• २०८३ कात्तिक १५
  • 2026 October 31, Saturday

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित, संस्थाको नाममा गतिविधि गर्न रोक

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को व्यवस्था प्रयोग गर्दै शुक्रबार सार्वजनिक सूचना जारी गरी संस्थामाथि निलम्बनको निर्णय लिएको हो।

मन्त्रालयका अनुसार एन–प्याब्सनले सरकारबाट पटक–पटक जारी गरिएका निर्देशन पालना नगर्नुका साथै संस्थाका पदाधिकारीबाट स्वीकृत विधान र संगठनको मूल उद्देश्यसँग मेल नखाने गतिविधि सञ्चालन भएका छन्। यही कारण संस्थालाई निलम्बन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

यसअघि मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी कानुनी प्रावधान तथा २०८२ मंसिर १२ गते जारी गरिएको निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो। तर, त्यसपछि पनि निर्देशन कार्यान्वयन नभएको भन्दै मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको हो।

राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ अन्तर्गत जारी निर्देशनको अवज्ञा भएको ठहर गर्दै ऐनको दफा ६ को उपदफा (२) बमोजिम निलम्बनको निर्णय गरिएको मन्त्रालयको सूचनामा उल्लेख छ।

निलम्बनसँगै एन–प्याब्सनको नाम प्रयोग गरेर कुनै पनि समूह वा गुटले संगठनका गतिविधि सञ्चालन गर्न नपाउने मन्त्रालयले स्पष्ट पारेको छ। निर्णयपछि पनि संस्थाको नाममा गतिविधि गरेको पाइएमा त्यस्ता कार्यलाई गैरकानुनी मानिने र सम्बन्धित पक्षमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।