काठमाडौं । समाचार लेखेकै आधारमा पत्रकारहरूलाई पक्राउ तथा धरपकड गरिएको भन्दै नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले सरकारको कदमको निन्दा गरेकी छन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै संग्रौलाले समाचारमा चित्त नबुझे खण्डन गर्ने, उजुरी गर्ने वा कानुनी उपचार खोज्ने वैधानिक बाटो हुँदाहुँदै पत्रकारलाई पक्राउ गर्ने, धम्क्याउने र प्रहरी कार्यालयमा बोलाएर केरकार गर्ने कार्य अस्वीकार्य रहेको बताएकी छन् ।
उनले सञ्चारकर्मीलाई धम्क्याउने, सादा पोसाकका प्रहरी समाचार कक्षमा पठाउने तथा दबाब दिने गतिविधिले सरकारको अलोकतान्त्रिक चरित्र उजागर गरेको टिप्पणी गरेकी छन् ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार भएको उल्लेख गर्दै उनले यो अधिकार कसैको निगाहमा प्राप्त नभई दशकौँ लामो संघर्षको उपलब्धि भएको बताएकी छन् ।
महामन्त्री संग्रौलाले पक्राउ परेका सम्पूर्ण पत्रकारलाई तत्काल रिहा गर्न तथा संविधानको मर्मअनुरूप प्रेस स्वतन्त्रताको सम्मान र प्रत्याभूति गर्न सरकारसँग जोडदार माग गरेकी छन् ।
यस्ता गतिविधिबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार वर्तमान सरकार नै हुने चेतावनी दिँदै उनले नेपाली कांग्रेसले पत्रकारमाथिको धरपकडको विरोध गर्ने स्पष्ट पारेकी छन् ।