(यो अनुसन्धानमूलक समाचार विश्वभरका खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय समूह इनसाइड डोयचे बैंकले तयार पारेको हो। इनसाइड डोयचे बैंकसँग सम्बन्धित चुहावट भएका आन्तरिक कागजात भारतीय लेखक तथा पत्रकार जोसी जोसेफ र दक्षिण अफ्रिकी खोज पत्रकार खदिजा शरीफले प्राप्त गरेका थिए। यो अनुसन्धान दक्षिण अफ्रिकाको बाराकुडा मिडिया एनपीसीले जर्मनीको डाटा एन्ड रिसर्च सेन्टर (डीएआरसी) को प्राविधिक सहयोगमा समन्वय गरेको थियो।)
सन् २०२२ को जनवरीमा विश्व नयाँ वर्षको सुरुवातसँगै सामान्य अवस्थामा फर्किंदै गर्दा जर्मनीको फ्र्यांकफर्टस्थित डोयचे बैंकको मुख्यालयमा एउटा समितिले बैंकको प्रतिष्ठामा असर पार्न सक्ने कारोबारहरू अघि बढाउने कि नबढाउने भन्ने विषयमा छलफल गर्ने तयारी गरिरहेको थियो।
जनवरी १२ मा हुने बैठकको कार्यसूचीमा जर्मनीको रक्षा सामग्री निर्माता कम्पनी रेन्क जीएमबीएचलाई ११४ लाख युरोको अग्रिम भुक्तानी प्रत्याभूति (एड्भान्स पेमेन्ट ग्यारेन्टी) दिने प्रस्ताव पनि समावेश थियो। उक्त रकम इजरायलको रक्षा मन्त्रालयसँग भएको सन् २०२७ सम्म चल्ने सम्झौता कार्यान्वयन गर्न प्रयोग गरिने थियो।
रेन्कले आफ्ना मर्काभा ४ ट्यांकका लागि गियरबक्स निर्माण गर्नुपर्ने थियो। ती गियरबक्सको पहिलो खेप सन् २०२४ को सेप्टेम्बरमा उपलब्ध गराउने योजना थियो।
उक्त कारोबारको मूल्याङ्कन गरिएको एउटा कागजात सन् २०२१ को डिसेम्बर १६ देखि नै डोयचे बैंकका निर्णयकर्ताहरूको टेबुलमा थियो।
बैंकका एक सहायक जनरल काउन्सिल (कानुनी सल्लाहकार) पनि आफ्नो धारणा दिने व्यक्तिहरूमध्ये थिए। उनको विचारमा उक्त कारोबारमा ‘सामान्य प्रकारको व्यापार वित्तीय उत्पादन’ समावेश थियो, जसले आफैँमा उल्लेखनीय प्रतिष्ठागत जोखिम निम्त्याउँदैनथ्यो। उनले उक्त कारोबार सार्वजनिक हुने सम्भावना पनि ‘निकै कम’ रहेको बताए।
तर, डोयचे बैंकको तर्फबाट कुनै इजरायली बैंकमार्फत वित्तीय प्रत्याभूति जारी गर्न सकिए जोखिम अझै कम हुने उनको भनाइ थियो।
उनले थपे, जर्मनीको सैन्य हतियारसम्बन्धी कानुनअनुसार ती गियरबक्सलाई हतियार मानिँदैन र रेन्कले तिनको निर्यातका लागि आवश्यक अनुमति प्राप्त गर्नेछ।
उनले भने, “म यो कारोबारको समर्थन गर्छु।” त्यसपछि उक्त कारोबार अघि बढाइयो।
मर्काभा ४ ट्यांक र सर्वसाधारणमाथि आक्रमण
दुई वर्षपछि, सन् २०२४ को जनवरीमा छ वर्षीया प्यालेस्टिनी बालिका हिन्द रजब आपत्कालीन उद्धार सेवामा फोन गरेर आफूलाई बचाउन बिन्ती गरिरहेकी थिइन्। गाजामा इजरायली आक्रमणबाट बच्न हिन्द र उनका परिवारका छ जना सदस्य चढेको गाडीमाथि गोली प्रहार भएको थियो। त्यसबेलासम्म उनी मात्रै जीवित थिइन्।
सुरक्षित रूपमा उद्धार गर्न बाटो खुलाउने विषयमा घण्टौँसम्म वार्ता भएपछि ती बालिकालाई बचाउन जाँदै गरेको एम्बुलेन्स टोलीलाई बाटोमै रोकियो। उद्धारकर्मी, हिन्द र उनका परिवारका सदस्यहरूको शवसम्म पुग्न पनि केही दिन लाग्यो। परिवारले प्रयोग गरेको गाडीमा कुल ३३५ वटा गोलीका प्वाल भेटिएका थिए।
इजरायली सरकारले सुरुमा घटनास्थलमा आफ्ना कुनै पनि सेना उपस्थित नरहेको बताएको थियो। पछि भने गोलीका प्वालहरू दुई पक्षबीचको दोहोरो गोली हानाहानका कारण बनेको दाबी गर्यो।
तर, लन्डन विश्वविद्यालयअन्तर्गत गोल्डस्मिथ्समा रहेको अनुसन्धान समूह फोरेन्सिक आर्किटेक्चरले उपग्रहबाट प्राप्त तस्बिर र घटनाको अडियो विश्लेषण गर्दा घटनास्थलमा इजरायली रक्षा बल (आईडीएफ) मात्रै उपस्थित रहेको निष्कर्ष निकालेको थियो।
अक्टोबर २०२५ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पेस गरिएको निवेदनमा हिन्द रजब फाउन्डेसनले ती ट्यांक मर्काभा ४ रहेको आरोप लगाएको थियो। रजबलाई उद्धार गर्ने प्रयास गरेको एम्बुलेन्स टोलीका अवशेषमध्ये ट्यांकबाट प्रहार गरिएको एउटा गोला पनि भेटिएको थियो।
सुरुमा आईडीएफले घटनाको समयमा आफूहरू उक्त क्षेत्रमा नरहेको बताएको थियो। त्यसपछि भने उसले उक्त क्षेत्रमा “आतंकवादी लक्ष्यहरूमाथि कारबाही गरेको” जनाएको थियो।
