बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
शुक्रबार बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार ठोक्किएका हुन् ।
दुर्घटनामा कोहलपुरबाट काठमाडौं आउँदै गरेको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ । उपचारका क्रममा बिहान १०: ०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ। घाइते चालक ४५ वर्षीय नरेन्द्रबहादुर शाहीको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ ।
अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न अर्को कारका चालक करिब ४० वर्षीय सम्राट नाथ योगीलाई चोटपटक लागेको छैन । उनलाई इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण अवरुद्ध सडक बिहान १०ः१५ बजे पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।