काठमाडौं । नेपालको पहिलो केबलकारका रूपमा परिचित मनकामना केबलकारले २८ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ। चितवन को-इ समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले मंसिर ८ गतेदेखि सञ्चालनको २९औँ वर्ष सुरु गर्न लागेको हो।
कम्पनीका अनुसार सञ्चालनमा आएको २८ वर्षको अवधिमा हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुले मनकामना केबलकारमार्फत सेवा लिइसकेका छन्। यस अवधिमा केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको कम्पनीले जनाएको छ।
चितवन को-इ समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको मनकामना केबलकार नेपालमा केबलकार पर्यटनको अग्रणी परियोजनाका रूपमा स्थापित छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको दूरदृष्टि र मार्गनिर्देशनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
कम्पनीले केबलकारको सफल यात्रामा साथ दिने ग्राहक, कर्मचारी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदार, स्थानीय समुदाय र विभिन्न सरकारी निकायप्रति आभार व्यक्त गरेको छ।
विशेषगरी सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालयसहित सम्पूर्ण शुभेच्छुकको सहयोगले केबलकारको सेवा विस्तार र सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको कम्पनीको भनाइ छ।
२८ वर्षको यात्रामा प्राप्त विश्वास र साथलाई आगामी दिनमा पनि निरन्तरता दिँदै यात्रुहरूलाई थप उत्कृष्ट सेवा र स्तरीय अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।