अगस्ट १९, २०२६ मा घटनाको दुई वर्षभन्दा बढी समयपछि आईडीएफले आफ्ना सैनिकहरूले रजब सवार गाडीका साथै उनलाई उद्धार गर्न गएको एम्बुलेन्समाथि पनि गोली चलाएको स्वीकार गर्यो।
आईडीएफले गोली प्रहारको दोष प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) को एम्बुलेन्सको आवागमन समन्वयमा भएको ‘कमजोरी’ लाई लगायो। तर पीआरसीएसले उक्त दाबी अस्वीकार गर्यो। आईडीएफले घटनाबारे आपराधिक अनुसन्धान गरिने बताएको थियो।
डोयचे बैंकको प्रतिष्ठा समीक्षा समितिले उक्त कारोबारलाई समर्थन गरेको सन् २०२२ को जनवरीपछि सर्वसाधारणमाथि मर्काभा ट्यांक प्रयोग भएको यो पहिलो अभिलेखित घटना थिएन। गाजामा मुख्य रूपमा प्रयोग हुने मर्काभा ट्यांकहरू यसअघि पनि सर्वसाधारणमाथि प्रयोग भएका घटनाहरू सार्वजनिक भएका थिए।
मर्काभा ट्यांकसँग सम्बन्धित चर्चित घटनाहरूमध्ये सन् २०२३ को नोभेम्बरमा गाजाको अल शिफा अस्पतालमा गरिएको घेराबन्दी र गाजामा भोकमरी चर्किंदै गएको बेला सन् २०२५ को जुनमा अल तह्लिया चोकमा खाद्यान्न सहायता पर्खिरहेका सर्वसाधारणमाथि गरिएको घातक आक्रमण प्रमुख छन्।
यो घटना रेन्कका नयाँ गियरबक्स उपलब्ध गराउने भनिएको मितिभन्दा करिब नौ महिनापछि र आईडीएफले ती गियरबक्स ट्यांकमा जडान गर्न तयार पारिँदै गरेको तस्बिर सार्वजनिक गरेको एक महिनापछि भएको थियो।
४३ वर्षीय सुफियान कावारेहसँग खान युनिसको पूर्वी क्षेत्रमा रहेको राहत सामग्री वितरण मार्गमा जानुबाहेक अर्को विकल्प थिएन। उनी दक्षिणी गाजाको उक्त क्षेत्रमा पीठो बोकेका ट्रकको प्रतीक्षामा रहेका भीडमा सामेल भएका थिए।
कावारेह र हजारौँ भोकाएका मानिस ट्रक आउने प्रतीक्षामा बसेको ‘अल तह्लिया’ चोकमा इजरायली मर्काभा ट्यांकबाट प्रहार गरिएका गोलाहरू खसे।
कावारेहलाई आफ्नो खुट्टाबाट ‘फलामको आराले काटेजस्तो’ महसुस भयो र केही समयमै उनी ढले। एक सातासम्म पीडा सहनुपरेपछि चिकित्सकहरूले उनको ज्यान बचाउन खुट्टा काटिदिए।
अल तह्लिया घटनामा घाइते भएका ४० वर्षीय खालिद वालिदले मर्काभा ४ ट्यांकले भीडमाथि गोली प्रहार गरेको सम्झिए। उनका अनुसार उक्त ट्यांक इजरायली सेनाले प्रयोग गर्ने अन्य ट्यांकभन्दा सजिलै छुट्याउन सकिन्थ्यो।
उनले अन्तर्वार्तामा भने, “त्यसमा एउटा बुर्ज, तोप, मेसिन गन र ट्यांकको शरीर वरिपरि धातुका संरचनाहरू थिए।”
प्यालेस्टिनी अधिकारीहरूका अनुसार उक्त घटनामा राहत सामग्रीको प्रतीक्षामा रहेका कम्तीमा ५९ जनाको मृत्यु भएको थियो।
आईडीएफले आफ्ना सैनिकनजिकै रोकिएको एउटा सहायता ट्रकको वरिपरि भीड जम्मा भएको बताएको थियो। घटनाको विवरण समीक्षा भइरहेको र “यस घटनामा संलग्न नरहेका व्यक्तिहरूलाई कुनै क्षति पुगेको भए त्यसप्रति दुःख व्यक्त गर्ने” पनि उसले जनाएको थियो।
अल तह्लिया चोकमा भएको आक्रमणका घाइतेहरूको उपचार गरेको नासेर मेडिकल कम्प्लेक्स अस्पताल पनि केही महिनापछि, अगस्ट २५, २०२५ मा मर्काभा ट्यांकको गोलाबारीको निशानामा परेको थियो। उक्त आक्रमणमा रोयटर्सका पत्रकार हुशाम अल मास्रीको मृत्यु भएको थियो।
प्रत्यक्षदर्शी तथा पत्रकार ओसामा हिशामका अनुसार उद्धारकर्मी र पत्रकारहरू घटनास्थलमा पुगेपछि त्यही ट्यांक फर्केर आयो र अस्पतालमा फेरि गोलाबारी गर्यो। हिशामको पाल नासेर मेडिकल कम्प्लेक्सको ठीक अगाडि थियो।
त्यतिबेला इजरायली सञ्चारमाध्यमले उद्धृत गरेका आईडीएफका अधिकारीहरूले पनि त्यही ट्यांकले दुई पटक गोली प्रहार गरेको बताएका थिए।
उक्त घटनामा रोयटर्स र एसोसिएटेड प्रेसका पत्रकारसहित पाँच पत्रकार, उद्धारकर्मी र एक स्वास्थ्यकर्मीसहित कुल २२ जना प्यालेस्टिनीको मृत्यु भएको थियो।
भोलिपल्ट आईडीएफले हमासले प्रयोग गरिरहेको एउटा क्यामेरालाई लक्षित गरी आक्रमण गरेको बताएको थियो। तर उक्त क्यामेरा समाचार संस्था रोयटर्सको रहेको रोयटर्सले पुष्टि गरेको थियो।
