काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले विजयी शुरुवात गरेको छ ।
सोमबार सम्पन्न तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा शानदार शुरुवात गरेको हो । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछाएको लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
लुम्बिनीका लागि डिआर्ची शर्टले ४० रन बनाए भने आसिफ सेखले ३२ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर अनिल खरेलले २ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले १७.२ ओभरमा अल आउट हुदै ८७ रन मात्र बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक २७ रन बनाए भने अनिल खरेलले १५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले योगदान दिन नसक्दा सस्तैमा समेटिएको थियो ।
सुदूरपश्चिमको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा लुम्बिनीका किशोर महतोले ४ विकेट लिएका थिए भने शेर मल्लले ३ विकेट लिएका थिए । त्यस्तै तिलक भण्डारी, रोहित पौडेल र शाडली भान स्कालक्वीकले एक एक विकेट लिएका थिए ।
अब एनपीएलको दोस्रो दिन मंगलबार दुई खेल हुने तालिका छ । मंगलबार पहिलो खेल अपराहन्न साढे १२ बजे बिराटनगर किंग्स र चितवन राइनोजबीच हुने छ भने दोस्रो खेल साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुने तालिका छ ।