• २०८३ मंसिर ८
  • 2026 November 24, Tuesday

कोपमा जीवाश्म इन्धन किन बन्यो विवादको मुख्य विषय ?

काठमाडौँ । टर्कीमा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ कुनै ठोस सम्झौतामा पुग्न नसकी सम्पन्न भएको छ। जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्ने विषय र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न धनी राष्ट्रले उपलब्ध गराउनुपर्ने आर्थिक सहयोगमा सहमति नजुट्दा सम्मेलन निष्कर्षविहीन बनेको हो ।

करिब २०० देशका प्रतिनिधिमण्डल सहभागी सम्मेलन दुई सातासम्म चलेको थियो। निर्धारित कार्यतालिकाअनुसार शुक्रबार नै सम्पन्न हुनुपर्ने सम्मेलन सहमति जुटाउने प्रयासमा आइतबारसम्म लम्बिएको थियो । यससँगै यो इतिहासकै सबैभन्दा लामो कोप सम्मेलन बनेको छ ।

सम्मेलनको अन्तिम मस्यौदामा जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्नुपर्ने विषय समावेश नगरिएपछि युरोपेली संघसहित केही राष्ट्रले त्यसलाई अस्वीकार गरेका थिए । जलवायु परिवर्तनको प्रमुख कारण मानिने कोइला, तेल र ग्यासको प्रयोग घटाउने विषयलाई सम्झौतामा समेट्नुपर्ने उनीहरूको माग थियो ।

युरोपेली संघका तर्फबाट बोल्दै आयरल्यान्डका मन्त्री डाराघ ओ’ब्रायनले सम्झौतालाई औपचारिक रूपमा अस्वीकार गर्ने घोषणा गरेका थिए। उनले अन्तिम मस्यौदा ढिलो सार्वजनिक गरिएको भन्दै आलोचना गरे । जीवाश्म इन्धनको उल्लेखसमेत नभएको सम्झौता स्वीकार गर्न नसकिने उनको भनाइ थियो ।

उनले केही तेल उत्पादक राष्ट्रले आफ्नो स्वार्थअनुकूल सम्मेलनको वार्तालाई प्रभावित पारेको आरोपसमेत लगाए । जीवाश्म इन्धनको विषय हटाएर तयार गरिएको सम्झौतालाई उनले जलवायु संरक्षणको नाममा वास्तविक अवस्था लुकाउने प्रयासका रूपमा व्याख्या गरेका थिए ।

आइतबार सार्वजनिक गरिएको १२ पृष्ठको चौथो मस्यौदामा सन् २०३५ सम्म कुल ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्‍याउन देशहरूलाई आग्रह गरिएको थियो । कार्बन उत्सर्जन नियन्त्रण, कार्बनको प्रयोग तथा भण्डारणसम्बन्धी प्रविधिको उपयोगमा पनि केही सामान्य परिवर्तन समेटिएका थिए। तर जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषय भने पूर्ण रूपमा छुटाइएको थियो । फ्रान्सले कार्बन उत्सर्जन नियन्त्रण तथा भण्डारण प्रविधिमा अत्यधिक निर्भर हुँदा तेल र ग्यास उत्पादक राष्ट्रले हालकै स्तरमा जीवाश्म इन्धन प्रयोग जारी राख्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्मेलन कुनै व्यापक सम्झौतामा पुग्न नसकेकोमा गहिरो निराशा व्यक्त गरेका छन्। उनले वार्तामा सहमति नजुटे पनि जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक तथ्यमा कुनै अस्पष्टता नरहेको बताएका छन् ।

गुटेरेसले जीवाश्म इन्धन उत्पादन गर्ने शक्तिशाली कम्पनी र तिनका स्वार्थसँग जोडिएका समूहको आलोचना गर्दै उनीहरूले वैज्ञानिक तथ्यलाई गलत ढंगले प्रस्तुत गर्ने, नीतिगत निर्णयमा ढिलाइ गराउने र जलवायु संरक्षणका प्रयास रोक्ने काम गरिरहेको आरोप लगाए ।