यस घटनाका क्रममा प्रहार गरिएका गोलाका तस्बिरहरू देखाइएपछि द्वन्द्वग्रस्त क्षेत्रमा विस्फोटक पदार्थ निष्क्रिय पार्ने अनुभव भएका विस्फोटक पदार्थ इन्जिनियर मोहम्मद सलेमले आक्रमण मर्काभा ट्यांकका स्मूथबोर तोपका लागि बनाइएको १२० एमएमको तोपको गोलाबाट भएको पुष्टि गरे।
गोलीको बाहिरी भागमा ‘CRTG 120’ भन्ने मानक चिन्ह स्पष्ट देखिन्छ।
मर्काभा ४ ट्यांकसँग सम्बन्धित धेरै चर्चित घटनाहरू सन् २०२४ को सेप्टेम्बरमा डोयचे बैंकको सहयोगमा आपूर्ति गरिएका गियरबक्सको पहिलो खेप उपलब्ध गराउने निर्धारित मितिभन्दा अगाडि नै भएका थिए।
हाम्रो जानकारी अनुसार गाजामा भएका यी घटनाहरूले डोयचे बैंक र रेन्कबीचको कारोबारमा कुनै असर पारेनन्।

मर्काभा ४
इजरायलको ट्यांक बेडाको मुख्य ट्यांक मर्काभा ४ ले सन् २०२३ को अक्टोबरदेखि गाजाभित्र सञ्चालन गरिएका स्थल सैन्य कारबाहीमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
दाराज मिडियासँग अन्तर्वार्ता दिएका विशेषज्ञ अलवान अल अबुसीका अनुसार यसको मुख्य हतियार १२० एमएमको स्मूथबोर तोप हो, जसले गोला र लेजरबाट निर्देशित क्षेप्यास्त्र प्रहार गर्छ।
यसमा छानामाथि तीनवटा ७.६२ एमएमका मेसिन गन र एउटा ६० एमएमको ग्रिनेड प्रक्षेपक पनि जडान गरिएको छ। यो ट्यांक प्रतिघण्टा अधिकतम ६४ किलोमिटरको गतिमा चल्न सक्छ र यसको दूरी क्षमता ५०० किलोमिटर छ।
अल अबुसीका अनुसार मर्काभा ४ को सबैभन्दा महत्त्वपूर्ण विशेषता ‘ट्रफी’ नामको सुरक्षा प्रणाली हो। यसले ट्यांकतर्फ आइरहेका ट्यांकविरोधी क्षेप्यास्त्र पत्ता लगाउँछ र ती ट्यांकसम्म पुग्नुअघि नै नष्ट गर्न एउटा प्रक्षेप्यास्त्र प्रहार गर्छ।
अन्तर्राष्ट्रिय रूपमा खुला स्रोतमा आधारित अनुसन्धान गर्ने वरिष्ठ हतियार विशेषज्ञ लियोन हदावीले बताए, “मर्काभा ४ मुख्य युद्ध ट्यांक (एमबीटी) सबैभन्दा उन्नत संस्करण भएकाले सामान्यतया आईडीएफको बख्तरबन्द सैन्य संरचनाअन्तर्गत सक्रिय बख्तरबन्द ब्रिगेडहरू ७औँ, १८८औँ र ४०१औँ ब्रिगेडमा प्रयोग गरिन्छन्। मर्काभा ३ मुख्य युद्ध ट्यांक भने सामान्यतया सातवटा रिजर्भ बख्तरबन्द ब्रिगेडमध्ये कुनै एकमा वा एउटा बख्तरबन्द बटालियन बनाउने तीन कम्पनीमध्ये कुनै रिजर्भ कम्पनीमा तैनाथ गरिन्छन्।”
गाजामा यो ट्यांक पैदल सेना, इन्जिनियरिङ, जासुसी तथा हवाई सैन्य एकाइसँग समन्वय गरेर काम गर्ने बख्तरबन्द सैन्य संरचनाको हिस्साका रूपमा सञ्चालन भएको थियो।
यसको मुख्य भूमिका अगाडि बढिरहेका इजरायली सेनालाई प्रत्यक्ष गोली प्रहारमार्फत सहयोग गर्नु, आवासीय क्षेत्रमा आक्रमण गरिरहेका सैन्य एकाइको सुरक्षा गर्नु, हमास र उसका सहयोगी समूहहरूको प्रतिरक्षा संरचना भत्काउनु तथा इजरायली सेनामाथि गोली प्रहार भइरहेका स्थानलाई निशाना बनाउनु थियो।
तर, युद्धले यो पनि देखाएको छ कि ट्यांकको प्राविधिक श्रेष्ठताले यसलाई क्षतिबाट पूर्ण रूपमा सुरक्षित बनाउँदैन। विशेषगरी जटिल सहरी क्षेत्रमा र विभिन्न दिशाबाट खतरा सामना गर्नुपर्दा यसले क्षति बेहोर्न सक्छ, अबुसीले बताए।
मर्काभा ४ का गियरबक्ससँग सम्बन्धित कारोबारसहित विभिन्न रक्षा कारोबारबारे सोध्दा बैंकले कुनै विशेष ग्राहक वा कारोबारबारे टिप्पणी नगर्ने बतायो।
बैंकले रक्षा क्षेत्रका कम्पनीहरूसँगको कारोबारको मूल्याङ्कन “लागू हुने कानुन र आन्तरिक निर्देशिकाअनुसार प्रत्येक कारोबारलाई छुट्टाछुट्टै आधारमा” गर्ने जनाएको छ।
बैंकले भन्यो, “समीक्षाका क्रममा अन्य विषयसँगै सामान र त्यसको निर्धारित उद्देश्य, अन्तिम प्रयोगकर्ता, प्राप्तकर्ता देशको अवस्था, त्यहाँ जारी सशस्त्र द्वन्द्व तथा मानव अधिकार र प्रतिष्ठासँग सम्बन्धित जोखिमलाई ध्यानमा राखिन्छ।
“यदि गम्भीर चिन्ताका विषयहरू पहिचान भएमा बैंकले थप कडाइका साथ जाँच गर्छ। जोखिमलाई उचित रूपमा कम गर्न नसकिने अवस्थामा कारोबार अस्वीकार गर्न पनि सक्छ।”
नकारात्मक समाचारको डर
सन् २०२१ को डिसेम्बरमा तयार पारिएको डोयचे बैंकको आन्तरिक प्रतिष्ठागत जोखिमसम्बन्धी प्रतिवेदनमा त्यस वर्ष इजरायल–प्यालेस्टाइन र इजरायल–लेबनानबीचको तनाव बढेको उल्लेख गरिएको थियो।
