इजरायलको आम निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टी सबैभन्दा ठूलो दल बन्ने देखिए पनि सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत कुनै पनि पक्षले प्राप्त गर्न सकेको छैन। प्रारम्भिक मतगणना र एक्जिट पोलका नतिजाले देशको आगामी राजनीतिक नेतृत्वबारे अन्योल बढाएको छ।
इजरायली संसद् नेसेटका १२० सिटका लागि मंगलबार भएको निर्वाचनमा आधाभन्दा बढी मत गणना भइसकेको प्रारम्भिक विवरणले नेतन्याहुको दक्षिणपन्थी गठबन्धन बहुमतका लागि आवश्यक ६१ सिटभन्दा पछाडि रहेको देखाएको छ। अर्कोतर्फ, नेतन्याहुलाई सत्ताबाट हटाउने लक्ष्यसहित अघि बढेको विपक्षी खेमाले पनि सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन सकेको छैन।
च्यानल १२ र येनेटका प्रारम्भिक प्रक्षेपणअनुसार नेतन्याहुको गठबन्धनले करिब ५५ सिट प्राप्त गर्ने देखिएको छ। पूर्वसेनाप्रमुख गादी आइजेनकोट नेतृत्वको विपक्षी खेमाले भने करिब ६५ सिटसम्म पुर्याउन सक्ने अनुमान छ। आइजेनकोटको याशार पार्टी विपक्षी खेमाको सबैभन्दा ठूलो दल बन्ने देखिएको छ। उसले करिब २१ सिट जित्न सक्ने प्रक्षेपण गरिएको छ।
तर, यी प्रारम्भिक अनुमान हुन्। मतगणना पूरा नभइसकेकाले अन्तिम परिणाम फरक पर्न सक्ने विश्लेषकहरूले बताएका छन्। दक्षिणपन्थी प्रभाव बलियो रहेका क्षेत्रको मत सुरुमा बढी गणना भएकाले प्रारम्भिक नतिजाले नेतन्याहुको पक्षलाई केही अनुकूल देखाएको विश्लेषण छ।
सबैभन्दा ठूलो दल बने पनि नेतन्याहुलाई चुनौती
निर्वाचन परिणामले नेतन्याहुको राजनीतिक भविष्यबारे तत्कालै स्पष्ट निर्णय दिएको छैन। उनको लिकुड पार्टी सबैभन्दा ठूलो दल बन्ने देखिए पनि गठबन्धनका सहयोगी दलसहित बहुमत पुर्याउन कठिन देखिएको छ।
निर्वाचनपछि समर्थकहरूलाई सम्बोधन गर्दै नेतन्याहुले दक्षिणपन्थी खेमाले यहुदी तथा जायोनिस्ट जनमतमा निर्णायक समर्थन पाएको दाबी गरे। उनले इजरायलमा बलियो दक्षिणपन्थी राष्ट्रिय सरकार गठन हुनुपर्ने बताए।
उनले अरब दलहरूको समर्थनमा सरकार गठन गर्नु देशको सुरक्षाका लागि उपयुक्त नहुने आशय व्यक्त गरे। तर, उनले आफूले स्पष्ट विजय हासिल गरेको घोषणा भने गरेनन्।
यस निर्वाचनअघि नेतन्याहु नेतृत्वको गठबन्धनसँग संसद्मा ६८ सिट थियो। प्रारम्भिक प्रक्षेपण सही साबित भए उनको गठबन्धनको शक्ति उल्लेख्य रूपमा घट्नेछ।
आइजेनकोटको दाबी- जनताले परिवर्तन रोजे
नेतन्याहुका प्रमुख प्रतिस्पर्धी तथा पूर्वसेनाप्रमुख आइजेनकोटले निर्वाचन परिणामले सरकार परिवर्तनको पक्षमा जनमत देखाएको दाबी गरेका छन्।
तेल अभिभस्थित पार्टी मुख्यालयमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले जनताले परिवर्तनका पक्षमा मतदान गरेको र नेतन्याहु नेतृत्वको सरकारप्रति विश्वास गुमाएको बताए। उनले नेतन्याहुले जनमतको सन्देश स्वीकार गर्दै राजनीतिबाट अलग हुनुपर्ने धारणा पनि राखे।
