काठमाडौं । Samsung Nepal र Ncell ले नेपालमा डिजिटल कनेक्टिभिटी विस्तार, एआई प्रविधिको पहुँच बढाउन तथा ग्राहकलाई Galaxy स्मार्टफोन अपग्रेड गर्न सहज बनाउने उद्देश्यले सहकार्यलाई थप सुदृढ गरेका छन्।
सहकार्यअन्तर्गत छनोट गरिएका Samsung Galaxy स्मार्टफोन खरिद गर्ने ग्राहकले निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्सचेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानी (EMI) सुविधा पाउनेछन्।
Samsung र Ncell ले विशेषगरी पुरानो 2G प्रविधिबाट 4G मा स्तरोन्नति गर्न ग्राहकलाई प्रोत्साहित गर्ने योजना अघि सारेका छन्। यस अभियानअन्तर्गत जुनसुकै 2G मोबाइल साटेर Samsung को 4G स्मार्टफोन खरिद गर्दा ग्राहकले ५ हजार रुपैयाँसम्म एक्सचेन्ज सुविधा पाउनेछन्। त्यस्तै, न्यूनतम १ हजार २२१ रुपैयाँबाट सुरु हुने EMI सुविधाले नयाँ फोन खरिदलाई सहज बनाउने कम्पनीले जनाएको छ।
सहकार्यअन्तर्गत Galaxy का छनोट गरिएका मोडेल खरिद गर्ने ग्राहकले मोडेल र योग्यताअनुसार १२ महिनासम्म Ncell का मासिक डेटा तथा भ्वाइस प्याकमा शतप्रतिशत छुट पाउनेछन्।
Galaxy Z Fold8, Z Flip8, Fold7 तथा S26 सिरिजका छनोट गरिएका मोडेल खरिद गर्ने ग्राहकले मासिक ७९९ रुपैयाँ मूल्यको अनलिमिटेड डेटा तथा भ्वाइस, Lionsgate र दैनिक १०० SMS सहितको प्याक १२ महिनासम्म निःशुल्क पाउनेछन्। उक्त प्याकको कुल मूल्य ९ हजार ५८८ रुपैयाँ रहेको छ।
त्यस्तै, Galaxy A17, M17 र A07s खरिद गर्ने ग्राहकले मासिक ४४९ रुपैयाँ मूल्यको ७ जीबी डेटा र अनलिमिटेड भ्वाइस प्याक नौ महिनासम्म निःशुल्क पाउनेछन्। यस प्याकको कुल मूल्य ४ हजार ४१ रुपैयाँ रहेको छ।
Samsung ले Hulas Fin Serve सँगको सहकार्यमा फ्ल्यागशिप स्मार्टफोन खरिदका लागि किस्ताबन्दी सुविधा पनि विस्तार गरेको छ। छनोट गरिएका फ्ल्यागशिप फोनमा ग्राहकले ३६ महिनासम्मको EMI सुविधा लिन सक्नेछन्। यस योजनाअन्तर्गत मासिक किस्ता ५ हजार १०६ रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ।
त्यसैगरी, छनोट गरिएका Galaxy फ्ल्यागशिप स्मार्टफोन अपग्रेड गर्दा ग्राहकले १० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउनेछन्। योग्य Galaxy Z र S सिरिजका ग्राहकले एक वर्षको अतिरिक्त वारेन्टीसमेत प्राप्त गर्नेछन्। Samsung का विभिन्न स्मार्टफोनमा २४ महिनासम्मको EMI सुविधा पनि उपलब्ध हुनेछ।
Samsung र Ncell ले यो सहकार्यलाई स्मार्टफोन बिक्रीमा सीमित नराखी एआई प्रविधि तथा डिजिटल सेवाको पहुँच विस्तार गर्ने पहलका रूपमा अघि बढाएका छन्।
स्मार्टफोनमा जेनेरेटिभ एआईको प्रयोग बढ्दै गएको अवस्थामा Galaxy A17 लगायतका स्मार्टफोनमार्फत पनि ग्राहकलाई उपयोगी एआई सुविधाको अनुभव उपलब्ध गराउने Samsung को लक्ष्य छ।
यसका साथै Samsung ले प्रयोग भइसकेका विद्युतीय उपकरणको जिम्मेवार व्यवस्थापनका लागि CypherBlk सँग पनि सहकार्य गर्ने जनाएको छ। यस पहलमार्फत पुराना विद्युतीय उपकरणको सङ्कलन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउँदै वातावरणमैत्री डिभाइस अपग्रेडलाई प्रोत्साहन गरिने कम्पनीको भनाइ छ। यी सेवा Samsung का सेवा केन्द्र तथा छनोट गरिएका ब्रान्ड स्टोरमा उपलब्ध हुनेछन्।
Samsung Nepal का प्रबन्ध निर्देशक चाङ उक जङले सहकार्यले नेपालमा समावेशी डिजिटल इकोसिस्टम निर्माणमा योगदान पुर्याउने बताए। उनका अनुसार एआई अनुभवलाई पहुँचयोग्य बनाउने, प्रिमियम फोल्डेबल प्रविधिलाई ग्राहकसम्म पुर्याउने, 4G अपग्रेडलाई सहज बनाउने र विद्युतीय फोहोरको जिम्मेवार व्यवस्थापनलाई प्रोत्साहन गर्ने यस पहलका प्रमुख उद्देश्य हुन्।
कम्पनीका अनुसार नयाँ उत्पादनको प्रि-अर्डर नोभेम्बर २० देखि २३ सम्म खुला रहनेछ। QR कोडमार्फत प्रि-अर्डर गर्ने ग्राहकले ४ हजार ९९९ रुपैयाँ मूल्यको Buds Core इयरबड्समा ६२ प्रतिशत छुट पाउनेछन्।