• २०८३ मंसिर ७
  • 2026 November 22, Sunday

एनपीएल सकिएसँगै दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको जनाएका छन् ।नेपाल प्रिमियर लिग (एनपीएल) पछि नेपाली खेलकुदको ध्यान अब दशौँ राष्ट्रिय खेलकुदतर्फ केन्द्रित भएको जनाउदै उहाँले त्यसको सम्पूर्ण तयारी भएको जनाएका हुन्।

आइतबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री पोखरेलले एनपीएलले जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदको महाकुम्भलाई भव्य बनाउने तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार प्रतियोगिताका मुख्य खेलहरू यही मङ्सिर ८ गतेदेखि सुरु हुनेछन् भने औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ ।

“यही मङ्सिर ८ गतेबाट मुख्य खेलहरू सुरु भई मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा औपचारिक उद्घाटन हुने यस बृहत् प्रतियोगिताको तयारी तीव्र पारिएको छ,” उनले लेखेका छन।

त्यस्तै, हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित विसं २०३८ सालमा राष्ट्रिय खेलकुद सुरु गरिए पनि हालसम्म ९ वटा मात्र संस्करण सम्पन्न हुनु दुःखद पक्ष रहेको मन्त्री पोखरेलले उल्लेख गरेका छन् । विगतमा देखिएको त्यस्तो ढिलासुस्ती र अवरोध अब अन्त्य हुने उनको प्रतिबद्धता छ ।

प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्दै नेपाली खेलकुदको स्तर उकास्न गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाउँदै मन्त्री पोखरेलले लेखेका छन्, “खेलकुदलाई एउटा बलियो संस्कृति र व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्दै दशौँ राष्ट्रिय खेलकुदलाई ऐतिहासिक र भव्य बनाउन सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा सरोकारवालाहरूको साथ र सहकार्यको अपेक्षा गर्दछौँ।”