काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ। बैंकले वार्षिकोत्सवको अवसरमा डिजिटल कर्जा (फोन लोन), बाइ नाउ पे लेटर (BNPL), क्रेडिट कार्ड तथा अनलाइन लोन एप्लिकेसन पोर्टलसमेत शुभारम्भ गरेको छ।
बैंकको ९०औँ वार्षिकोत्सव समारोह अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। समारोहको अध्यक्षता बैंक सञ्चालक समितिका सदस्य बद्री खनालले गरेका थिए।
कार्यक्रममा अर्थमन्त्री वाग्लेले बैंकका नयाँ डिजिटल सेवाहरूको शुभारम्भ गर्दै उत्पादनशील क्षेत्र, कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला उद्योगमा कर्जा लगानी विस्तार गर्न बैंकलाई आग्रह गरे।
उनले संस्थागत सुशासन, वित्तीय अनुशासन, डिजिटल रूपान्तरण र वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न थप पहल गर्नुपर्नेमा जोड दिए।
बैंकका अनुसार हाल देशभर २३० वटा शाखा, २५० वटा एटीएम तथा ५७ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान हुँदै आएको छ। बैंकले २९ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
त्यस्तै, प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यअनुरूप बैंकका करिब १६ लाख ग्राहक डिजिटल सेवाबाट लाभान्वित भएका छन्। बैंकले अन्तर्राष्ट्रियस्तरको बैंकिङ प्रविधिमार्फत सेवा प्रदान गर्दै आएको र छिटोछरितो, गुणस्तरीय तथा गुनासोरहित ग्राहक सेवा आफ्नो प्राथमिकतामा रहेको जनाएको छ।
वार्षिकोत्सवका अवसरमा बैंकले २५ वर्ष सेवा गरेका तीन जना र २० वर्ष सेवा गरेका १० जना कर्मचारीलाई दीर्घसेवा कदरस्वरूप पदक तथा प्रशंसापत्र प्रदान गरेको थियो। त्यसैगरी, प्रादेशिक तथा भौगोलिक वर्गीकरणका आधारमा उत्कृष्ट उपलब्धि हासिल गर्ने १२ शाखालाई पुरस्कृत गरिएको थियो।
प्राकृतिक विपत्तिका प्रतिकूल अवस्थामा समेत बैंकिङ सेवा सुचारु राखेका त्रिशूली र धुने शाखालाई सम्मान गरिएको थियो। साथै, विषम परिस्थितिमा बैंकको सम्पत्ति साहसपूर्वक संरक्षण गर्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई कदरपत्र प्रदान गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले स्वागत मन्तव्य राखेका थिए। बैंकले वार्षिकोत्सवलाई आगामी दिनमा अझ जिम्मेवार, प्रभावकारी र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिएको जनाएको छ।