उनले धनी राष्ट्रहरूलाई जलवायु कोष उपलब्ध गराउने प्रतिबद्धता पूरा गर्न पनि आग्रह गरेका छन्। जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका समुदायसम्म आर्थिक सहयोग पुर्‍याउन आवश्यक रकम र समयसीमा स्पष्ट गर्नुपर्ने उनको भनाइ थियो ।

विश्व संसाधन संस्थानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अनी दासगुप्ताले सम्मेलनको निष्कर्षलाई खोक्रो र राजनीतिक नेतृत्वको असफलता भनेका छन्। जलवायु परिवर्तनको मुख्य कारण जीवाश्म इन्धन हो भन्ने वैज्ञानिक तथ्य स्पष्ट हुँदाहुँदै पनि त्यसको उल्लेख गर्नसमेत राष्ट्रहरू सहमत हुन नसक्नु दुःखद भएको उनले बताएका छन् ।

बेलायतकी प्रतिनिधि केट ह्युजले अन्तिम मस्यौदालाई निकै कमजोर सम्झौताको प्रयास भनेकी छन्। मध्य अमेरिकी राष्ट्र पानामाले पनि मस्यौदा अस्वीकार गर्दै विज्ञानलाई वार्तामार्फत परिवर्तन गर्न नसकिने र पृथ्वीले थप प्रतीक्षा गर्न नसक्ने धारणा राखेको थियो ।

भारतले भने सम्झौता स्वीकार वा अस्वीकार नगरी वार्तामा सहभागी भइरहने जनाएको थियो। चीनले केही चिन्ता व्यक्त गरे पनि सम्झौता स्वीकार गरेको थियो। रुसले जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्ने प्रतिबद्धता सम्झौतामा समावेश गर्नुपर्ने प्रस्तावको विरोध गरेको थियो। साउदी अरेबियाले २२ सदस्य राष्ट्र रहेको अरब लिगका तर्फबाट धारणा राख्दै वार्तालाई इमानदारीपूर्वक निरन्तरता दिएको बताएको थियो ।

सन् २०१५ को पेरिस जलवायु सम्झौता निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी संयुक्त राष्ट्रसंघकी पूर्व जलवायु प्रमुख क्रिस्टियाना फिगुएरेसले सम्झौतामा सहमति नजुट्नु निकै दुःखद भएको बताएकी छन्। यद्यपि, ठोस निर्णय हुन नसक्नुलाई आम नागरिकले जलवायु संरक्षणको समग्र प्रयासकै असफलताका रूपमा बुझ्न नहुने उनको भनाइ छ ।

यसअघि सन् २००९ मा डेनमार्कको राजधानी कोपनहेगनमा आयोजित जलवायु सम्मेलन पनि अपेक्षित सम्झौतामा पुग्न असफल भएको थियो ।

जीवाश्म इन्धन किन विवादको मुख्य विषय बन्यो ?

जीवाश्म इन्धन भन्नाले लाखौँ वर्षअघि जीवजन्तु तथा वनस्पतिका अवशेषबाट बनेका कोइला, पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासलाई बुझिन्छ। विश्वको ठूलो हिस्सा ऊर्जा उत्पादनका लागि यिनै स्रोतमा निर्भर छ । यस्ता इन्धन जलाउँदा कार्बनडाइअक्साइड लगायतका हरितगृह ग्यास उत्सर्जन हुन्छन्। ती ग्यासले वायुमण्डलमा तापक्रम बढाउने भएकाले पृथ्वीको तापमान वृद्धि र जलवायु परिवर्तनलाई तीव्र बनाउँछन् ।

यही कारण विश्वका अधिकांश राष्ट्रले जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्ने आवश्यकता स्वीकार गरे पनि त्यसलाई कसरी, कुन समयसीमाभित्र र कस्तो आर्थिक सहयोगका आधारमा कार्यान्वयन गर्ने भन्ने विषयमा मतभेद रहँदै आएको छ। कोप–३१ मा पनि यही मतभेदले साझा सम्झौताको बाटो अवरुद्ध गरेको हो ।