सीमापार आक्रमण र प्रदर्शनकारीमाथि हिंसात्मक व्यवहारजस्ता घटनाका कारण उक्त कारोबार जोखिमरहित नरहेको प्रतिवेदनमा उल्लेख थियो।
तर, यस्तो कारोबार अस्वीकार गर्दा जर्मनी र इजरायलबीचको ‘ऐतिहासिक सम्बन्ध’ का कारण बैंकले ‘नकारात्मक समाचार’ को सामना गर्नुपर्ने सम्भावना पनि रहेको प्रतिवेदनमा उल्लेख थियो।
प्रतिवेदनमा भनिएको थियो, “यदि हामीले कारोबारमा सहभागी नहुने निर्णय गरेको कुरा सार्वजनिक भयो भने इजरायललाई आफ्नो आत्मरक्षा गर्न आवश्यक सहयोग नदिएको भन्दै सञ्चारमाध्यम र सरकारबाट आलोचना हुन सक्छ।”
“पूर्वचाञ्सलर एन्जेला मर्केलले सन् २०२१ को अक्टोबरमा इजरायलको आफ्नो अन्तिम भ्रमणका क्रममा इजरायलको सुरक्षा जर्मनीको ‘राज्यको आधारभूत हित’ भएको र इजरायलको सुरक्षाको प्रश्नमा जर्मनी तटस्थ नरहेको बताएकी थिइन्।”
समीक्षामा सहभागी डोयचे बैंकका सबै विभागले समग्रमा उक्त कारोबार अघि बढाउनुपर्ने सुझाव दिएका थिए।
गाजामा हिंसा बढ्दै जाँदा पनि डोयचे बैंक रेन्कसँगको कारोबारप्रति प्रतिबद्ध रह्यो।
फेब्रुअरी ७, २०२४ मा रेन्क फ्र्यांकफर्ट स्टक एक्सचेन्जमा सार्वजनिक रूपमा सूचीकृत हुँदा डोयचे बैंकले सिटीग्रुप, गोल्डम्यान स्याक्स र जेपी मोर्गनसँगै उसको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को समन्वयकर्ताका रूपमा काम गरेको थियो।

अदालतमा मुद्दा
सन् २०२२ मा मर्काभा ४ सम्बन्धी कारोबारलाई समर्थन गर्न डोयचे बैंकले दिएको एउटा तर्क के थियो भने ती सामग्रीको निर्यातका लागि जर्मन सरकारको स्वीकृति आवश्यक पर्नेछ।
तर, उद्योगसँग परिचित स्रोतहरूका अनुसार सन् २०२४ को अधिकांश समय जर्मनीले इजरायलका लागि निकै कम निर्यात अनुमति जारी गरेको थियो। यसले रेन्क र मर्काभा ४ का इन्जिन आपूर्ति गर्ने रोल्स रोयसलाई असर गरेको थियो।
उनीहरूका अनुसार आपूर्ति समस्याले इजरायलको स्थल सैन्य आक्रमणलाई नै जोखिममा पारेको थियो।
दक्षिण इजरायलमा हमासको नेतृत्वमा अक्टोबर ७, २०२३ मा भएको आक्रमणमा ८१५ सर्वसाधारणसहित १,२०० जनाको मृत्यु भएपछि इजरायलले आफ्नो सैन्य आक्रमण निकै तीव्र बनाएको थियो।
अगस्ट २०२५ मा जर्मन सरकारले इजरायलमा हतियार निर्यात रोक्ने निर्णय गर्यो।
त्यही समयमा जर्मनीको हेसे राज्यस्थित एउटा क्षेत्रीय पुनरावेदन अदालतले गाजामा रहेका एक प्यालेस्टिनी पुरुषले दायर गरेको मुद्दामाथि विचार गरिरहेको थियो। उनले इजरायल पठाइने रेन्कका ट्यांक ट्रान्समिसन पार्ट्सको निर्यात अनुमति रोक्न माग गरेका थिए।
उनको तर्क थियो कि उक्त अनुमति दिएर जर्मनीले आफ्नो संविधानले सुनिश्चित गरेको उनको बाँच्न पाउने अधिकारको रक्षा गर्ने दायित्व उल्लङ्घन गरिरहेको छ।
फ्र्यांकफर्टको एउटा अदालतले सन् २०२४ को डिसेम्बरमा उनको निवेदन खारेज गरेको थियो। अदालतले उनलाई यस्तो मुद्दा दायर गर्ने कानुनी अधिकार नभएको ठहर गरेको थियो। सेप्टेम्बर २०२५ मा पुनरावेदन अदालतले पनि उक्त निर्णयलाई कायम राख्यो।
त्यसको दुई महिनापछि जर्मन सरकारले इजरायलमाथि लगाएको आंशिक सैन्य निर्यात प्रतिबन्ध हटायो। यसको कारण अघिल्लो महिना घोषणा गरिएको युद्धविरामलाई बनाइएको थियो।
एक वर्षपछि संयुक्त राष्ट्रसंघको एउटा अनुसन्धानले इजरायलले अझै पनि “गाजाका प्यालेस्टिनीहरूलाई पूर्ण वा आंशिक रूपमा नष्ट गर्ने नरसंहारको नियतसहित नरसंहारजन्य कार्यहरू गरिरहेको” निष्कर्ष निकालेको थियो।
इजरायलले भने यो आरोप अस्वीकार गरेको छ।
युद्धविरामपछि पनि इजरायली आक्रमणमा १,६०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्। उनीहरूमध्ये अधिकांश सर्वसाधारण थिए।
सम्पर्क गर्दा रेन्कले टिप्पणी गर्न अस्वीकार गर्यो। रोल्स रोयसले पनि टिप्पणी गर्न अस्वीकार गर्यो।
किल्ला भत्काउन बनाइएको बम
रेन्क मात्रै त्यस्तो रक्षा सामग्री निर्माता कम्पनी होइन, जसका उत्पादनहरू आईडीएफले सर्वसाधारणविरुद्ध प्रयोग गरेको छ। डोयचे बैंकको आर्थिक सहयोग पाउने त्यस्तो एकमात्र कम्पनी पनि रेन्क होइन।