तर, नेतन्याहुलाई सत्ताबाट हटाउने पक्षमा रहेका दलहरूबीच वैचारिक तथा राजनीतिक मतभेद छन्। दक्षिणपन्थी, मध्यमार्गी र वामपन्थी दलका साथै यहुदी र अरब समुदायको प्रतिनिधित्व गर्ने दलहरूलाई एउटै गठबन्धनमा समेट्नु आइजेनकोटका लागि मुख्य चुनौती हुनेछ।
विपक्षी दलहरूको सम्भावित सिट संख्या बहुमतभन्दा माथि देखिए पनि सबै दलबीच सरकार गठनका विषयमा सहमति जुट्ने निश्चित छैन।
अरब दलको बढ्दो प्रभाव
यस निर्वाचनमा इजरायलको अरब समुदायको मतदानले पनि विशेष ध्यान खिचेको छ। इजरायलको कुल जनसंख्याको करिब २० प्रतिशत हिस्सा ओगट्ने अरब समुदायले यसपटक उल्लेखनीय सहभागिता जनाएको बताइएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान ७७.७ प्रतिशत पुगेको छ, जुन सन् १९९९ यताकै उच्च सहभागिता हो। अरब दलहरूले आफ्नो समुदायमा पनि मतदान उल्लेख्य रूपमा बढेको बताएका छन्।
प्रारम्भिक अनुमानअनुसार अरब नेतृत्वका दलहरूले संयुक्त रूपमा करिब १६ देखि १९ सिटसम्म जित्न सक्ने देखिएको छ। यो उनीहरूको अघिल्लो प्रदर्शनको तुलनामा सुधारिएको परिणाम हुन सक्छ।
अरब समुदायका धेरै मतदाताले नेतन्याहु नेतृत्वको दक्षिणपन्थी सरकारलाई पराजित गर्ने उद्देश्यले मतदान गरेको विश्लेषण गरिएको छ। विशेषगरी अरब बस्तीहरूमा बढ्दो अपराध, हत्या तथा सुरक्षा चुनौतीलाई लिएर सरकारको आलोचना हुँदै आएको छ।
अरब दलहरूको समर्थन प्राप्त भए आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सक्ने सम्भावना रहन्छ। तर, विपक्षी खेमाका सबै दल अरब दलसँग सहकार्य गर्न तयार छैनन्। अर्कोतर्फ, आइजेनकोटले सम्भावित गठबन्धनका साझेदारहरूका लागि इजरायललाई यहुदी राज्यका रूपमा स्वीकार गर्ने र हमासलाई आतंकवादी संगठनका रूपमा लिने जस्ता सर्त अघि सारेका छन्। यस्ता सर्तमा अरब दलहरूको सहमति जुटाउन कठिन हुन सक्छ।
त्यसैले अरब दलहरू नेतन्याहुको बहुमत रोक्ने शक्तिका रूपमा देखिए पनि विपक्षीलाई सरकार गठन गर्न सहयोग पुर्याउने विषय अझै अनिश्चित छ।
अन्तिम परिणामका लागि केही दिन कुर्नुपर्ने
इजरायलको संसदीय प्रणालीमा कुनै एक दलले मात्रै बहुमत हासिल गर्नु दुर्लभ छ। त्यसैले सरकार गठनका लागि विभिन्न दलबीच गठबन्धन निर्माण गर्नु आवश्यक हुन्छ। सबै १२० सिटको अन्तिम परिणाम आएपछि पनि सरकार गठनको प्रक्रिया राजनीतिक वार्ता र सहमतिमा निर्भर रहनेछ।
निर्वाचनको आधिकारिक मतगणना सुरु भइसकेको भए पनि अन्तिम परिणाम आउन केही दिन लाग्न सक्ने बताइएको छ। त्यसपछि कुन दलले कसलाई समर्थन गर्छ र कुन गठबन्धनले संसद्मा बहुमत जुटाउँछ भन्ने विषयले इजरायलको आगामी नेतृत्व निर्धारण गर्नेछ।
हालको अवस्थाले नेतन्याहुको सत्तामा निरन्तरताको सम्भावना पूर्ण रूपमा समाप्त नभएको देखाउँछ। तर, लिकुड सबैभन्दा ठूलो दल बनेकै आधारमा उनले सरकार गठन गर्न सक्ने अवस्था पनि छैन। विपक्षी खेमाले पनि आन्तरिक मतभेद समाधान गरी आवश्यक समर्थन जुटाउन सके मात्रै सत्ता परिवर्तन सम्भव हुनेछ।