रतिशतमा यो ज्ञान छ।

डिजिटल माध्यमबाट वायु प्रदूषण ट्र्याक गर्ने १८ देखि २४ वर्षका युवाहरूमध्ये ६०.३ प्रतिशतले वेबसाइट र ४२.५ प्रतिशतले मोबाइल एप प्रयोग गर्ने गरेका छन्। यद्यपि, यो तथ्याङ्क समग्र १८–२४ उमेर समूहको क्रमशः १४.१% र १०.०% मात्र हो।

प्रदूषणका मुख्य कारण र सरकारी प्रयासप्रति असन्तुष्टि

सर्वेक्षणमा सहभागी ९८.६ प्रतिशतले सवारी साधनको धूवाँ र ९४.८ प्रतिशतले सडक निर्माणको धूलोलाई वायु प्रदूषणको मुख्य कारक मानेका छन्।

यस्तै, प्रदूषण नियन्त्रणमा सरकारी प्रयासप्रति ७०.४ प्रतिशत बासिन्दाले असन्तुष्टि व्यक्त गरेका छन्। प्रदूषण न्यूनीकरणका लागि:

७९.९% ले सार्वजनिक यातायातको विस्तार र विद्युतीय सवारी (इलेक्ट्रिक मोबिलिटी) को समर्थन गरेका छन्।

७१.५% ले कडा धूलो नियन्त्रण र सहरी हरियाली प्रवर्द्धनको पक्षमा मत दिएका छन्।

आफ्नो बचाउका लागि ८२.० प्रतिशत उत्तरदाताले सर्जिकल मास्क वा स्कार्फ प्रयोग गर्ने गरे पनि ४३.४ प्रतिशतले कुनै पनि व्यक्तिगत कदम नचालेको बताएका छन्।

प्रदूषणका कारण बसाइँसराइको दबाब पनि बढेको देखिएको छ। उपत्यका छाड्ने सोचमा रहेका ७.२ प्रतिशत मानिसमध्ये ३९.१ प्रतिशतले खराब वायु गुणस्तरलाई मुख्य कारणका रूपमा औँल्याएका छन्, जुन आर्थिक दबाब र महँगी (४७.८%) पछिको दोस्रो ठूलो कारण हो।

सूचनाको खाडल मेटाउने प्रतिबद्धता

ताजा इनिसिएटिभ नेपालकी कार्यकारी निर्देशक रोशनी गिरीले बासिन्दाहरू प्रदूषणबारे सचेत भए पनि प्रविधि र विज्ञानको सट्टा आफ्नै इन्द्रियमा भर पर्न बाध्य भएको बताइन्। “पाँचमध्ये चार जनाले हावा हानिकारक छ भन्छन्, तर दशमध्ये छ जनालाई प्रदूषण स्तर कसरी जाँच्ने भन्ने नै थाहा छैन,” उनले भनिन्।

संस्थाले उपत्यकाभर वायु गुणस्तर अनुसन्धान विस्तार गर्ने, पहुँचयोग्य डेटा प्लेटफर्महरू निर्माण गर्ने र वायु गुणस्तर साक्षरता कार्यक्रमहरूमार्फत यो सूचनाको खाडल पूर्ति गर्ने प्रतिबद्धता जनाएको छ।