यसले बैंककै आफ्नै मानव अधिकार नीतिको पालना भएको छ कि छैन भन्ने प्रश्न उठाउँछ।
मानव अधिकारसम्बन्धी आफ्नो वक्तव्यमा बैंकले भनेको छ, “डोयचे बैंकसँग गम्भीर प्रतिकूल मानव अधिकार प्रभाव परेको प्रमाणित आधार भएको र बैंकको आन्तरिक प्रक्रियाबाट त्यस्ता प्रतिकूल प्रभाव रोक्न वा उचित रूपमा कम गर्न नसकिने ठहर भएको अवस्थामा हामी कुनै पनि व्यावसायिक गतिविधिमा संलग्न हुँदैनौँ भन्ने हाम्रो सिद्धान्त हो।”
डोयचे बैंकसँग सम्बन्ध भएको अर्को रक्षा सामग्री निर्माता कम्पनी इटालीको हतियार निर्माता लियोनार्डो एसपीए हो, जसको केही स्वामित्व इटाली सरकारसँग छ।
सन् २०१८ को अक्टोबरसम्ममा बैंक इजरायलसँग सम्बन्धित लियोनार्डोसँगको करोडौँ युरोको कारोबारमा संलग्न भइसकेको थियो।
बैंकलाई उक्त इटालियन रक्षा कम्पनीका लागि व्यापारसम्बन्धी प्रत्याभूति जारी गर्न भनिएको थियो। बैंकको आन्तरिक कागजातमा उक्त कम्पनीलाई ‘प्लाटिनम ग्राहक’ भनेर उल्लेख गरिएको थियो।
लियोनार्डोले इजरायलका सबैभन्दा नयाँ र उन्नत युद्धपोत साअर ६ श्रेणीका युद्धपोतका लागि ७६/६२ सुपर र्यापिड मल्टिपल फिडिङ नेभल गन माउन्ट निर्माण गरेको थियो।
यो हतियारले एक मिनेटमा १२० वटा गोला प्रहार गर्न सक्छ।
आईडीएफले सन् २०२३ देखि समुद्रबाट गाजामा गोलाबारी गर्न यी युद्धपोत प्रयोग गर्दै आएको छ।
डोयचे बैंकको प्रत्याभूतिमा भएको सम्झौताअन्तर्गत ७६/६२ सुपर र्यापिड मल्टिपल फिडिङ नेभल गन माउन्ट निर्माण गरी आपूर्ति गरिएको थियो।
लियोनार्डोले आफ्नो एउटा सहायक कम्पनीमार्फत ट्रफी एपीएस प्रणालीका लागि स्वचालित लोडर पनि निर्माण गर्छ। यो प्रणालीले मर्काभा ४ लगायतका स्थल सैन्य सवारीसाधनलाई सम्भावित आक्रमणबाट जोगाउँछ।
लियोनार्डोविरुद्ध हाल एक प्यालेस्टिनी नागरिक र इटालीका विभिन्न वकालत समूहहरूले मुद्दा दायर गरेका छन्। उनीहरूले मानव अधिकार उल्लङ्घनमा प्रयोग गरिएका हतियार इजरायललाई आपूर्ति गरेर कम्पनीले इटालीको संविधान उल्लङ्घन गरेको आरोप लगाएका छन्।
लियोनार्डोले आफ्नो एउटा सहायक कम्पनीमार्फत ट्रफी एपीएस प्रणालीका लागि स्वचालित लोडर पनि निर्माण गर्छ। यो प्रणालीले मर्काभा ४ लगायतका स्थल सैन्य सवारीसाधनलाई सम्भावित आक्रमणबाट जोगाउँछ।
लियोनार्डोका प्रमुख कार्यकारी अधिकृतले गत वर्ष गाजाको द्वन्द्वमा आफ्नो कम्पनी संलग्न रहेको आरोप अस्वीकार गरेका थिए।
बाराकुडा मिडियाले सोधेका प्रश्नको जवाफमा कम्पनीले डोयचे बैंकसँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेको थियो।
कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनअनुसार रक्षा उपकरण र दोहोरो प्रयोगका सामानको निर्यातसम्बन्धी नियमहरूको कडाइका साथ पालना गर्दै आएको र सम्बन्धित निकायबाट प्राप्त अनुमतिअनुसार नै काम गरेको बताएको थियो।
इजरायल–प्यालेस्टाइन द्वन्द्व चर्किएपछि इटालीका अधिकारीहरूले इजरायलमा रक्षा उपकरण निर्यात गर्ने नयाँ अनुमति जारी गर्न रोक लगाएको पनि कम्पनीले उल्लेख गरेको थियो।

सन् २०२४ मा बैंकट्र्याक र अन्य १८ वटा नागरिक समाज संस्थाहरूले एउटा प्रतिवेदन सार्वजनिक गरेका थिए। उक्त प्रतिवेदनमा वाणिज्य बैंकहरूले इजरायललाई हतियार उपलब्ध गराउने कम्पनीहरूलाई कसरी आर्थिक सहयोग गरिरहेका छन् भन्ने विवरण प्रस्तुत गरिएको थियो।
प्रतिवेदनअनुसार डोयचे बैंकले सन् २०२१ को जनवरीदेखि सन् २०२३ को अगस्टसम्म बोइङ, लियोनार्डो, लकहिड मार्टिन, रोल्स रोयस, आरटीएक्स कर्प र जनरल डाइनामिक्सजस्ता रक्षा सामग्री निर्माता कम्पनीहरूलाई ऋण र धितोपत्र निष्कासनको प्रत्याभूतिमार्फत करिब चार अर्ब युरो बराबरको आर्थिक सहयोग गरेको थियो।
यद्यपि, ती कम्पनीका सबै उत्पादन गाजामा प्रयोग भएका थिएनन्।
बोइङले निर्माण गर्ने एउटा बम जीबीयू स्मल डायमिटर बम हो। यसको महत्त्वपूर्ण पार्टपुर्जा फ्रान्सेली कम्पनी एमबीडीएले उपलब्ध गराउँछ। एमबीडीए लियोनार्डोको २५ प्रतिशत स्वामित्व रहेको संयुक्त लगानीको कम्पनी हो।
