• २०८३ मंसिर १०
  • 2026 November 26, Thursday

काण्डला बन्दरगाह सञ्चालनमा आएपछि नेपाली वनस्पति घ्यू तथा तेल उद्योगलाई नयाँ अवसर

काठमाडौं । भारतको गुजरातस्थित काण्डला बन्दरगाहबाट नेपालका लागि समेत खुला समुद्री पहुँच सुनिश्चित भएसँगै नेपाली वनस्पति घ्यू तथा तेल उद्योगका लागि महत्वपूर्ण अवसर सिर्जना भएको छ। यस व्यवस्थाले नेपाली उद्योगहरूले आयात गर्ने कच्चा पदार्थ तथा निर्यातजन्य वस्तुको ढुवानी प्रक्रियालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

हालै सम्पन्न सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाली वनस्पति घ्यू तथा तेल उद्योगहरूले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन गर्दै भारतको गुजरातस्थित काण्डला बन्दरगाहबाट समेत नेपालका लागि प्रशोधित खाद्य तेल उद्योगहरूको प्रमुख कच्चा पदार्थको आयात तथा सोयाबिन आयल निर्यात गर्न पाउने व्यवस्था भएको छ। उक्त व्यवस्थाको नेपाली उद्योग क्षेत्रले स्वागत गरेको छ।

यसअघि कच्चा पदार्थ आयात तथा तयारी वस्तुको ढुवानीका लागि नेपाली उद्योगहरूले विभिन्न कठिनाइ सामना गर्दै आएका थिए। यस विषयमा नेपाल वनस्पति घ्यू तथा तेल उत्पादक संघका अध्यक्ष विकास दुगडको नेतृत्वमा संघका प्रतिनिधिमण्डलले पटक–पटक नेपाल सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गर्दै बन्दरगाहसम्बन्धी समस्या समाधानका लागि जोडदार माग गर्दै आएको थियो।

संघका अनुसार काण्डला बन्दरगाहबाट नेपालका उद्योगहरूले अब वैकल्पिक आयात मार्ग प्राप्त गर्नेछन्। यसले ढुवानी लागत न्यूनीकरण, आपूर्ति सहजता तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यस महत्वपूर्ण उपलब्धिका लागि भारत सरकारसँगको उच्चस्तरीय वार्तामा नेपाली उद्योगहरूको मागलाई प्राथमिकताका साथ उठाई समाधानको मार्ग प्रशस्त गरेकोमा सम्माननीय प्रधानमन्त्रीप्रति संघले हार्दिक आभार तथा विशेष धन्यवाद व्यक्त गरेको छ।

त्यसैगरी, यस कार्यमा सहयोग पुर्‍याउने नेपाल सरकारका सम्बन्धित निकाय, निजी क्षेत्रका प्रतिनिधि तथा सम्पूर्ण पक्षप्रति संघले धन्यवाद ज्ञापन गरेको छ।

आगामी दिनमा पनि सरकार र निजी क्षेत्रबीचको सहकार्य, समन्वय तथा संवादलाई थप प्रभावकारी बनाउँदै नेपाली उद्योगहरूको विकास, विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि सकारात्मक पहललाई निरन्तरता दिने संघले जनाएको छ।