आईडीएफले आफ्नो वायुसेनामार्फत उक्त बम घर र सहरी क्षेत्रमा आक्रमण गर्न प्रयोग गरेको थियो।
घटनापछि खिचिएका तस्बिरहरूको अध्ययन गरेका दुई जना हतियार विशेषज्ञका अनुसार सन् २०२४ को जुलाईमा खान युनिसनजिकै रहेको अल मुतानब्बी विद्यालयमाथि गरिएको आक्रमणमा पनि यही बम प्रयोग भएको हुन सक्ने सम्भावना छ। उक्त आक्रमणमा २९ जना प्यालेस्टिनीको मृत्यु भएको थियो।
आक्रमणपछिका तस्बिरहरूको विश्लेषण गर्दै विस्फोटक पदार्थ इन्जिनियर मोहम्मद सलेमले घटनास्थलमा देखिएका बमका टुक्राहरू जीबीयू–३९ प्रकारका सटीक निशाना लगाउने बम वा त्यसको निलम्बन तथा नियन्त्रण प्रणालीसँग सम्बन्धित रहेको निश्चित रूपमा बताए।
धातुमा छापिएको सिरियल नम्बरका आधारमा यस्तो निष्कर्ष निकालिएको उनले बताए।
ती टुक्राहरूमा बोइङका लागि विद्युतीय तथा यान्त्रिक प्रणाली र निर्देशन नियन्त्रण उपकरण आपूर्ति गर्ने कम्पनी वुडवर्ड इंकको निर्माता कोड पनि भेटिएको थियो।
त्यसका साथै ती नम्बरहरूले उक्त पार्टपुर्जा सन् २०२२ को मार्च ३१ मा निर्माण गरिएको देखाएको सलेमले बताए। उनले उक्त बम किल्ला तथा बलिया संरचना भत्काउनका लागि बनाइएको पनि बताए।
हतियार विशेषज्ञ हदावी पनि यसमा सहमत छन्।
आक्रमणपछिका तस्बिरहरूमा जीबीयू स्मल डायमिटर बमको पछाडिको भागमा जडान गरिएका चारवटा नियन्त्रण सतहमध्ये कम्तीमा एउटा अर्थात् ‘पछाडिको पखेटा’ देख्न सकिने उनले बताए।
बोइङले अझ ठूलो र शक्तिशाली जीबीयू–३१ बम पनि निर्माण गर्छ।
सन् २०२४ को जुलाई १३ मा खान युनिसको अल मवासी क्षेत्रमा पालमा बसिरहेका विस्थापित मानिसहरूमाथि यही बम खसालिएको थियो।
त्यतिबेला प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार उक्त आक्रमणमा ९१ जना प्यालेस्टिनी मारिएका र ३०० भन्दा बढी घाइते भएका थिए।
नोभेम्बर १२, २०२६ मा अमेरिकामा निर्मित २५० पाउन्डको जीबीयू–३९/बी बम नासेर मेडिकल कम्प्लेक्समाथि आईडीएफले गरेको हवाई आक्रमणमा प्रयोग गरिएको थियो।
उक्त आक्रमणमा एक बालक र चर्चित शल्यचिकित्सक डा. रिज्क अबु शैरासहित कम्तीमा छ जनाको मृत्यु भएको थियो भने ५२ जना घाइते भएका थिए।
आईडीएफले जारी गरेको वक्तव्यमा अस्पतालभित्र लुकेर बसेका हमासका लडाकुलाई लक्षित गरी आक्रमण गरिएको बताएको थियो। तर हमासले उक्त दाबी अस्वीकार गरेको थियो।
अक्टोबर ७, २०२३ देखि इजरायलले प्यालेस्टाइनमा ७५ हजारभन्दा बढी र दक्षिण लेबनानमा तीन हजारभन्दा बढी मानिसको हत्या गरेको छ।
मृत्यु हुनेमा सयौँ पत्रकार तथा सहायता कार्यकर्ता, १,७०० भन्दा बढी स्वास्थ्यकर्मी तथा चिकित्साकर्मी र कम्तीमा २० हजार बालबालिका छन्।
संयुक्त राष्ट्रसंघको एउटा अनुसन्धानअनुसार बालबालिकालाई जानाजानी निशाना बनाइएको थियो। उनीहरूलाई “क्वाडकप्टर, ड्रोन र स्नाइपर राइफल प्रयोग गरी टाउको र शरीरको माथिल्लो भागमा” गोली प्रहार गरिएको थियो।
बैंकट्र्याकका मानव अधिकार प्रमुख रायन ब्राइटवेलले वित्तीय संस्थाहरूको मानव अधिकारप्रति स्पष्ट जिम्मेवारी रहेको बताए।
उनले भने, “उनीहरूले मानव अधिकारको सम्मान कसरी गरिरहेका छन् भन्ने देखाउनुपर्छ। साथै, आफ्ना ग्राहकहरूले हानि पुर्याउने वा त्यस्तो हानिमा योगदान गर्ने काम नगरून् भनेर उनीहरूमाथि आफ्नो प्रभाव प्रयोग गर्ने अपेक्षा गरिन्छ।”
उनले थपे, यदि कुनै बैंक हतियार कम्पनीसँग कारोबार गर्छ भने “ग्राहकले आफ्नो व्यवहार परिवर्तन नगरेको अवस्थामा बैंकले आफ्नो लगानी फिर्ता लिने वा सम्बन्ध अन्त्य गर्ने विषयमा विचार गर्नुपर्छ।”
बोइङ, आरटीएक्स कर्प र जनरल डाइनामिक्सले हाम्रा प्रश्नहरूको जवाफ दिएनन्।
लकहिड मार्टिनले एउटा वक्तव्य जारी गर्दै भन्यो, “हामी हाम्रा प्रमुख ग्राहकहरू अमेरिकी सरकार र उसका सहयोगी राष्ट्रका रक्षा बललाई प्रतिरोध क्षमता विकास गर्न र मानव अधिकारको रक्षा गर्न सहयोग गर्ने प्रविधिमार्फत विश्वव्यापी सुरक्षालाई अगाडि बढाइरहेका छौँ। यसका लागि हामी सबै अन्तर्राष्ट्रिय बिक्रीमा अमेरिकी सरकारको निगरानी र नीतिगत उद्देश्यहरूको पालना गर्छौँ।”
कम्पनीले पत्रकारहरूलाई मानव अधिकारसम्बन्धी आफ्नो अनलाइन वक्तव्य पनि हेर्न आग्रह गरेको थियो।
विवादास्पद हतियार
सन् २०१९ को मार्चमा डोयचे बैंकले आफ्नो रक्षा नीति विस्तार गरेको थियो। बैंकका अनुसार उक्त नीतिले विवादास्पद हतियारसँग ‘स्पष्ट र प्रत्यक्ष सम्बन्ध’ भएका संस्थाहरूसँग कुनै पनि प्रकारको व्यावसायिक सम्बन्ध सुरु नगर्ने वा जारी नराख्ने कुरा स्पष्ट पारेको थियो।
बैंकट्र्याकका ब्राइटवेलका अनुसार विवादास्पद हतियारसम्बन्धी नीतिमा “बारुदी सुरुङ, क्लस्टर बम, आणविक हतियार वा जथाभावी क्षति पुर्याउन सक्ने कुनै पनि प्रकारका हतियार समावेश हुन सक्छन्। सेतो फस्फोरस पनि स्पष्ट रूपमा यही श्रेणीमा पर्छ।”
सेतो फस्फोरस भवनमा आगो लगाउन र मानिसको शरीरको मासु हड्डीसम्म जलाउन प्रयोग हुने पदार्थका रूपमा चिनिन्छ।
जुन ३०, २०२६ सम्म डोयचे बैंकसँग सेतो फस्फोरस आपूर्तिकर्ता आईसीएल ग्रुपको ०.१४ प्रतिशत सेयर स्वामित्व थियो। उक्त सेयरको मूल्य ८९ लाख ८० हजार अमेरिकी डलर थियो।
बैंकले सन् २०१९ को अगस्टसम्म इजरायल केमिकल लिमिटेड (आईसीएल) का ऋणपत्र पनि आफ्नो स्वामित्वमा राखेको थियो। यो उसको नीति विस्तार भएको केही महिनापछिको कुरा हो।
आईसीएलका दुई सहायक कम्पनी आईसीएल पर्फर्मेन्स प्रोडक्ट्स र आईसीएल–आईपी अमेरिका ले सन् २००८ यता धेरै पटक अमेरिकाको अर्कान्सासस्थित सेनाको एउटा कारखानालाई सेतो फस्फोरस आपूर्ति गरेका छन्।
उक्त कारखानामा तोपका गोला भर्ने काम गरिन्छ। प्रकाशित अमेरिकी सेनाका सम्झौताहरूमा यसको विवरण उल्लेख छ।
द वासिङ्टन पोस्ट र एम्नेस्टी इन्टरनेसनलले उक्त कारखानामा तयार पारिएका गोला इजरायलमा निर्यात गरिएको रिपोर्ट गरेका छन्।
सन् २०२३ देखि आईडीएफले गाजा र दक्षिण लेबनानमा सेतो फस्फोरस प्रयोग गरी बनाइएका तोपका प्रक्षेप्यास्त्र एक दर्जनभन्दा बढी पटक प्रयोग गरेको ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) ले जनाएको छ।
डोयचे बैंकको आन्तरिक पत्राचारले बैंकले विवादास्पद हतियार उत्पादन तथा आपूर्तिमा संलग्न कम्पनीहरूसँग ‘प्रत्यक्ष सम्बन्ध’ परिभाषित गर्दा मूल कम्पनी र पूर्ण स्वामित्व भएका सहायक कम्पनीलाई फरक रूपमा हेरेर आफ्नै नीतिमा रहेको एउटा कानुनी छिद्र प्रयोग गरिरहेको हुन सक्ने देखाउँछ।
सन् २०१९ को डिसेम्बरमा लन्डनस्थित डोयचे बैंकका एक प्रतिष्ठागत जोखिम अधिकारीले सहकर्मीहरूलाई बहुराष्ट्रिय कम्पनी बायर ग्रुपसँग सम्बन्धित कारोबारलाई विवादास्पद हतियारको सूचीमा राख्न आवश्यक नरहेको बताएका थिए।
उनका अनुसार बायरको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मोन्सान्टोसँग सम्बन्धित कारोबारलाई मात्रै त्यस्तो सूचीमा राख्नुपर्ने थियो।
हतियार व्यापारको निगरानी गर्ने संस्था करप्सन ट्र्याकरका अनुसार आईसीएलले सेतो फस्फोरस उत्पादन गर्न प्रयोग हुने फस्फेट मोन्सान्टोलाई आपूर्ति गर्छ। पछि यही पदार्थ हतियार बनाउन प्रयोग गरिन्छ।
सेतो फस्फोरसबारे सोधिएका हाम्रा प्रश्नहरूको जवाफ आईसीएल, बायर ग्रुप, आईडीएफ र डोयचे बैंकले दिएनन्।
नाफामुखी कारोबार
विश्वव्यापी हतियार खरिद प्रक्रियाबारे करिब दुई दशक अनुसन्धान गरेका एन्ड्र्यु फिन्स्टाइनका अनुसार रक्षा कारोबारको मामिलामा वित्तीय संस्थाहरू मुख्य रूपमा दुईवटा कुराबाट मात्रै प्रेरित हुन्छन् : नाफा र प्रतिष्ठा।
हतियार व्यापारमा हुने भ्रष्टाचारको अनुसन्धान गर्ने बेलायतस्थित गैरनाफामूलक संस्था स्याडो वर्ल्ड इन्भेस्टिगेसन्सका कार्यकारी निर्देशक फिन्स्टाइनले भने, “कति मानिस मारिन सक्छन्, अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन हुन्छ कि हुँदैन वा युद्ध अपराध हुन्छ कि हुँदैन भन्ने कुरामा उनीहरूलाई साँच्चै कुनै मतलब हुँदैन। जबसम्म त्यसले उनीहरूको प्रतिष्ठामा असर पार्दैन।”
उनका अनुसार बैंकको सञ्चालन तहमा यसले आफ्ना वार्षिक बोनस सुरक्षित गर्न खोज्ने बैंकका अधिकारीहरू र प्रायः ‘कनिष्ठ’ तहका अनुपालन अधिकारीहरूबीच विवाद निम्त्याउन सक्छ।
उनले अन्तर्वार्तामा भने, “यदि तपाईंले कम्पनीका लागि निश्चित आम्दानी सिर्जना गर्नुभयो भने त्यसको प्रभाव तपाईंको वार्षिक बोनसमा पर्छ। त्यसैले यहाँ यस्ता मानिसहरू निर्णय गरिरहेका हुन्छन्, जसको निर्णयले आर्थिक वर्षको अन्त्यमा उनीहरूले व्यक्तिगत रूपमा हजारौँ युरो कमाउने कि लाखौँ युरो कमाउने भन्ने निर्धारण गर्छ।”
सन् २०२१ को जनवरीमा डोयचे बैंकले इजरायली रक्षा सामग्री निर्माता कम्पनी इजरायल एयरोस्पेस इन्डस्ट्रिज (आईएआई) सँग सम्भावित आकर्षक कारोबारबारे छलफल गरेको थियो।
त्यतिबेला विवादास्पद हतियार उत्पादन गर्ने भएकाले उक्त कम्पनीलाई बैंकको कारोबारबाट हटाइएको थियो।
आईएआईले सन् १९८० को दशकमा हार्पी नामको ड्रोन निर्माण गरेको थियो। यो ड्रोन युद्धभूमिमाथि उडेर शत्रुको रडार संकेत खोज्छ र त्यसपछि आफैँले लक्ष्य पहिचान गरी आक्रमण गर्छ।
सन् २०१९ को अप्रिलमा बैंकको आन्तरिक गुप्तचर एकाइले पहिचान गरेका घातक स्वचालित हतियार प्रणाली (एलएडब्ल्यूएस) मध्ये हार्पी पनि एक थियो।
त्यतिबेला बैंकको उद्योग प्रतिष्ठा जोखिम टोलीले सोही वर्ष हुने बैंकको वार्षिक साधारणसभाअघि घातक स्वचालित हतियार प्रणालीसम्बन्धी नीति बनाउने विषयमा विचार गरिरहेको थियो।
सन् २०१९ को डिसेम्बरमा बैंकले ‘मानवको नियन्त्रणबाहिर रहने’ घातक स्वचालित हतियार प्रणालीलाई कारोबारबाट बाहिर राख्ने आन्तरिक नीति लागू गरेको बैंकले जनाएको थियो।
तर, सन् २०२१ मा मध्य युरोप र इजरायलका लागि जिम्मेवार एक वरिष्ठ कर्पोरेट सम्बन्ध व्यवस्थापकले आईएआईलाई दोस्रो अवसर दिनुपर्ने पक्षमा दबाब दिएका थिए।
यसका कारणमध्ये एउटा थियो : वार्षिक १५ लाख युरो आम्दानीको सम्भावना।

सुरुमा उनले यो विषय बैंकको प्रतिष्ठा र जोखिमसम्बन्धी दुई जना विशेषज्ञसमक्ष प्रस्तुत गरे। तर आईएआई विवादास्पद हतियारसँग जोडिएको जोखिमका कारण दुवै जनाले उक्त प्रस्ताव अस्वीकार गरे।
तर उनी निराश भएनन् र उनले वरिष्ठ व्यवस्थापनको समर्थन खोजे।
उनले व्यापार वित्त विभागका एक प्रमुखलाई लेखे, “हामी हाल ४ अर्ब १० करोड अमेरिकी डलरको ठूलो रक्षा सामग्री निर्माता कम्पनी इजरायल एयरोस्पेस इन्डस्ट्रिज लिमिटेड (आईएआई) विक्रेताका रूपमा र भारत सरकार तथा सरकारी निकायहरू भुक्तानीको दायित्व लिने पक्षका रूपमा रहने गरी १५ करोड अमेरिकी डलरको सम्भावित एआर (AR) व्यावसायिक कारोबारको अवसरमा काम गरिरहेका छौँ। यस कारोबारबाट वार्षिक १५ लाख युरो आम्दानी हुने सम्भावना छ र भविष्यमा थप एआर कारोबारका अवसरहरू पनि आउन सक्छन्।”
उनले थप भने, “यो ठूलो परिमाणको कारोबार भएकाले र प्रतिष्ठासम्बन्धी जोखिमको संवेदनशील विषय भएकाले यसबारे तपाईंको धारणा जान्न हामी तपाईंलाई सम्पर्क गरिरहेका छौँ। यस विषयमा प्रतिष्ठा जोखिम समितिहरूमा वरिष्ठ व्यवस्थापनको समर्थन आवश्यक पर्नेछ।”
उनका अनुसार, आईएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले कम्पनी विवादास्पद हतियार निर्माणमा संलग्न नरहेको र भविष्यमा पनि त्यस्तो काम नगर्ने आश्वासन दिएका थिए।
उनले अर्का एक व्यापार वित्त विशेषज्ञलाई लेखे, “हामीले यो निर्णयविरुद्ध पहिले क्षेत्रीय प्रतिष्ठा जोखिम समिति र त्यसपछि विश्वव्यापी प्रतिष्ठा जोखिम समितिमा पुनरावेदन गर्नुपर्नेछ।”
तर, इमेलबाहिर भएको छलफलजस्तो देखिने घटनाक्रमपछि ती व्यापार वित्त विशेषज्ञले इमेलमार्फत जवाफ दिए, “सार्वजनिक रूपमा लगाइएका आरोपहरू र बीआईयू प्रतिवेदनको नतिजाबारे रहेको अनिश्चिततालाई ध्यानमा राख्दै हामीले यो प्रस्ताव अघि नबढाउनु उचित हुन्छ।”
उनले अन्त्यमा लेखे, “प्रतिष्ठा जोखिम टोलीलाई पनि प्रतिलिपिमा राख्नुहोस्। धन्यवाद र शुभकामना।”
पत्रकारहरूले सोधेका प्रश्नको जवाफमा डोयचे बैंकले आईएआईबारे कुनै टिप्पणी गरेन। आईएआईले पनि टिप्पणीका लागि गरिएका अनुरोधको जवाफ दिएन। इजरायली रक्षा बल (आईडीएफ) ले पनि टिप्पणी गर्न अस्वीकार गर्यो।